- छविलाल बगाले
एटिएम ह्याकिङ प्रकरणले नेपाली बैंकहरुको साइबर सुरक्षाप्रति गम्भिर प्रश्न उब्जाएको छ । नाफामात्रै कमाउने तर साइबर सुरक्षाप्रति कम चासो राख्ने बैंकरहरुलाई यस घटनाले सबक सिकाएको छ । नेपालको बैंकिङ प्रणालीमै घुसेर लाखौं रकम निकाल्ने सक्रिय गिरोहको अप्रेशन प्रहरीले गरेपनि आगामी दिनमा बैंकरहरु थप जिम्मेवार हुन्छन की हुँदैनन् भन्ने प्रश्न उब्जिएको छ ।
नेपालको बैंकिङ प्रणालीभित्र अनुभवप्राप्त विदेशी ह्याकरको सहज पहुँचलाई आम नागरिकले गम्भिर रुपमा लिएका छन् । बैंकहरुको एटिएम ह्याकिङ प्रकरणले नेपाली बैंकको सुरक्षा प्रणालीमाथि मात्रै होइन सेवाग्राहीको विवरण र तथ्यलाई सुरक्षित गर्ने विषयमा पनि प्रश्न उठेको छ । घटनाप्रति गम्भिर बन्दै केन्द्रीय बैंकले साइबर सुरक्षाका लागि बैंकहरु उदासिन बन्न नहुने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न्न निरौलाको भनाई छ ।
नेपालका बैंकहरुले साइबर सुरक्षाको क्षेत्रमा लगानी नगरेको तर्क पनि राष्ट्र बैंकका अधिकारीहरु नै गर्छन् । आवश्यक पूर्बाधार निर्माण नै नगरी बैंक र एटिएम संचालन गर्नु गलत भएको टिप्पणी पनि छ । नेपाली बैंकको सुरक्षा प्रणालीमा आक्रमण भएकोबारे बैंकर्स संघले स्वीकार गरिरहँदा प्रहरी भने बैंकरलाई सबक भएको बताउँछ । नागरिकले जम्मा गरेको रकमको सुरक्षा दिने बैंकहरुले आफूलाई प्रविधीमैत्री र सुरक्षित बनाउन सक्नुपर्नेमा महानगरीय परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदी बताउँछन् ।
पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुबीच सेवाका नाममा भएको प्रतिस्पर्धाले सुरक्षा सतर्कताप्रति खासै ध्यान नदिएको विज्ञहरुको टिप्पणी छ । एटिएम प्रकरणले नेपाली बैंकको त्यही उदासीनतालाई छर्लङ पारिदिएको छ । अहिले बैंकहरुले एटीएमको प्रयोगलाई जसरी प्रोत्साहित गरिरहेका छन्, त्यस विपरीत प्रणालीको सेक्युर गर्ने कुरामा बैंकहरु उदासीन देखिएको गुनासो पनि छ । साइबर सेक्युरिटीको विषयमा बैंकहरुले कम्प्रमाइज गर्नु र राष्ट्र बैंकले तोकेको मापदण्डमा साइबर सुरक्षाबारे स्पष्ट व्याख्या नहुनुले पनि नेपालको बैंकिङ प्रणालीमा ह्याकरको प्रवेश भएको तर्क साइबर सुरक्षाविद् बिनोद ढकाल बताउँछन् ।
नेपालको बैंकिङ क्षेत्रमा यसरी थपियो ठूलो चुनौति
–बैंकहरुले साइबर सेक्युरिटीको विषयमा कम्प्रमाइज गर्नु
– बैंकले सुरक्षा प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन नसक्नु
– सिस्टमको सेक्युर गर्ने कुरामा उदासीन बन्नु
–सिस्टममा कमसल र सस्ता प्रोडक्टको प्रयोग बढि गर्नु
–राष्ट्र बैंकले तोकेको मापदण्डमा साइबर सुरक्षाबारे स्पष्ट व्याख्या नहुनु
–बैंकको एटीएम प्रणालीमा प्रयोग हुने सफ्ट्वेर नेपालमा निर्माण नहुनु
–विदेशी सफ्टवेयर महंगो हुने भएकोले बैंकहरुको आकर्षण सस्तोतिर केन्द्रीत हुनु
नेपालको बैंकिङ इतिहासमा एटिएम ह्याक गरेर यति ठूलो रकम चोरी गरेको पहिलो घटना हो । नेपाल प्रहरी बेलैमा सजग हुँदा संलग्न चिनियाँ ह्याकर र चोरी गरेको रकम उम्कन पाएन् । यस घटनाले बैंकहरु थप जिम्मेवार बन्न सबक मिलेको छ । यही शैलीको प्रयोग गरेर केहीअघि भारतमा ८० करोड रुपैयाँ चोरी भएको थियो ।
प्रतिक्रिया