ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान)को ४१औं वार्षिक साधारणसभा भोली (२० भदौमा) सम्पन्न हुँदैछ । निर्वाचनमार्फत आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरिने हुँदा ट्रेकिङ व्यावसायीहरू यतिबेला चुनावी चर्चा र चटारोमा परेका छन् ।
यस वर्ष टानमा प्रजातान्त्रिक र प्रगतिशिल बाम घटकको २ प्यानल निर्वाचनमा होमिएको छ । १७ सदस्यीय कार्यसमितिलाई १३ सय २० मतदाताले मतदान गर्ने छन् । आफ्नो पक्षमा मतदाता रिझाउन दुवै पक्षका उम्मेदवारहरू दिलोज्यानले लागेका छन् ।
प्रजातान्त्रिक समूहबाट खुमबहादुर सुवेदी र बामपन्थी खेमाबाट अन्जन थापा अध्यक्ष पदका लागि भिड्दैछन् ।
ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमितिका लागि अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदी हाल वरिष्ठ उपाध्यक्ष हुन् । २०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्वतीय पर्यटन क्षेत्रमा प्रवेश गरेका सुवेदी टानको पूर्वकोषाध्यक्ष समेत हुन् । उनी पर्यटन व्यवसायी मात्र नभई नियात्राकारका रूपमा समेत परिचित छन् । ‘पदयात्राका पाइलाहरू’ र ‘बेल्जियमका क्षणहरू’ सुवेदीका दुई नियात्रा कृति हुन् । युनिक एडभेन्चर इन्टरनेसनल प्रालि, ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक सुवेदीलाई आम पर्यटन व्यवसायीहरु आँखामा राखे पनि नबिझाउने व्यक्तित्वका रुपमा चित्रित गर्ने गर्छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मानहरुबाट सम्मानित भइसकेका धादिङ, ज्वालामुखीका सुवेदीले नेपाली पर्यटन प्रवद्र्धनार्थ ४० भन्दा बढी देशको भ्रमण गरेका छन् भने सामाजिक सेवामा कृयाशील ह्यान्ड इन ह्यान्ड नेपालका पनि उनी अध्यक्ष हुन् । पर्वतीय पर्यटन व्यवसायीमाझ निकै लोकप्रिय उनको बहुआयामिक व्यक्तित्व, मिलनसारिता र संस्थागत अनुभव नै उनको विजयको आधार रहेको उनीसमर्थक व्यवसायीहरूको भनाई छ ।
सुवेदी समूहबाट उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदिपकुमार घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सह–कोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ रहेका छन् । यस्तै, सदस्यहरूमा केशवप्रसाद दाहाल, खोमराज अधिकारी (सन्तोष), सिम्बिर घले, कान्छा शेर्पा, सोनाम ग्याल्जेन शेर्पा, रविन्द्र महर्जन, सनम शेर्पा, तेन्जिङ शेर्पा, बुद्धकुमारी अधिकारीले मनोनयन दर्ता गरेका छन् ।
उता बामपन्थी समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका अन्जन थापा आशाही ट्रेक्स एण्ड एक्पिडिसन प्रालिका संचालक हुन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खहरेमा जन्मिएका थापा पोर्टर, गाईड हुँदै व्यावसायी बनेका व्यक्ति हुन् ।
नेकपानिकट थापा प्यानलले वरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा, द्वितीय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक खकुराल र सह–कोषाध्यक्षमा प्रदिप पण्डितले मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै सदस्यमा रघु पौडेल, मिङ्मा शेर्पा, ङिमादिकी शेर्पा, सुनिल सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, मिङ्मा शेर्पा र ठाकुर सापकोटाले मनोनयन दर्ता गरेका छन् ।
