भ्रष्टाचार नियन्त्रणमा नागरिक समाजको भूमिका

भ्रष्टाचार नियन्त्रणमा नागरिक समाजको भूमिका


मुलुकमा भ्रष्टाचारको संस्कार अझै कायमै छ । भ्रष्टाचार नियन्त्रणका लागि सरकारदेखि नागरिक समाजसम्मको प्रयास अपेक्षाकृत प्रभावकारी हुन सकेको छैन । भ्रष्टाचारीहरू समाजमा सहजै चिनिने गरेका भए तापनि उनीहरूलाई समाजले स्थान दिएकै छ । केही चेतनशील र विकासोन्मुख समाजमा भ्रष्टाचारविरुद्धका आवाजहरू उठ्न थालेका छन्, त्यस्ता समाजमा भ्रष्टाचार नियन्त्रणका कार्यक्रमहरू सञ्चालन हुने गरेका पनि छन् । यसबाट भ्रष्टाचारविरुद्ध समाजको अग्रसरता क्रमश: विस्तार हुँदै गएको महसुस गरिएको छ । तर पनि भ्रष्टाचार नियन्त्रणमा समाजका सङ्घसंस्थाहरूको भूमिका अपेक्षाकृत सक्रिय हुन नसकेको यथार्थता पनि कायमै छ । साथै व्यक्ति, परिवार, समाजमा अस्वाभाविक कमाई वा अनैतिक आय आर्जन गरी विलासी र महत्वाकाङ्क्षी जीवन निर्वाह गर्ने कार्यलाई प्रोत्साहन गर्ने प्रवृत्ति पनि कायमै रहेको छ । यस सर्न्दर्भमा समाज परिवर्तनको सोच र योजना लिएर स्थापना भएका सामाजिक संस्थाहरूको भूमिका प्रभावकारी हुनु जरुरी भएको छ ।
भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा व्यक्ति, परिवार, समाज नै सक्रिय हुनु आवश्यक छ । समाजमा भ्रष्टाचार गर्ने कार्यको व्यापक विरोध गर्ने, भ्रष्टाचारीलाई समाजमा स्थान नदिने, भ्रष्टाचारको संस्कार व्यक्ति, परिवार, समाजबाटै निर्मूल गर्ने कार्यलाई प्राथमिकता प्रदान गर्न सकिएको छैन । समाजका चेतनशील, शिक्षित, जनताको प्रतिनिधित्व गर्ने व्यक्तिहरूमै गैरआर्थिक आर्जनतर्फ उन्मुख हुने प्रवृत्ति रहेको पाइन्छ । सरकारी सेवामा कार्यरत कर्मचारीहरू, विकास निर्माणको कार्यमा संलग्न विकासकर्मीहरू, राजनीतिक नेता तथा कार्यकर्ताहरू, सेवा क्षेत्रमा संलग्न व्यवसायीहरूको आ-आफ्नो क्षेत्रको अनैतिक व्यवहार तथा अस्वाभाविक प्रतिस्पर्धाले यस तथ्यलाई पुष्टि गर्छ । अर्थात् समग्रमा भ्रष्टाचारको संस्कार अझै समाजमा कायमै छ । जुन आजको परिवर्तनउन्मुख समाजका लागि चुनौतीपूर्ण सवाल हो ।
समाजमा विद्यमान विकृति नियन्त्रण गर्ने कार्यमा राज्यको प्रयास प्रभावकारी हुन नसक्दा स्वाभाविक रूपमा नागरिक समाजको भूमिका सक्रिय हुने गर्छ । मुलुकका हरेक क्षेत्रहरू केन्द्रीय निकायदेखि स्थानीय निकायसम्म साथै विकसित क्षेत्रदेखि दर्ुगम एवम् ग्रामीण क्षेत्रसम्म भ्रष्टाचारको प्रभाव फरक-फरक रूपमा रहेको पाइएको छ । विगत केही वर्षयता भ्रष्टाचारको विरुद्धमा नागरिक समाजको विरोधको आवाज तथा कार्यक्रमहरू सञ्चालन हुन थालेका छन् । मुलुकको केन्द्रीय स्तर