दोर्दीखोलाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’, प्रसारण लाइन निर्माण भने अन्योलमै

दोर्दीखोलाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’, प्रसारण लाइन निर्माण भने अन्योलमै


लमजुङको दोर्दी करिडोरमा निर्माणाधिन २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाको निर्माणाधिन सुरुङ ढिलागरी ‘ब्रेक थ्रु’ भएको हो ।

प्रवद्र्धक कम्पनी हिमालयन पावर पार्टनरले निर्माण गरिरहेको उक्त आयोजनाको २ हजार ७ सय ८० मिटर सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो । ४ बर्षमा सुरुङ खन्ने कार्य सकिएसँगै आइतबार निर्माण कम्पनीका निर्देशक चन्द्र ढकाल, कार्यकारी निर्देशक गुरुप्रसाद ढकाल लगायतले सुरुङको ‘ब्रेक थु्र’ गरेका हुन् ।

आयोजनाको निर्माणकार्य २०७२ फागुनबाट थालेको थियो । सुरुमा इको इन्फ्रा बिल्डरले सुरुङ निर्माण थालेकोमा राम्रोसंग काम नगरेको भन्दै उक्त कम्पनीलाई हटाएर निर्माण कम्पनीले मल्टी इन्फ्रा स्ट्रक्चर डेभलपमेन्ट कम्पनीलाई भर्ना गरेको थियो । सुरुङ सुरु हुने ठाउँ (इनलेट) साविक चिति गाविस ४ रियाले र सुरुङ सकिने ठाउँ (आउटलेट) साविक चिती ७ रामचोकमा छ ।

हेडवक्र्सबाट इनलेटसम्म ३ हजार २ सय हेडरेस पाइपलाइन रहनेछ । यसको ६ सय मिटर जडान बाँकी रहेको छ । आउटलेटबाट पावर हाउससम्म ७ मिटरको पेनस्टक रहेको आयोजनाका इन्जिनियर दिपक ज्ञवाली बताउँछन् । आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले २०७२ बैशाख १२ गतेको भूकम्प, त्यसपछिको नाकाबन्दी, आयोजना क्षेत्रमा आउने बाढीपहिरो, सुरुङमा भेटिएको नरम चट्टान लगायतले आयोजनाको निर्माण कार्यमा ढिलाई भएको बताए ।

आयोजनाको दोर्दी गाउँपालिका ६ ढोडेनी, ७ फलेनी र ८ बन्सारबीच दोर्दीखोलामा हेडर्वक्स निर्माण गरिएको छ । बेंसीसहर ११ चितीको रामचोकबेंसीमा विद्युतगृह निर्माण गरिएको छ । आयोजनाको ८० प्रतिशत बढी निर्माण सकिएको आयोजनाका इन्जिनियर ज्ञवालीले बताए ।

९÷९ मेगावाट क्षमताका ३ वटा फ्रान्सिस टर्बाइन रहने विद्युतगृहको बाहिरी काम लगभग सकिएको आयोजनाले बताएको छ । आयोजनाको ग्रस हेड २ सय १२ मिटर छ । आयोजनाबाट १४७ दशमलव ६९ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ ।

नेपाल विद्युत प्राधिकरणलाई भने १४२ दशमलव ३१ गिगावाट प्रतिघन्टा विद्युत् बिक्री गर्ने प्रक्षेपण गरेको छ । आयोजनाले प्राधिकरणसँग चलनचल्तीको दरअनुसार हिउँद (सुक्खा याम) मा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो । २०६९ असार १ गते पीपीए गरेको आयोजनाले २ वर्षपछि निर्माण थालेको थियो ।

४ अर्ब २३ करोड ३५ लाख रुपैयाँमा निर्माण पूरा गर्ने भनिएको उक्त आयोजनामा गैरआवासीय नेपालीद्वारा स्थापित एनआरएन इन्भेस्टमेन्ट लिमिटेडको ३५ दशमलव ७ प्रतिशत, आईएमई ग्रुपको ३४ दशमलव ३० प्रतिशत र स्थानीय र सर्वसाधारणको गरी ३० प्रतिशत लगानी छ । ३० प्रतिशतमा १० प्रतिशत स्थानीय र २० प्रतिशत सर्वसाधारणको सेयर छ । यसका लागि प्राइम कमर्सियल बैङ्कको अगुवाइमा ७ वटा वैक र एउटा जलविद्युत विकास तथा लगानी कम्पनीको बैङ्क तथा वित्तीय संस्थाको ७५ प्रतिशत ऋण र प्रवद्र्धकको ३५ प्रतिशत इक्विटी रहनेछ ।

किर्तिपुर–उदिपुर प्रसारण लाइन अन्योलमा

यता, आयोजनाको विद्युत कसरी राष्ट्रिय प्रणालीमा जोड्ने भन्ने विषय अन्योलमा छ । समयमा नेपाल विद्युत प्राधिकरणले किर्तिपुर–उदिपुर प्रसारण लाइन निर्माण नगर्दा आयोजनाको विद्युत खेर जाने हो की भन्ने शंका उब्जिन थालेको छ । यसैले पनि आयोजनाले निर्माणको गतिलाई बढाएको छैन् । प्रवद्र्धक कम्पनी आयोजना निर्माण भइरहँदासम्म किर्तिपुर–उदिपुर प्रसारण लाइन निर्माण नसकिए भुलभुले–मध्यमस्र्याङ्दी १३२ केभी प्रसारण लाइनमा उत्पादित विद्युत जोड्ने दाउमा छ ।