ड्रग्समा नेपाली महिला-वसन्तराज कुँवर

ड्रग्समा नेपाली महिला-वसन्तराज कुँवर


नेपालमा करिब एक लाख ५० हजार ड्रग्स सेवन गरेर त्यसलाई छोड्नै नसक्ने अवस्थामा पुगेका व्यक्ति छन्, तिनीहरूमध्ये २४ हजार महिला पनि भएको अनुमान गरिएको छ । महिला दुर्व्यसनमा फस्न पुगे उनीहरूलाई यस दलदलबाट बाहिर निकाल्न पुरुषको दाँजोमा निक्कै गाह्रो हुने गरेको हामीले आफ्नो अनुभवबाट देखेका छौँ ।
म विगत २४ वर्षदेखि लागूऔषध दुर्र्व्यसनलाई नजिकबाट हेरिरहेको छु । विगत १० वर्षअघिसम्म महिला लागूऔषध दुर्र्व्यसनी भएका नेपाली समाजमा विरलै भेटिन्थे । कोही-कोही उमेर पुगेका महिला रक्सी वा वाइन सेवन गर्दागर्दै त्यसलाई छोड्न नसक्ने हालतमा पुगेका भने भेटिन्थे तर गाँजा, ब्राउनसुगर नियमित रूपमा सेवन गर्ने वा चिकित्सकले नदिईकन नै विभिन्न प्रकारका ट्याबलेट र र्सुइहरू लिने महिला भने लगभग समाजमा भेटिँदैनथे । कोही-कोहीले पारिवारिक कारण वा मानसिक असन्तुलन गुमाएका कारण डिप्रेसनका औषधिहरू नियमित रूपमा लिने गरेको भने भेटिन्थ्यो तर महिलाले लागूऔषध सेवन गर्न घरमा चोरी गर्ने, घर छोडेर बाहिर बस्ने, केटाहरूको हुलमा दिनरात बिताउने, ड्रग्सडिलरकहाँ लागूऔषध किन्न जानेजस्ता क्रियाकलाप भने गरेको पाइँदैनथ्यो ।
आजभोलि यो नौलो समस्या नेपाली समुदायका चेलीहरूमा पनि भित्रिएको छ । धेरै चेली ड्रग्समा नराम्ररी फसेका छन् र उनीहरूलाई उपचार केन्द्रको सशक्त ढङ्गको आवश्यकता भइसकेको छ । कैयौँ चेली भित्रभित्रै मरिसकेका छन् भने ड्रग्सकै कारणले चेलीहरू पनि एचआईभी, हेपाटाइटिस सी जस्ता रोगहरू बोक्न मात्र होइन पैसाका लागि वा विश्वासघातका सिकार भई यौन व्यवसायमा संलग्न हुन, अवैध रूपमा गर्भधारण गर्न, बालबच्चा जन्माउन वा डान्सबारलगायत रात्रिक्लबहरूमा काम गरेर जीविका चलाउनसमेत बाध्य भएका छन् । मैले गरेको अनुभवमा पुरुषको तुलनामा दुर्र्व्यसनमा परेपछि महिलाले अनेकौँ दु:ख-हन्डर खानुपर्छ तर पनि दर्ुभाग्यको कुरा नै भन्नुपर्छ कि उनीहरूलाई त्यस दलदलबाट बाहिर निकाल्न परिवार र उपचार केन्द्रले अथक परिश्रम गरे पनि तिनलाई सामान्य जीवनमा फर्काउन पुरुषहरूलाई भन्दा गाह्रो नै हुनेगर्छ । यो दु:खद् तर कटु सत्य हो ।
म आफैं उपचार केन्द्र चलाउँछु । नार्कोनन्मा केही वर्षअघिसम्म महिलालाई सेवा प्रदान गरिँदैनथ्यो । एक दिन एक दु:खी आमा नार्कोनन् आउनुभयो । उहाँलाई दर्ुर्व्यसनमा परेकी छोरीले ज्यादै सताएकी रहिछिन् र कहिले केटाहरूको जमात ल्याई आफ्नै घरको कोठामा राख्दिरहिछिन् । पति विदेशमा भएका ती वृद्ध आमा डरमा बाँच्नु पर्नेरहेछ । एक दिन उनले बैंकमा पतिले पठाएको करिब बाह्र-तेह्र लाख झिक्न जाँदा एटीएम कार्ड मिलाई ९०% भन्दा बढी रकम खाताबाट छोरीले निकाली खर्च गरिसकेकी रहिछिन् । त्यही पैसाको कारणले धेरै दिनदेखि छोरी घर आएकी पनि रहिनछिन् ।
दु:खी आमा मकहाँ आइन् र खुव रोइन् । मैले छोरी खोज्न मद्दत गर्ने आश्वासन दिएँ । खोजी गर्दै जाँदा काठमाडौंको एक मन्दिरनजिक एक हुल केटासँग उनी लागूऔषध लिँदै गरेको अवस्थामा भेटिइन् । सोधपुछपछि थाहा भयो कि बैंकबाट झिकेको पैसाले उनले पाँचतारे होटलमा कोठा पनि लिएकी रहिछिन् र सबै पैसा केटाहरूसमेतलाई ड्रग्स खुवाई सकिछिन् ।