एवम् केही विकसित क्षेत्रहरूमा नागरिक समाजको अवधारणाले व्यापकता पाएको छ । नागरिक समाजको सङ्गठनात्मक इकाइहरूसमेत स्थापित भएका छन् । समाजमा देखिएका विकृतिहरूको नियन्त्रण गर्ने कार्यमा यस्ता निकायहरूको सक्रियता क्रमश: बढेको साथै समाजको उनीहरूप्रतिको आशा र भरोसासमेत वृद्धि हुँदै गएको छ । तर, नागरिक समाजको अवधारणालाई व्यापक रूपमा वृद्धि गर्न नसकेको अवस्था एकातर्फ रहेको छ भने अर्कातर्फ यसको सङ्गठनहरू स्थानीयस्तरसम्म विस्तार गर्ने कार्यमा सहयोग हुन सकेको छैन । राजनीतिक एवम् शासकीय अस्थिरताका सर्न्दर्भमा समाजमा व्याप्त विकृतिहरू नियन्त्रण गर्ने साथै सामाजिक न्यायका कार्यहरूलाई बिथोलिन नदिन नागरिक समाजलाई प्रभावकारी गराउनु मुलुकको वर्तमान जरुरी आवश्यकता हो ।
भ्रष्टाचार नियन्त्रणका कार्यक्रमहरू राज्यका तर्फबाट साथै नागरिक समाज एवम् गैरसरकारी निकायहरूबाट समेत हुने गरेका छन् । समाज अर्थात् नागरिक समाजको सहयोगबिना भ्रष्टाचार नियन्त्रणको प्रयास सफल हुन नसक्ने तथ्यमा द्विविधा छैन । यस सर्न्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नागरिक समाजसँगको सहकार्यबाट यस कार्यलाई प्रभावकारी गराउने नीतिसमेत अवलम्बन गरेको छ । आयोगबाट सञ्चालित कार्यक्रमहरूमध्ये नागरिक समाज तथा गैरसरकारी संस्थाहरूको सहयोग र संलग्नतामा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अभिवृद्धि गर्दै जाने, भ्रष्टाचार र अनियमितताविरुद्ध सामुदायिक शिक्षा तथा जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धिका लागि प्रचार-प्रसारलाई क्रमिक रूपमा विस्तार गर्दै जाने, भ्रष्टाचारविरोधी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध र सर्म्पर्कको विकास र विस्तार गर्ने, स्थानीय निकायहरूमार्फत भ्रष्टाचारविरुद्धको कार्यक्रमलाई गाउँघरसम्म पुर्‍याउनेजस्ता प्रवर्द्धनात्मक कार्यहरू नागरिक समाज एवम् सामाजिक संस्थाहरूलाई भ्रष्टाचार नियन्त्रणतर्फ उन्मुख गराउने प्रमुख आधारहरू हुन् । यस्ता कार्यक्रमहरूको जानकारी एवम् कार्यक्रम सञ्चालनमा स्थानीय जनसमुदायको सहभागिता यसमा अपरिहार्य भएको हुन्छ ।
सामाजिक विकृति एवम् अपराधहरूको नियन्त्रणमा नागरिक समाज वा समाजका सङ्घसंस्थाहरूको प्रयास छिटो प्रभावकारी हुन सक्छ । सामाजिक अपराधका रूपमा रहेको भ्रष्टाचारको कारण यसको प्रभाव, भ्रष्टाचारीका गतिविधिहरू, भ्रष्टाचारीहरूको पहिचान, भ्रष्टाचारको सबुद प्रमाणहरूलगायतका विषयमा नागरिक समाजसँग प्रभावकारी सूचनाहरू हुन सक्छन् । स्थानीयस्तरमा हुने विकास निर्माणका साथै सामाजिक विकासका कार्यक्रमहरूमा नागरिक