‘टान निर्वाचन–२०१९’मा अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदी समूहले एक ‘प्रतिबद्धता पत्र’ सार्वजनिक गरेको छ ।
सुवेदी समूहको प्रतिबद्धता जस्ताको तस्तै

प्रतिबद्धता :
ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) आबद्ध झन्डै २००० ट्रेकिङ कम्पनीहरुको हक, हित र व्यावसायिक उन्नतिका लागि हामी खुमबहादुर सुवेदी समुह उत्साहका साथ सक्षम, व्यवसायिक र समावेसी उम्मेद्वारहरुको नेतृत्वसहित टानको आगामी केन्द्रिय कार्यसमितिको निर्वाचनमा प्रस्तुत भएका छौं । पर्वतीय पर्यटन विकास र व्यवसायिक उन्नतिका लागि हाम्रा प्रतिवद्धता निम्नानुसार जाहेर गर्दछौं ।
क) पर्वतीय पर्यटन व्यवसायीहरुको हित सम्बन्धमा
१. टानका सदस्य व्यवसायीहरुको व्यवस्थापकीय तथा बजारीकरण क्षमता अभिवृद्धि गर्न विशेष कार्यक्रम ल्याइनेछ ।
२. राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, पदयात्रा तथा पर्वातारोहण लगायतका सबै अनुमतिपत्रहरु एकद्वार प्रणालीमार्फत व्यवस्था गर्न प्रभावकारी पहल गरिनेछ । राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र अन्तर्गत गरिने एकपटकको पदयात्रामा तिर्नुपर्ने दुई प्रकारका प्रवेश अनुमति शुल्कको व्यवस्था हटाई एक क्षेत्रको प्रवेश शुल्क मात्र तिर्ने व्यवस्थाका लागि पहल गरिनेछ ।
३. आरोहण र पदयात्रामा जाने कामदारहरुको सामुहिक बिमाको व्यवस्था टानमार्फत गरी सजिलो र किफायती बनाउन अध्ययन र छलफल गरी कार्यान्वयन गर्न प्रयत्न गरिनेछ । तर, सरकारी सम्पर्क अधिकृतहरुको हकमा सम्बन्धित मन्त्रालयबाट नै बिमा व्यवस्था हुनुपर्ने माग गरिनेछ ।
४. पदयात्रा व्यवसायमा अनधिकृत गतिविधी ठुलै समस्याको रुपमा खडा भइरहेको अवस्थामा टिम्सको समुचित व्यवस्थापन गरी आम पदयात्रा व्यवसायीहरुको महत्वपूर्ण माग ‘नो ट्रेकिङ विथआउट गाइड एन्ड पोर्टर’ लाई कार्यान्वयन गर्न नेपाल सरकार र नेपाल पर्यटन बोर्डसँग सहकार्य गरिनेछ । यसको प्रभावकारी कार्यान्वयनका लागि टिम्सवापतको आम्दानीलाई टान, सम्वद्ध मजदुर पक्ष, नेपाल पर्यटन बोर्ड र सरोकारवाला स्थानीय सरकारबीच भागवन्डा गरी दिगो सहकार्यको पहल गरिनेछ । अनधिकृत पदयात्रा संचालनलाई निषेध गर्न प्रभावकारी अनुगमन तथा नियमनको व्यवस्था गरिनेछ ।
५. टिम्स जारी गर्ने हालको पद्धतिलाई सुधार गरी अनलाइन पद्धति अवलम्बन गरी सदस्य कम्पनीहरुलाई सहजता प्रदान गरिनेछ ।
६. हिमाली क्षेत्रको मौसमसम्बन्धी अग्रिम सूचना प्रदान गर्ने व्यवस्था मिलाई सम्भावित प्राकृतिक विपद्बाट पदयात्री तथा कामदारहरुलाई सम्भाव्य असुरक्षाबाट जोगाउनको लागि सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी विपद् व्यवस्थापनको कार्य गरिनेछ ।
७. मजदुरहरुलाई लेक लाग्ने समस्यासम्बन्धी आवश्यक तालिमहरुको व्यवस्था गर्ने र आपत्तकालीन अवस्थाहरुमा टान कार्यालयमा क्राइसिस ऱ्यापिड रेस्पोन्स टिम (सीआरआरटी) खडा गरी आवश्यक सेवा उपलब्ध गराइनेछ ।
