१ लाख २७ हजार मेट्रिकटन युरिया मल अपुग

१ लाख २७ हजार मेट्रिकटन युरिया मल अपुग


  • छविलाल बगाले

किसानलाई आवश्यक मल उपलब्ध गराउन यस वर्ष पनि सरकार चुकेको छ । यस वर्ष १ लाख २७ हजार मेट्रिकटन युरिया मल अभाव छ । धानबाली लगाउने बेलामा मल नपाएका किसानले गोड्ने समयमा पनि मल नपाउँदा निराश बनेका छन् ।

हरेक वर्ष धानबाली सिजनमा मल अभाव हुँदै आएको छ । विगतका बर्षहरु जस्तै यस वर्ष पनि किसानले समयमा मल पाउन सकेनन् । मल अभावकाबीच धानबाली लगाएका किसानले गोड्ने सिजनमा पनि मल पाउन सकेका छैनन् ।

कृृषि मन्त्रालयको तथ्यांकअनुसार यस वर्ष १ लाख २७ हजार मेट्रिकटन युरिया मल अपुग छ । मन्त्रालय पनि मल अभाव हुनुमा बजेट कै कारण देखाउँछ । मल खरिदका लागि कम बजेट विनियोजन हुनु, समयमै बजेट निकासा नुहुनु र अनुदान बढी हुनुले हरेक बर्ष मलको हाहाकार हुने सरकारी अधिकारीहरु बताउँछन् ।

सरकारले यस वर्ष आवश्यक मल खरिद र गत वर्षको बक्यौता तिर्नका लागि ९ अर्ब १ लाख बजेट विनियोजन गरेको थियो । सरकारले थप माग धान्नका लागि ३ लाख २७ हजार मेट्रिकटन युरिया, डिएभी र पोटास ल्याउन लागेको छ । सधैंका लागि मल अभाव हुनबाट मुक्ति पाउन सरकारले यूरियामा दिएको ६८ प्रतिशत अनुदान घटाउने र मलको मूल्यमा केही प्रतिशत बृद्धि गर्न आवश्यक देख्छन् सरकारी अधिकारी पनि । अहिले तीन तहको सरकार भएकोले सबै तहले बजेटमा मललाई प्राथमिकता राख्दा मात्रै समस्या समाधन हुने कृषि मन्त्रालयका बरिष्ठ कृषि प्रसार अधिकृत नेत्र भण्डारी बताउँछन् ।

सरकारले अहिलेसम्म मुश्किलले मागको ४० प्रतिशत मात्रै मल किसानलाई उपलब्ध गराएको छ । भन्सार नाकामा प्रतिकजी १४ रुपैयाँमा मल आइपुगेपनि किसानको हातमा पुग्दा ४० रुपैया पुगेको छ । यसले मलमा कालोबजारी रहेको प्रष्ट देखाएपनि यसप्रति सरकार भने गम्भिर नबनेको उपभोक्ताकर्मीको गुनासो छ । नेपाललाई कृषिप्रधान मुलुकका नामले चिनाइए पनि आवश्यक मल र विउ उपलब्ध गराउन नसक्नु राज्य र सम्बन्धित निकायको लापरबाही भन्छन विज्ञहरु ।