समाजका सदस्यहरू प्रत्यक्ष रूपमा सहभागी भई निगरानी गर्नसक्ने अवस्था एकातर्फ रहेको छ भने अर्कातर्फ अप्रत्यक्ष रूपमा समाजमा हुने कुनै पनि गतिविधिको निगरानी वा चियोचर्चो गरी गैरकानुनी कार्यहरूलाई समाजमा प्रचारप्रसार गरी यस्ता कार्यलाई तुरुन्त नियन्त्रण गर्न सकिने हुन्छ । यसका लागि नागरिक समाजको अवधारणा, सङ्गठनात्मक सञ्जाल, नागरिक समाजमा काम गर्ने व्यक्ति, समूहहरूको सक्रियता जरुरी भएको हुन्छ ।
भ्रष्टाचार सङ्गठित र जटिल भएका सर्न्दर्भमा नागरिक समाजलाई भ्रष्टाचार नियन्त्रणको कार्यमा मुख्य साझेदारका रूपमा विकास गर्नु अपरिहार्य भएको छ । समाजबाट अझै भ्रष्टाचारको संस्कार बाहिरिन सकेको छैन । समाजमा भ्रष्टाचारीलाई इज्जत, प्रतिष्ठा, स्थान कायमै छ । भ्रष्टाचारको कमाइलाई केही सामाजिक कार्यहरूमा लगाई चोखो हुने, भ्रष्टाचारको धब्बालाई छोप्ने प्रयासहरू भएका छन्, राजनीतिक एवम् विकासकर्मीहरूसमेत विकास निर्माणबाट कमिशन लिने कार्यमा प्रतिस्पर्धा गरिरहेका छन्, राजनीतिक दलका सहयोगी व्यक्तिका रूपमा भ्रष्टाचारीहरूले आफूलाई चिनाउने प्रयास गरेकाका छन्, यस सर्न्दर्भमा नागरिक समाजको अवधारणालाई विस्तार गरी यसको सञ्जाललाई देशव्यापी रूपमा फिँजाई भ्रष्टाचारको नियन्त्रण गर्ने प्रयास गरिनु अत्यावश्यक छ ।
नागरिक समाजको सङ्गठनात्मक विस्तार गरी देशव्यापी रूपमा सक्षम र सुदृढ सञ्जालको विकास गर्ने कार्यमा सरकार तथा गैरसरकारी संस्थाहरूले पर्याप्त सहयोगका कार्यक्रमहरू ल्याउनुपर्छ । सरकारले नागरिक समाजअन्तर्गत जिल्ला तथा गाविसस्तरमा भ्रष्टाचार विरोध इकाइ खडा गर्ने र यस्ता इकाइमा सहयोग गर्नका लागि स्थानीय पत्रकार, युवा संस्थाहरूका सदस्यहरूलाई सहभागी गराउने कार्य गर्न सक्छ । भ्रष्टाचार हुन सक्ने क्षेत्रहरू, भ्रष्टाचारका शैलीहरू, भ्रष्टाचारमा संलग्न व्यक्तिहरू, नैतिक शिक्षा, जनताले पाउनुपर्ने सेवा त्यस्ता सेवा उपलब्ध गराउन निर्धारण गरिएका कानुनी तथा प्रक्रियागत व्यवस्थाहरू, उजुरीका क्षेत्र तथा तौरतरिका, भ्रष्टाचारका विरुद्धमा हुने कारबाहीका विषयमा जानकारी गराउने कार्यमा भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायहरूबाट सहजकर्ताको भूमिका निर्वाह गर्नु आवश्यक छ । सामाजिक सुधारमा लागेका गैरसरकारी संस्थाहरूले नागरिक समाजका सदस्यहरूको क्षमता विकास एवम् सङ्गठनात्मक सुदृढीकरणका क्षेत्रमा सहकार्य गर्नु आवश्यक छ । यसबाट नागरिक समाजको क्षमता तथा भूमिकामा सुधार भई भ्रष्टाचार नियन्त्रणमा प्रत्यक्ष टेवा पुग्ने तथ्यमा विश्वस्त हुन सकिन्छ ।
(उपसचिव, शान्ति तथा पुनर्निर्माण मन्त्रालय)