काठमाडौंमा आगामी फेब्रुअरी २१ र २२ तारिखमा पर्यटन मेलाको आयोजना गरिने भएको छ । मेला चीन र भारतको पर्यटक तान्ने उद्धेश्यले आयोजना गर्न लागिएको हो ।
प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)ले नेपालमै पहिलोपटक त्रिपक्षीय पर्यटन मेला आयोजना गर्ने भएको हो । ’नाइस’ नेपाल इन्डिया चाइना एक्स्पो नाम राखिएको मेलामार्फत त्रिपक्षीय फाइदा हुने पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बस्नेतले जानकारी दिए । उनका अनुसार एक्स्पोमार्फत दुईवटा छिमेकी मुलुक (चीन र भारत)का पर्यटक आवागमन वृद्धि हुनेछ ।
भ्रमण वर्ष २०२० को अवसरमा आयोजना गर्न लागिएको एक्स्पोले छिमेकी मुलकसँगै घुमघाममा चासो राख्ने विश्वभरका मुलुकलाई आकर्षित पार्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । ‘नाइस आफैमा राम्रो शब्द छ । यो कार्यक्रममार्फत ठूला र द्रुत गतिमा बजार बढिरहेको चीन र भारतबाट पर्यटकलाई आकर्षित गर्न सकिनेछ ।’ उनले भने, ‘कार्यक्रमलाई प्रभावकारी बनाउृन आवश्यक छ ।’
्रभ्रमण वर्ष २०२०का राष्ट्रिय संयोजक सुरज वैद्यले चीन र भारतबाट नेपाल भ्रमणमा आइरहेका पर्यटकको संख्या बढाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘चीनबाट १४ करोड चिनियाँ र भारतबाट २ करोड ६० लाख भारतीय भ्रमणका लागि विभिन्न देश जान्छन् । ती मुलुकबाट चीनबाट वार्षिक ०.१ प्रतिशत पर्यटक र भारतबाट ०.७५ प्रतिशत पर्यटक नेपाल आइरहेको पाइएको छ,’ उनले भने, ‘पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके त्यसको प्रतिफल हामीले पाउन सक्छौं ।’
प्रतिक्रिया