जब छोरी समातिइन् उनले म तथा मेरी श्रीमतीलाई नार्कोनन् उपचार केन्द्रमा राखिदिन अनुरोध गरिन् । केटैकेटा भएको स्थानमा हामीले उनलाई राख्न सकेनौँ । उनी सिक हुन थालिन् । केही दिनका लागि ती चेलीलाई हामीले डि टक्सी फिकेसन गर्न अस्पताल लैजान सल्लाह दियौँ । अस्पतालको सेवाले मात्र उनले ड्रग्स छोड्न नसक्ने कुरा हामीलाई थाहा थियो । अत: ती बूढीआमालाई सहयोग गर्न हामीले महिलालाई पनि सेवा दिने निर्णय गर्‍यौँ र एउटा घर भाडामा लियौँ । जुन दिन अस्पतालबाट ती चेलीलाई हाम्रो नयाँ घरमा ल्याउने योजना थियो यो कुरा वरिपरिका टोलवासीले थाहा पाएछन् र दुर्र्व्यसनमा परेकाहरूलाई हाम्रो टोलमा राख्न दिँदैनौँ भनी विरोध गर्दै त्यस घरमा राख्न दिएनन् । यो विरोधले हामीले ती बूढीआमालाई सहयोग गर्न सकेनौँ । ती चेली अस्पतालबाट घरमा गइन् र केही समयपछि ओभरडोजबाट उनको मृत्यु भएको अपुष्ट समाचार सुन्यौँ ।
ती चेली उपचार नपाईकन मरिन् भन्ने समाचारले हामी दु:खी भयौँ । आफूलाई पनि यसको दोषी पायौँ । त्यसपछि हामीहरूले अरू चेलीहरूलाई मर्न नदिने प्रण गर्दै महिलाको पनि उपचार सेवा सुरू गर्‍यौँ । यहीँबाट महिला र पुरुषको उपचारमा हुने विविधता मैले पनि नजिकबाट अनुभव गर्न थालेँ ।
महिला अधिकांश पुरुष साथीका कारणले लागूऔषध सेवन गर्न पुग्दारहेछन् । थोरै सङ्ख्यामा एक्लै भएका कारण र खराब साथीको बद्नियतले पनि लागूऔषध लिन पुग्दारहेछन् । जब घरका चेलीहरूले लागूऔषध लिएको थाहा हुन्छ त्यो परिवारका लागि बज्रपात खसेझैं हुँदोरहेछ । घरमा छोरी र विवाहपछि बुहारी भएर आफ्नो संस्कृति, परम्पराहरू जगेर्ना गर्दै परिवारको रेखदेख तथा बालबच्चाको समेत जिम्मेवारी निभाउनुपर्ने चेलीहरू दुर्र्व्यसनमा परेपछि केटाहरूसँग हिँड्ने, सिगरेट पिउने, बियर खाने, अपशब्द बोल्ने, घरको कुनै काम नगर्ने, पैसाहरू हिनामिना गर्ने र रातरातभर घरमा समेत नआउने भएपछि आमाबाबु र अन्य परिवारका लागि त्यो अवस्था घोर दु:खको विषय बन्दोरहेछ । न माइतीकी छोरी हुन सक्ने न घरकी बुहारी हुन सक्ने चरित्र भएपछि त्यस घरका लागि ती छोरी अभिशाप बन्दिरहिछिन् र सबै परिवारले यो कुरा भित्रभित्रै लुकाउँदै उनीमाथि खुब कुटपिट पनि गर्न थाल्दारहेछन् । परिवारले नै हेर्न नसकी घरमै लागूऔषध किनेर ल्याइदिनेसम्मको अवस्था पनि बन्दोरहेछ । लोकलाजले आमाबाबुले यो कुरा बाहिर ल्याई सहयोग माग्ने स्थिति पनि हुँदोरहेनछ ।
अर्कोतर्फ दुर्र्व्यसनमा परेकी चेली दुर्र्व्यसनका कारण खराब व्यक्तिहरू र डिलरको चङ्गुलमा पर्न पुग्दिरहिछिन् । लागूऔषध लिएको समयमा ठीक-बेठीक छुट्याउन नसक्ने अवस्था हुँदा उनीमाथि पुरुषहरूले आर्थिक र शारीरिक शोषण पनि गर्दारहेछन् । केटाहरूको समूहमा केटी थोरै भएमा सबैले माया गरेझैं गरी घुमाउने, खुवाउने गर्नाले ती चेलीलाई भित्रभित्रै आफू निक्कै राम्री भएको भ्रम पर्दोरहेछ । यही गलत सोचले उनको जीवनको उद्देश्य नै घुम्ने, खाने, फेसन गर्ने र ड्रग्स खाने मात्र हुन पुग्दोरहेछ । बाहिरी संसारमा केटाहरूसँग संगत गर्दागर्दै उनको आचरण र व्यवहार पनि घरपरिवार, समाज र परम्पराका लागि बिल्कुलै काम नलाग्ने बन्न थाल्दोरहेछ । उनीहरू त्यही स्वतन्त्र जीवनलाई मनपराउन थाल्दारहेछन् र घरपरिवारका लागि बिल्कुलै काम नलाग्ने हुन थाल्दारहेछन् ।
