भेनेजुएला भूकम्प : स्मार्टफोनबाट पूर्वसूचना आएको प्रयोगकर्ताको दाबी

भेनेजुएला भूकम्प : स्मार्टफोनबाट पूर्वसूचना आएको प्रयोगकर्ताको दाबी


भेनेजुएलामा गत बुधबारको भूकम्पमा झन्डै ६०० जनाको ज्यान गएको अनुमानित तथ्याङ्क सार्वजनिक भएको छ । भूकम्प आउनुभन्दा केही क्षणपहिले भेनेजुएलाका धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन् ।

गुगलको ‘एन्ड्रोइड’ र एप्पलको ‘आईओएस’ दुवैमा सरकारबाट भूकम्प, बाढी पहिरोजस्ता सङ्कटकालीन सूचना देखाउने विकल्प छ ।

कुनै पनि विषयको बारेमा खोजी गर्ने गुगलले गत वर्ष आफ्नो प्रणालीको बारेमा विस्तृत जानकारी दिएको थियो, जसले विश्वभरका अर्बौं एन्ड्रोइड स्मार्टफोनको प्रयोग गरी भूकम्प पत्ता लगाउँछ ।

काम कसरी गर्छ ?

लगभग सबै स्मार्टफोनमा ‘एक्सेलरोमिटर’ नामक गतिशील सेन्सर हुन्छ, जसले फोन घुमाउँदा स्क्रिन घुमाउने जस्ता काम गर्छ ।

गुगलले सन् २०२५ जुलाईमा लेखेको ब्लग पोस्ट अनुसार, त्यही सेन्सरले भूकम्पबाट आउने जमिनको कम्पन पनि पत्ता लगाउन सक्छ ।

एक्सेलरोमिटरले भूकम्पको सुरुवाती छिटो ‘पी’ वेभलाई पहिचान गर्छ र कम्पनको जानकारी गुगलको सर्भरमा पठाउँछ ।

‘धेरै रिपोर्टहरूलाई छिटो क्रस-रेफरेन्स गरेर प्रणालीले ‘भूकम्प गइरहेको’ पुष्टि गर्दछ र यसको स्थान तथा म्याग्निच्युड अनुमान गर्छ’- गुगलले भनेको छ।

गुगलबा अनुसार यसको उद्देश्य भनेको ढिलो र बढी क्षति गर्ने ‘एस’ वेभ मानिसहरूमा पुग्नुअघि सकेसम्म धेरैलाई चेतावनी दिनु हो ।

गुगलले दुई चरणको चेतावनी प्रदान गर्छ । यसको ‘सावधान (वि अवेअर)’ ले कमजोर कम्पनको चेतावनी दिन्छ भने अत्यधिक शक्तिशाली भूकम्पमा ‘कदम चाल (टेक एक्सन)’ ले पूरै स्क्रिनमा असर देखाउँछ र फोन नसुनिने अवस्था (साइलेन्ट मोड)मा राखिएको भए पनि ठूलो आवाज बज्छ ।

प्रणाली कति प्रभावकारी छ ?

गुगलले गत वर्ष बताएअनुसार, यस प्रणालीले सन् २०२१ अप्रिलपछि दुई हजारभन्दा बढी सम्भावित खतरनाक भूकम्प पत्ता लगाई सात करोड ९० लाखभन्दा बढी व्यक्तिगत फोनमा चेतावनी पठाएको छ ।

यसले पहिलेको तुलनामा धेरै मानिसहरूलाई पूर्व चेतावनी दिने अवसर दिएको छ, तर कहिलेकाहीँ समस्या पनि आएको छ ।

सन् २०२३ को फेब्रुअरीमा टर्की र सिरियामा भएको विनाशकारी भूकम्पमा झन्डै ६० हजार जनाको मृत्यु हुनुअघि एन्ड्रोइड फोनहरूले चेतावनी दिन सकेका थिएनन् । यसको समाधान खोज्दै गुगलले पछि आफ्नो एल्गोरिदम अपडेट गरेको बताएको छ । कम्पनीले सन् २०२५ फेब्रुअरीमा ब्राजिलका केही एन्ड्रोइड प्रयोगकर्तालाई गलत चेतावनी पठाएकोमा माफी पनि मागेको थियो ।

यो हप्ता भेनेजुएलामा सयौँ मानिसहरूले एक्समा गुगलको प्रशंसा गरेका छन् । केहीले भवनबाट बाहिर निस्कन चेतावनी आएको भन्ने भिडियो पनि सेयर गरेका छन् यद्यपि यो दावीसहितको भिडियोबारे पुष्टि गर्ने आधारको खोजी भइरहेको छ ।

एप्पलको दाबी

सरकारी चेतावनीबाहेक एप्पलले आफ्नो वेबसाइटमा अमेरिका र ताइवानका प्रयोगकर्ताहरूले अन्य ‘चेतावनीमूलक यन्त्र” बाट भूकम्पको सूचना पाउन सक्ने बताएको छ ।

समाचार तयार पार्दासम्म एप्पलले यो प्रणाली कसरी काम गर्छ भन्ने प्रश्नको जवाफ दिएको छैन । आइफोन कम्पनीले गुगलजस्तो वितरित डिटेक्सन प्रणालीका लागि आफ्ना प्रयोगकर्ताको फोन प्रयोगमा लगाएको छैन ।

तर विश्वभरका करोडौँ आईफोनहरूले आफूले प्राप्त गरेको चेतावनीलाई नजिकका अन्य एप्पलका उपकरणमा मोबाइल सिग्नल वा वाइफाइ नभए पनि सङ्केत पठाउन सक्छन् । जसले जीवन बचाउने सूचना पुग्न मद्दत गर्न सक्छ ।