कुल मागको ६० प्रतिशत काठ विदेशबाट आयात

कुल मागको ६० प्रतिशत काठ विदेशबाट आयात


  • छविलाल बगाले

आन्तरिक माग धान्ने काठ मुलुकभित्रै भएपनि व्यवस्थापन अभावका कारण बर्षेनी आयात गर्नुपरेको छ । ‘हरियो वन नेपालको धन’ भन्ने गरेपनि बर्षेनी नेपालले विदेशबाट २० अर्बको काठ र काठका तयारी सामान आयात गर्दै आएको छ । विद्यमान व्यापार घाटाकम गर्न सरकार सरकार नेपाली उत्पादनमैत्री हुन आवश्यक छ ।

नेपालमा कुल मागको ६० प्रतिशत काठ विदेशबाट आयात हुँदै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक बर्ष २०७५/७६ मा २० अर्बको काठ र फर्निचरका तयारी सामान आयात भएको छ । नेपलामा बिशेषगरी भारत, चीन, भुटान, मलेसिया, थाइलैण्ड लगायतका मुलुकबाट काठ आयात भएको तथ्याँंक भन्सार विभागसँग छ । काठको आयात बढेकोप्रति नेपाल फर्निचर तथा फर्निसिङका अध्यक्ष रुपेश प्रधानले गुनासो गरे ।

त्यसो त नेपालमा सामुदायिक वनको संख्या २२ हजार २ सय ६६ छ । अर्थात २२ लाख ३७ हजार ६ सय ७० हेक्टर जमिन सामुदायिक बनले ओगटेको छ । मुलुकभित्रैको काठले माग धान्ने भएपनि सरकारी झन्झटका कारण बर्षेनी काठ आयातमा ठूलो रकम विदेश पठाउनुपरेको छ ।

विगत १० बर्षयता नेपालमा फर्निचरका सामान उपभोगमा १५ प्रतिशतले बृद्धि भएको छ । उपभोक्ताको रोजाईमा पनि स्वदेशीभन्दा विदेशी सामान परेकोले चूनौती थपिएको स्वदेशी उद्योगीको गुनासो छ । उनिहरु स्वदेशीको तुलनामा विदेशी सामान कच्चा हुने भन्दै ठाडै प्रतिकार गर्छन् ।
उपभोक्ता पनि नेपाली उत्पादनलाई जोड दिनुपर्ने बताउँछन् । बाँस र काठलाई नयाँ डिजाइनका साथ बजारमा ल्याउन व्यवसायीलाई सुझाव दिन्छन् ।

भृकुटीमण्डमा जारी सातौं फर्निचर तथा फर्निसिङ प्रदर्शनीमा उपभोक्ताहरुको रोजाईमा पनि स्वदेशी काठ र तिनबाट बनेका सामाग्री परेको छ । सरकारले उद्योग स्थापना र नेपाली काठ खरिदमा सहज वातावरण बनाए विदेशीने रकम रोकिने जानकारहरु सुझाव दिन्छन् ।