कपुरी क र कविताको क्याराभान -दीपकमणी ‘दाजुभाइ’

कपुरी क र कविताको क्याराभान -दीपकमणी ‘दाजुभाइ’


त्यतिखेर तेह्रथुम क्याम्पसको भवन बनेको थिएन । उनी भुइँभरि कपुरी क लेख्दै हिँड्थिन् । जहाँ अहिले तेह्रथुम क्याम्पसको भवन छ, त्यहीँको भुइँभरि उनले दर्जनौँपटक क लेखेकी छिन् ।
पिता हरिचरण सिटौलाको सपना नै थियो ? तेह्रथुम क्याम्पसको भवन निर्माण गर्ने । उनी सानै थिइन् र पिताजीसँग भवन निर्माणस्थल चुहानडाँडा जान्थिन् । पिताजीले नै सिकाएका थिए उनलाई क लेख्न । उनी भुइँमा, भित्तामा र कागजमा कपुरी क लेख्थिन्, पटक – पटक । पिताजीलाई खुसी जो पार्नु थियो ।
कतिसम्म भने चुहानडाँडास्थित तेह्रथुम क्याम्पसबाट देखिने कञ्चनजङ्घा र कुम्भकर्ण हिमालमा पनि उनी ककै आकार देख्थिन् । त्यही क जसलाई उनले पटक ? पटक भुइँमा र भित्तामा लेख्दै आएकी थिइन् । बाल्यकालमा उनको साथी भनेकै देवनागरिक वर्णमाला थिए । अक्षरहरूसँग उनी रमाउँथिन् । अक्षरहरूबाट नै उनको दिन सुरु हुन्थ्यो । अक्षरहरूसँग खेलेर नै दिन बित्दथ्यो । र, अक्षरहरूसँगै निदाउँथिन् उनी । उनको घर पनि आफैंमा एउटा पुस्तकालयजस्तो थियो । पिताजीको भाषा, शिक्षा र साहित्यप्रतिको प्रेमले घर पुस्तकालय बनेको थियो । प्रशस्त किताबहरू भएको । घरको पढ्ने वातावरण र उनीभित्र मौलाएको पढ्ने चाह । दुवैले उनलाई पढाइतिर अग्रसर बनायो । जीवनको सफलता पढ्नुमा छ । जीवनको सौर्न्दर्य शिक्षामा छ । र, जीवनको प्राप्ति अध्ययनमा छ भन्ने उनलाई बाल्यकालमा नै थाहा भयो ।
चुहानडाँडाको बलौटे माटोबाट सुरु भएको उनको अक्षर लेख्ने क्रम अहिले पनि जारी छ । उनी पहिले साँवा अक्षर लेख्थिन् । अक्षरहरूको चित्र बनाउँथिन् । अहिले अक्षरहरूको क्याराभान लेख्छिन् । जीवनसँग जोडिएका कविता लेख्छिन् ।
सन्दर्भ हो लेखिका विजयाश्री र उनको कृति बरदानका अनुभूतिको । विजयाश्रीको बरदानका अनुभूति पहिलो कवितासङ्ग्रह हो । यसभित्र फरक -फरक समयमा लेखिएका ५२ वटा कविता रहेका छन् ।
बाल्यकालमा पिताजीलाई खुसी पार्न कपुरी कबाट सुरु भएको विजयाश्रीका कवितायात्रा अहिले कवितासम्म पुगेको छ । कदेखि कवितासम्मको उनको यात्रा रोमाञ्चक रहेको छ । यसबीचमा उनको उमेर मात्र बढेन । पारिवारिक र सामाजिक जिम्मेवारी र दायित्वहरू पनि बढे । शिक्षा र हैसियतहरू बढे । भोगाइ र अनुभूतिहरू बढे । टिनएजमा हावाले छोइँदा पनि रोमाञ्चित हुने उमेरबाट सुरु भएको उनको कविता अहिले बौद्धिकता र दर्शनको उपल्लो स्थानमा पुगेको छ । विजयाका कविता बौद्धिक कविता हुन् । उनका कविता भोगाइ र अध्ययनको मिश्रण हुन् । उनका कवितामा नपत्याउँदो किसिमले दर्शनसँग आत्मसात् गर्न पाइन्छ ।
हरेक साँझ
गोधूलिमा डुब्ने घामले
भोलि फेरि
नयाँ सूर्योदय जन्माउँछ ।
(सङ्कल्पका यात्राहरू पेज नं. १०३)
