नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक लाख ४३ हजार ८ सय ५१ सेयर सदस्य पुऱ्याएको छ । यससँगै देशकै सबैभन्दा धेरै सेयर सदस्य भएको सहकारीका रूपमा स्थापित भएको लिमिटेडले जनाएको छ ।
झापाको बिर्तामोड नगरपालिका– २ चारपानेमा मुख्य कार्यालय रहेको सहकारीले अहिले ६५ वटा सेवा केन्द्रमार्फत पूर्वका ६ जिल्लामा सेवा प्रदान गर्दै आएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए । गिरीका अनुसार सहकारीको संस्थागत पुँजी आठ प्रतिशतभन्दा माथि रहेको छ । आठ अर्ब ५६ करोड कुल पुँजी रहेको सहकारीको सेयर पुँजी मात्रै एक अर्ब २४ करोड रुपैयाँ रहेको सहकारीका कार्यकारी निर्देशक गिरीले बताए ।
चार अर्ब ६१ करोड रुपैयाँ बचत रहेको सहकारीले ६ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको बताइएको छ । एक अर्ब १५ करोड रुपैयाँ जगडा तथा अन्य कोषमा रहेको सहकारीमा बाह्य ऋण एक अर्ब ४४ करोड रुपैयाँ रहेको बताइएको छ ।
सेयर सदस्य एक लाख ४३ हजार ८ सय ५१, ६ जिल्लामा ६५ सेवा केन्द्र, कुल पुँजी आठ अर्ब ५६ करोड, ०७५–७६ मा विभिन्न क्षेत्रमा चार करोड ६० लाख पाँच हजार २२५ रुपैयाँ कर तिऱ्यो
सहकारीले आर्थिक वर्ष ०७५–०७६ मा आयकरबापत एक करोड ५९ लाख ८३ हजार २ सय ८३ रुपैयाँ र अन्य विविध कर तीन करोड ६८ हजार ९६८ रुपैयाँ गरी चार करोड ६० लाख पाँच हजार २२५ रुपैयाँ कर तिरेको जनाएको छ ।
सहकारीले अहिले आफ्ना शेयर सदस्यलाई जटिल प्रकारको रोग लागेको खण्डमा निःशुल्क उपचार गर्दै आएको छ भने मधुमेह, ब्लडप्रेसर र थाइराइडजस्ता रोगीलाई जीवन बरदान कार्यक्रममा सहभागी गराई औषधिसमेत वितरण गर्दै आएको छ ।
वि.सं. २०८० भित्र सबै सेयर सदस्यको निःशुल्क उपचार गर्ने लक्ष्य लिएको सहकारीले अहिले जीवन वरदान कार्यक्रम लागू गरेपछि धेरै सेयर सदस्यलाई राहत मिलेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताए । उनले भने, ‘अहिले सहकारीका सेयर सदस्यलाई जटिल प्रकारको रोग लागेको पाइएपछि उसको उपचार निःशुल्क हुन्छ, तर, २०८० देखि जस्तोसुकै रोग लागे पनि सेयर सदस्यको निःशुल्क उपचार गर्ने तयारी गरिरहेका छौँ, यसका लागि विभिन्न अस्पतालसँग सहकार्य भइरहेको छ ।’
प्रतिक्रिया