पार्टीको उच्च पद पाउन हिन्दूराष्ट्रको एजेण्डा !

पार्टीको उच्च पद पाउन हिन्दूराष्ट्रको एजेण्डा !


धर्मनिरपेक्षताका ठेकेदार मानिने विमलेन्द्र निधि र रामचन्द्र पौडेलहरूसमेत अहिले पहेँलो वस्त्रमा मन्दिर चहार्दै त्यसको प्रचारप्रसारमा जुटेका छन् । निरपेक्षताका पृष्ठपोषकहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला र गगन थापाहरू भारतको सशक्त सङ्गठन आरएसएससँग सम्बन्ध बनाइदिने विभिन्न सूत्रहरू खोजी गर्दै हिँड्न थालेका छन् । सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाले समेत पहेँलो वस्त्रमा मन्दिर चहार्दै गरेको तस्बिरहरू सामाजिक सञ्जालका भित्ताहरूमा पोष्ट गर्न लगाउने गरेकी छिन् ।

काङ्ग्रेसले एजेण्डाविहीन भएर संसदीय तथा अन्य निर्वाचनहरूमा सहभागिता जनाउने गरेको भए पनि काङ्ग्रेसका नेताहरूले पार्टीको आन्तरिक निर्वाचनमा जानका लागि चाहिँ ‘हिन्दूराष्ट्र’लाई आफ्नो एजेण्डा बनाउन सक्ने सङ्केत दिएका छन् । काङ्ग्रेस कार्यसमितिको गत आइतबारको बैठकमा नेताहरूले यस्तो सङ्केत दिएका हुन् ।

काङ्ग्रेसभित्र महामन्त्री पूर्णबहादुर खड्का तथा नेताहरू पुष्पा भुसाल, शङ्कर भण्डारी र देवेन्द्रराज कँडेललगायतले धेरै पहिलेदेखि नै हिन्दूराष्ट्रका पक्षमा प्रतिबद्धता जाहेर गर्दै आएका छन् । युवा नेताहरू लोकेश ढकाल, कर्ण मल्ल र चन्द्र केसी मात्र नभई काङ्ग्रेसका अन्य नेताहरू लक्ष्मणप्रसाद घिमिरे, शङ्कर पाण्डे र विपिन कोइरालाले पनि हिन्दूराष्ट्रका पक्षमा वकालत गर्दै आएका छन् । कहिलेकाहीँ महामन्त्री डा. शशाङ्क कोइराला र नेता डा. शेखर कोइरालाले समेत हिन्दूराष्ट्रका पक्षमा बोल्ने गरेका छन् । पछिल्लो समयमा सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरू बालकृष्ण खाण, एनपी साउद र अमृत अर्यालसम्मले हिन्दूराष्ट्रको एजेण्डालाई बल पुग्ने गरी आफ्नो धारणा प्रकट गर्दै आएका छन् ।

गत आइतबार शुरु भएको काङ्ग्रेस बैठकमा बालकृष्ण खाण र डा. शेखर कोइरालाले महासमितिको गत साल सम्पन्न बैठकमा ७३५ सदस्यले हिन्दूराष्ट्रको माग गर्दै प्रस्तुत गरेको प्रस्तावमाथि छलफल र निर्णय हुनुपर्ने विचार व्यक्त गरेका थिए । अन्य कैयन विषयमा दुई पृथक धु्रवमा उभिएका नेताहरू हिन्दूराष्ट्रको एजेण्डामा एकीकृत भएजस्तै देखिएका छन् । अरू त अरू धर्मनिरपेक्षताका ठेकेदार मानिने विमलेन्द्र निधि र रामचन्द्र पौडेलहरूसमेत अहिले पहेँलो वस्त्रमा मन्दिर चहार्दै त्यसको प्रचारप्रसारमा जुटेका छन् । निरपेक्षताका पृष्ठपोषकहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला र गगन थापाहरू भारतको सशक्त सङ्गठन आरएसएससँग सम्बन्ध बनाइदिने विभिन्न सूत्रहरू खोजी गर्दै हिँड्न थालेका छन् । सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाले समेत पहेँलो वस्त्रमा मन्दिर चहार्दै गरेको तस्बिरहरू सामाजिक सञ्जालका भित्ताहरूमा पोष्ट गर्न लगाउने गरेकी छिन् ।