विजया सरल कविता लेख्छिन् । उनका कविता पढ्न र बुझ्न सजिला छन् । कवितामा भयङ्कर र नबुझिने ठूला ? ठूला शब्दहरू छैनन् । कठिन र दुईअर्थी शब्दहरू पनि छैनन् । छोटा र सहज उनका कविताले मानिसका सपना र प्रेमका कुरा गरेका छन् । अपूरो सपना, दुःखी दिनहरूका कुरा गरेका छन् । खेती ? किसानी गरिरहेका ग्रामीण मानिस होस् या सहर ? बजारमा डोकोभरि तरकारी बोकेर बेच्न हिँड्ने महिलाहरू ? सबैलाई उनले कवितामा लिएर आएकी छिन् । त्यतिमात्र होइन, उनले कवितामा त्रिभुवन विश्वविद्यालयलाई पनि उभ्याएकी छिन् । अन्नपूर्ण अस्पतालको शब्द चित्र पनि कोरेकी छिन् ।
महिलाको प्रेम र सपना विजयाको मुख्य विषय हो । उनका कवितामा प्रेम, ममता र वात्सल्य छताछुल्ल भेटिन्छ । विजयाको कवितामा उनैले भोगेका अनुभूतिहरू नै छन् । आफूले देखेको भोगेको सहर बजार, गाउँ पहाड, आफूले चिनेका भेटेका मानिस, आफूले छोएका भोगेका सन्दर्भ ? विजयका कविताका आधारभूमि हुन् । उनी कवितामा अनावश्यक कल्पना सजाउँदिनन् । जे देखिन्छ त्यही लेख्छिन् । कविता भनेको अनुभूतिलाई अभिव्यक्ति गर्ने विशिष्ट माध्यम पनि हो । यो कुरा विजयालाई थाहा छ । त्यही भएर उनी आफू र आफ्नो परिवेशभन्दा पर छैनन् । उनलाई आफूभन्दा पर जानु पनि छैन । साहित्य वा कविताका नाममा कल्पना मात्र लेख्नु उचित पनि होइन । उनी कल्पनाकी कवि होइनन्, भोगाइ र अनुभूतिकी कवि हुन् । उनका कविता आममानिसका भोगाइ नै हुन् । आममानिसका सपना र सन्दर्भ नै हुन् । आफ्ना अनुभूतिहरूबाट उनी कविता लेख्छिन् र आमपाठकलाई हस्तान्तरण गर्छिन् । उनका कविता त्यसैले पनि प्रिय छन् । पढिरहन मन लाग्ने छन् । पढिसकेपछि एउटा दृश्य बन्छ मनमा । र, त्यो दृश्य लामो समयसम्म मनमा रहिरहन्छ । विजयाको कविता लेखनको सफलता पनि यही हो ।
उस्तै थिए कलिलो दिमागमा
रोपिएका आश्वासन र सपनाहरू
ओखलढुङ्गा, जुम्ला या जाजरकोट
भोजपुर, नुवाकोट या बाराबाट
तानिएका हामी
उस्तै थियौं ।
(साझा भोगाइ पेज नं. २६)
विजया पेसाले वनस्पतिविज्ञ हुन् । उनी वनस्पति विज्ञान कलेजमा पढाउँछिन् । उनी वनस्पति विज्ञानको शिक्षण, खोज र अनुसन्धानमा व्यस्त छिन् । भिन्न क्षेत्र र पेसामा रहेर पनि भाषा ? साहित्यप्रति उनको सद्भाव प्रशंसायोग्य छ । यसरी भिन्न क्षेत्र र पेसामा आबद्ध मानिस साहित्यमा प्रवेश गर्‍यो भने साहित्यको क्षमता र क्षेत्र अझ विस्तारित हुन्छ भन्ने हाम्रो ठम्याइ छ ।
विजयाश्रीको बरदानका अनुभूति मीठा र सरल कविताको सङ्ग्रह हो । तर, विजयाको कविता अब्बल कविता भने होइनन् । यस सङ्ग्रहभित्र विजयाका सीमाहरू छन् । त्यसो त सबैको आ ? आफ्नै सीमा हुन्छ । बरदानका अनुभूतिलाई अझ राम्रो बनाउन सकिने ठाउँहरू प्रशस्तै थिए । कवितालाई पुनर्लेखन गरिएको छैन । राम्रो सम्पादकलाई दिएर अझ प्रभावकारी बनाउन खोजिएको छैन । त्यसो गरेको भए कविता अझ सुन्दर र शक्तिशाली हुन सक्थ्यो । र पनि सामान्य र सरल रूपमा बरदानका अनुभूति जसरी निक्लिएको छ यो आफैंमा सुन्दर र रमाइलो कुरा हो ।