कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट

कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट


नेत्रविक्रम चन्द विप्लव समूहले गएराति अछामको कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए । तार जोडेर करिब सय मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ । प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ । नगरपालिका कार्यालयको ढोकानजिक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताए ।

यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउदलाई लक्ष्य गरी उनको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो । नगरपालिका कार्यालयमै बम विस्फोट भएपछि कर्मचारी त्रसित बनेका छन् ।