पुरुष दुर्र्व्यसनमा परे परिवार उपचार केन्द्रमा लैजान तयार हुँदारहेछन् तर महिला यसमा परे सकभर लुकाउन खोज्दारहेछन् । यसैले पुरुषको तुलनामा लामो समयपछि उपचार केन्द्र ल्याइँदा चेलीहरू धेरैवटा समस्याबाट घेरिइसकेका हुँदारहेछन् । उपचार केन्द्रमा पनि उनीहरू ध्यान लगाएर नबस्ने र छिट्टै बाहिरी समाजमा गएर स्वतन्त्र जीवन बिताउने इच्छा राख्दारहेछन् । पुरुषको तुलनामा महिला बाहिर आउनेबित्तिकै पुन: केटाहरूले नजिक बन्न प्रयास गर्ने हुँदा उनीहरू ड्रग्सको दलदलमा तिनै केटाहरूकै कारणले फस्न पुग्दारहेछन् । केटाको तुलनामा केटीहरूलाई फोकटमा खुवाउने र घुमाउने व्यक्तिहरू ज्यादा हुने हुँदा उनीहरू सजिलैसँग आफूलाई चाहिने सुखसयलका सामग्रीहरू जोड्न सफल हुँदारहेछन् र यही प्रकारले मेरो जीवन बित्न सक्छ भन्ने भ्रममा पर्दारहेछन् । उनीहरूलाई घर नभए पनि हुन्छ जस्तो लाग्दोरहेछ । जो घरमा जान्छन् उनीहरू पनि परिवार र समाजले अपेक्षा गरेझैं छोरी, बुहारी, आमा हुन नसक्दा घर-झगडा पर्दोरहेछ र उनीहरू घर छोडी बाहिर बस्दा अनेकौँ थप झमेलामा पर्दारहेछन् ।
अत: मेरो अनुभवले यही भन्छ कि १३ वर्षदेखि १९ वर्षसम्मका चेलीहरूलाई समयमै ड्रग्सको शिक्षा दिएर तिनलाई सचेत पार्न प्रत्येक अभिभावकहरूले प्रयास थालिहाल्नुपर्छ । दुर्र्व्यसनमा कुनै छोरी परेको भए त्यसलाई सहजतापूर्वक लिई छोराहरूलाई जस्तै उपचारमा पठाइहाल्नुपर्छ । उनीहरू पनि जन्मँदै लागूऔषध लिएर आएका थिएनन् । यही समाजका खराब मानिसले उनीहरूलाई झुक्काएर यो समस्यामा पारेका हुन् । तिनलाई सहयोगको आवश्यकता छ । उपचार प्रक्रिया कठिन हुने गर्छ । तर पनि यसको विकल्प छैन । यो कुरा सत्य हो पुरुषहरूको तुलनमा हाम्रो समाजमा दुर्र्व्यसनमा परेका महिलाको उपचार कठिन हुने गर्छ । त्यसैले महिलालाई दुर्र्व्यसनमा फस्न नदिन परिवार, समाज, शैक्षिक संस्थाहरू र सामाजिक कार्यकर्ताहरू ज्यादै चनाखो र गम्भीर हुनुपर्छ ।
अहिले स्कुल-कलेजमा अध्ययन गर्ने केही छात्राले पनि केटाको सङ्गतमा चुरोट, गाँजा पिउने र स्कुल-कलेज बङ्क गरेर डिस्को, पव, सिनेमाघर आदिमा जाने गरेको देखिन थालेको छ । यो खराब सङ्गतले ती छात्राको जीवनमा कति ठूलो आपत-विपत ल्याउँदै छ भन्ने कुराको अलिकति पनि आभाष उनीहरूले गरेको पाइँदैन । तर, अधिकांश महिला जो दुर्र्व्यसनमा पर्नुभएको छ उहाँहरू दुर्र्व्यसनमा परेको पुरुषसँग सङ्गत गर्दा वा दुर्र्व्यसनमा परेको पुरुष साथीको केटी साथीसँग सङ्गत गर्दा नै फस्न पुग्नुभएको छ । यस्ता सङ्गतसँग छात्राहरू टाडै बस्नुहोला । यदि महिलाहरू दुर्भाग्यवश दुर्र्व्यसनमा परे यो कुरा सत्य हो पुरुषको तुलनामा महिलालाई सामान्य जीवनमा फर्काउन कठिन हुने गर्छ किनकि हाम्रो समाजमा पुरुषको भन्दा महिलाको जिम्मेवारी बढी छ र सम्पत्तिमाथिको हक कम छ । दुर्र्व्यसनले महिलालाई असल आमा, छोरी र बुहारी हुनै दिँदैन ।