८. दुर्गम क्षेत्रको यात्रामा गरिने खर्चहरु उपर करयोग्य बीलबिजक जारी नगरिँदा पदयात्रा व्यवसायमा उत्पन्न कठिनाइहरु तथा सामान ढुवानी गर्दा कतै भ्याट लाग्ने त कतै नलाग्ने, कामदारहरुको खर्चमा हुने दुई हजार रुपियाँभन्दा बढीको भुक्तानीमा प्यान बील अनिवार्य गरिएको जस्ता समस्याहरुलाई समाधान गर्न पहल गरिनेछ ।
९. २१ औं शताब्दीको साइबर युगमा अन्तराष्ट्रिय बजारको प्रतिस्पर्धामा व्यवसायी सदस्यहरुलाई पनि आइटी टेक्नोलोजीसम्बन्धी नियमित तालिमको व्यवस्था गरिनेछ ।
१०. सबै ट्रेकिङ कम्पनीहरुका लागि आफ्नो व्यवसाय प्रवद्र्धनका लागि विदेशमा हुने ट्राभल मार्टसम्म पुग्न सम्भव नभइराखेको वर्तमान अवस्थामा नेपालमै त्यस्ता ट्राभल मार्ट संचालन हुन अति आवश्यक छ । यसर्थ टानमार्फत् नेपालमै प्रत्येक बर्ष ‘एड्भेन्चर ट्राभल मार्ट’को आयोजना गरी पदयात्रा व्यवसायीहरुलाई आफ्नो व्यवसायको सहज बजारिकरण गर्न सहयोग पुऱ्याइनेछ ।
ख) टानको संस्थागत सुदृढीकरण सम्बन्धमा
१. टानको आन्तरिक व्यवस्थापनलाई चुस्त र व्यवस्थित गर्न समय सापेक्ष पुनर्संरचना गरिनेछ ।
२. टानको सांगठनिक, प्रशासनिक र आर्थिक प्रणालीमा मितव्ययीता सहितको अनुशासन र पूर्ण पारदर्शिताको व्यवस्था गरिनेछ ।
३. पछिल्लो अवधिमा टानको खस्किँदो अवस्थालाई सुधार गर्न नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, अग्रज, विज्ञ तथा सदस्यहरुसँग सहकार्य गरी पर्वतीय पर्यटन क्षेत्रका व्यवसायीहरुको छाता संगठन टानको गरिमा उँचो राख्न अथक प्रयास गरिनेछ ।
४. टानको कार्ययोजना र कार्यक्रमहरुलाई कार्यान्वयन गर्दै परिणामहरुको आधारमा व्यवसायीहरुबीच समयसमयमा साक्षात्कार गर्दै आवधिक समिक्षा विवरण प्रस्तुत गरिनेछ ।
ग) पर्वतीय पर्यटन पूर्वाधार विकास सम्बन्धमा
१. दीगो पर्या–पर्यटनको अवधारणा अनुसार प्राकृतिक सांस्कृतिक एवं धार्मिक सम्पदाहरुलाई राष्ट्रिय पर्यटन पुँजीको रुपमा सुचीकृत गरी प्रबद्र्धन र सम्बद्र्धन गर्न प्रयत्न गरिनेछ ।
२. विस्थापित पदयात्रा मार्गहरुको सट्टामा वैकल्पिक मार्ग र अन्य गन्तव्यहरुमा यथाशक्य छिटो नयाँ मार्गहरुको निर्माणका लागि पहल गरिनेछ ।
३. तासी लाप्चा, आम्फु लाप्चा, शेर्पानीकोल लाप्चा, ग्यान्जेला जस्ता उच्च जोखिम भएका हाइपासहरु र अन्य जोखिमपूर्ण पदयात्रा मार्गहरुलाई सुरक्षित बनाउन स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, स्थानीय समुदाय र राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्र परियोजनाहरुसित सहकार्य गरिनेछ ।
४. सरकारका केन्द्रिय र स्थानीय निकायहरुलाई पदयात्रा मार्गहरुमा आवश्यक पूर्वाधार विकास गर्न राय सल्लाह दिनुको साथै बजेट विनियोजन गर्न–गराउन आवश्यक पहल गरिनेछ ।
५. पर्वतीय पर्यटनको दृष्टिले महत्वपूर्ण रहेका सम्भाव्य गन्तव्यहरु र अन्य पहाड र हिमालहरुको सुची र तथ्याङ्क कोष निर्माण गर्न पहल गरिनेछ ।
