बोको हराम आक्रमणमा २७ हजारको मृत्यु, २२ हजार बेपत्ता, २० लाख विस्थापित

बोको हराम आक्रमणमा २७ हजारको मृत्यु, २२ हजार बेपत्ता, २० लाख विस्थापित


नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा एक दशकअघि आतंकवादी संगठन बोको हरामले आक्रमण शुरु गरेयता हालसम्म करिब २२ हजार नाइजेरियाली नागरिक बेपत्ता भएका छन् ।

अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आईसीआरसीको रेकर्डमा यति ठूलो संख्यामा बेपत्ता नागरिकको सूची सार्वजनिक भएको यो पहिलो रहेको जनाइएको छ । आईसीआरसीका अध्यक्ष पिटर माउरर हाल पाँचदिवसीय भ्रमणका सिलसिलामा नाइजेरियामा छन् ।

बेपत्ता भएकामा झन्डै ६० प्रतिशत बालबालिका रहेका छन् । माउररले हजारौँ अभिभावक आफ्ना बेपत्ता बालबालिका अझै पनि घर फर्किने प्रतीक्षामा रहेको बताए ।

उनले भने, ‘हरेक अभिभावकको सपना आफ्ना बालबच्चा भेटिऊन् नै भन्ने हो । यो हजारौँ नाइजेरियाली बाबुआमाको दुःखद यथार्थ हो, र उनीहरू निरन्तर आफ्ना बालबच्चाको खोजीमा देखिन्छन् ।’

उनले आफ्ना प्रिय आफन्तबारे थाहा पाउनु जनताको थाहा पाउने अधिकार हो भन्दै पारिवारिक विछोड हुन नदिन सबै पक्षले विशेष ध्यान दिनुपर्ने बताए ।
माउररले नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारी, वरिष्ठ सरकारी अधिकारीहरू, नागरिक समाज र व्यावसायिक नेताहरूसँग पनि भेटघाट गरेका थिए । उनले माइदुरी र मोन्गुनोमा द्वन्द्वका कारण बेपत्ता भएका परिवारका सदस्यहरूसँग पनि कुराकानी गरे । यी दुवै स्थान बोको हरामको बलियो प्रभाव रहेको बोर्नो राज्यमा पर्दछ ।

आईसीआरसीले नाइजेरिया रेडक्रससँग मिलेर बेपत्ता व्यक्तिको खोजीका लागि फोटो र घरदैलो कार्यक्रम गरिरहेको छ । सन् २०१३ देखि हालसम्म आईसीआरसीले ३६७ जनाको समस्या सुल्झाएको छ ।

नाइजेरियाको उत्तरपश्चिमी ठूलो क्षेत्रमा सशस्त्र हिंसाको अवस्था छ, र त्यहाँ कुनै पनि मानवीय संस्थालाई काम गर्न सहज छैन । सरकारी फौज र विद्रोहीबीच भइरहने झडपका कारण यहाँबाट धेरै मानिस अन्यत्र पलायन वा विस्थापित भएका छन् ।

आईसीआरसीका अनुसार यहाँ स्वास्थ्यकर्मीमाथि पनि आक्रमण हुने गरेको छ । एक वर्ष पहिले पनि दुईजना मानवीय सहायताकर्मीलाई विद्रोही बोको हरामले हत्या गरेका थिए । सन् २००९ देखि नाइजेरियामा बोको हरामले सशस्त्र हिंसात्मक आन्दोलन जारी राखेको छ जसका कारण २७ हजारको मृत्यु भइसकेको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् ।