यसप्रकारको दृश्यले काङ्ग्रेसको आगामी महाअधिवेशनमा हिन्दूराष्ट्रको एजेण्डा जोडतोडका साथ उठ्न सक्ने स्पष्ट गरेको छ । यो एजेण्डाले काङ्ग्रेसमा नयाँ ध्रुवीकरणको स्थिति पैदा गर्ने सम्भावना पनि बढाएको छ । यद्यपि अहिले नै काङ्ग्रेसले हिन्दूराष्ट्रको एजेण्डा ग्रहण गर्ने सम्भावना भने छैन ।

इसाईकरणका पक्षधरहरू धर्मनिरपेक्षता खारेज भएमा ‘धार्मिक स्वतन्त्रता’लाई एजेण्डा बनाएर हिन्दूराष्ट्रको एजेण्डा विस्थापित गर्ने रणनीतिक तयारीमा भएको बुझिन्छ र, यस्तो एजेण्डाको अगुवाइ गगन थापा नामक युवाबाट भइरहेको छ । कदाचित्त हिन्दूराष्ट्रको एजेण्डाले काङ्ग्रेसमा औपचारिक स्थान पाउने भयो भने ‘धार्मिक स्वतन्त्रता’को अस्त्र प्रहार गर्ने तयारीमा गगन थापा, रामचन्द्र पौडेल, कृष्ण सिटौला र विमलेन्द्र निधिहरू रहेको देखिन्छ । संविधानमा ‘धार्मिक स्वतन्त्रता’ मात्र लेखिए त्यसको आडमा धर्म परिवर्तन अभियानलाई व्यापकता दिन सकिने निष्कर्ष इसाई रणनीतिकारहरूले बनाएको बताइन्छ । सोही इसाई रणनीतिअनुरूप काङ्ग्रेसलाई अघि बढाउने प्रयासस्वरूप रामचन्द्र पौडेलदेखि अनेकौँ नेता–कार्यकर्ता खटिने स्थितिमा रहेको समाचार सूत्रहरूको भनाइ छ ।

काङ्ग्रेसमा ‘हिन्दूराष्ट्र’को एजेण्डाले महत्व पाउने सम्भावना बलियो हुँदै गएको भए पनि काङ्ग्रेस हिन्दूराष्ट्रकै पक्षमा खडा हुने सम्भावना भने अझै पनि कमजोर छ । काङ्ग्रेसमा करिब चार हजार महाधिवेशन प्रतिनिधिहरूमध्ये तीन हजारभन्दा बढी हिन्दू धर्मावलम्बी छन्, किरात र बौद्धमार्गीसमेतको गणना गर्दा ओमकार परिवार सम्बद्धहरूको सङ्ख्या करिब ९९ प्रतिशत रहेको देखिन्छ । यीमध्ये २५०० भन्दा बढी मतदाता हिन्दूराष्ट्रको खुला समर्थनमा रहेको विश्वास गरिन्छ । अबको महाधिवेशनमा पनि यस्तै अनुपातमा प्रतिनिधिहरूको चयन हुने स्थिति छ ।

त्यसैले काङ्ग्रेसभित्र हिन्दूराष्ट्र पक्षधर मत आफूतिर आकर्षित गर्न काङ्ग्रेसका नेताबीच चर्को प्रतिस्पर्धा हुने सङ्केतहरू देखिन थालेका छन् । महाधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवाले समेत हिन्दूराष्ट्रका पक्षमा वकालत गर्न थाले भने कुनै आश्चर्य हुनेछैन । तर, महाधिवेशनमा पद हात पार्न हिन्दूराष्ट्रको एजेण्डा बोके पनि देशलाई साँच्चै हिन्दूराष्ट्र बनाउन देउवादेखि कोइरालासम्म कोही पनि अडिग रहने सम्भावना न्यून छ । उनीहरूले पार्टीको उच्च पद हात लगाइसकेपछि धर्मनिरपेक्षता या धार्मिक स्वतन्त्रताकै पक्षमा आफूलाई उभ्याउने प्रबल सम्भावना देखिन्छ ।

राप्रपाको अध्यक्ष कमल थापाले देशलाई नै बेककुफ बनाएझैँ देउवा र कोइरालाहरूले काङ्ग्रेस कार्यकर्तालाई बेवकुफ बनाउने योजना बनाएका होइनन् भने हिन्दूराष्ट्रको पक्षमा जान काङ्ग्रेस कदाचित तयार भएमा काङ्ग्रेसको यस्तो निर्णयले नेपाली राजनीतिलाई नयाँ दिशातर्फ मोड्ने निश्चित मान्न सकिन्छ ।