६. पर्यटकको उपस्थिति, आवागमन र गतिविधीहरु हुने स्थान, सडकमार्ग, पदयात्रा मार्ग र गन्तव्यहरुमा आवश्यक पूर्वाधारहरको निर्माण, पुननिर्माण, गुणस्तरिय व्यवस्थापन र स्तरोन्नति गर्न सरकारलाई आवश्यक राय तथा परामर्श प्रदान गरिनेछ ।
७. निषेधित क्षेत्रहरुलाई नियन्त्रित क्षेत्रको रुपमा खुला गरी बढी पर्यटकहरुलाई नयाँ–नयाँ गन्तव्यहरुको पदयात्रामा आकर्षित गर्न पहल गरिनेछ ।
घ) सरोकारवालाहरुसँगको सम्बन्धमा
१. पर्वतीय पर्यटनसंग सम्बन्धित सरोकारवालाहरु– राज्य र स्थानीय निकाय, राष्ट्रिय निकुञ्ज, समुदाय, मजदुर युनियन, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायतका संघ–संस्थाहरुसंग सहकार्यमुलक र सुमधुर सम्बन्ध स्थापित गरिनेछ ।
२. पब्लिक प्राइभेट पार्टनरसीपको अवधारणासहित गठन भएको नेपाल पर्यटन बोर्डलाई निजी क्षेत्रद्धारा गरिएको माग र विगतमा भएको सन्ताउन्न दिने बोर्ड शुद्धिकरण आन्दोलन तथा राज्य पुनसंरचना समेतको आधारमा समयसापेक्ष पुनर्संरचनासहित गति प्रदान गर्न नेपाल सरकारलाई आवश्यक राय, सल्लाह र सुझाव दिदै कार्यान्वयनका लागि पहल गरिनेछ ।
३. मानव संशाधन विकाससँग सम्बन्धित संघ–संस्थाहरुसंग पर्वतीय पर्यटनका लागि आवश्यक ज्ञान र सीपको पठनपाठन र तालिममार्फत दक्ष जनशक्ति तयार गर्न सहकार्य गरिनेछ ।
४. मजदुर संघ–संगठनहरुसँग सम्पर्क र सहकार्य गरी मजदुर र व्यवसायीहरुबीच सुमधुर सम्बन्धको विकास गरिनेछ । मजदुर पक्षका लागि छुट्याइएको टिम्सवापतको रकमलाई मजदुर संगठनहरुसँगको सहकार्यमा यथाशक्य चाँडो मजदुर हितका लागि प्रयोगमा ल्याइनेछ ।
ङ) पर्यटन प्रवद्र्धन सम्बन्धमा
१. टिम्सबाट संकलित आर्थिक कोषको समुचित अंश अनिवार्य रुपले अन्तराष्ट्रिय प्रवद्र्धनमा खर्च गर्ने व्यवस्था गरिनेछ ।
२. नेपालको पर्वतीय पर्यटनसँग सम्बन्धित गुणस्तरिय प्रचारप्रसार सामाग्रीहरु निर्माण गरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारहरुमा विविध माध्यमद्धारा प्रवद्र्धन गरिनेछ ।
३. नेपाल पर्यटन बोर्डले बिभिन्न ट्राभल सोमा गरिने बार्षिक बजेट र कार्यक्रमको निश्चित हिस्सा पर्वतीय पर्यटनको प्रवद्र्धनमा पनि लगानी गर्ने सुनिश्चितताको लागि प्रयत्न गरिनेछ ।
४. पर्वतीय पर्यटनका गतिविधिहरु– पदयात्रा, आरोहण, साहसिक खेल र अन्य आउटडोर एक्टिभिटिहरुसँग सम्बन्धित संघ–संस्थाहरुको अन्तराष्ट्रिय छाता संगठन आटासँगको सहकार्यलाई अघि बढाइनेछ ।
५. टानका क्रियाकलापहरुसम्बन्धी आवश्यक विवरण र सुचना तत्काल र नियमित किसिमले सदस्य व्यवसायीहरु र अन्य सम्बन्धित सरोकारवालाहरुसम्म सम्प्रेषण गर्ने कार्यमा टानको मिडिया सेन्टरलाई चुस्त र व्यवस्थित बनाइनेछ । त्यसैगरी आपतकालीन अवस्थाहरुमा आकस्मिक सुचना प्रवाह गर्न र अन्य महत्वपूर्ण सुचना तथ्यांकहरुको अभिलेखालयको रुपमा विकास गर्न मिडिया सेन्टरलाई सुविधासम्पन्न बनाइनेछ ।
च) अन्य
१. अग्रजहरुको अनुभव तथा मार्गनिर्देशनद्धारा पर्वतीय पर्यटनको विकास र टानको प्रभावकारितामा महत्वपूर्ण योगदान पुग्ने भएकोले हालसम्मका पूर्व अध्यक्षहरु रहने गरी टान पूर्व अध्यक्षहरुको परिषद् (टान पीपी काउन्सिल)को गठन गरिनेछ ।
प्रतिक्रिया