सहकारी प्रकरणले अधोगति लागेको रास्वपाको राजनीति

सहकारी प्रकरणले अधोगति लागेको रास्वपाको राजनीति


अस्वाभाविक तामझामका साथ गृहप्रशासन पूरै परिचालन गरेर इलाम क्षेत्र नम्बर २ को निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी टिठलाग्दो किसिमले चिप्लिएको छ । यही वैशाख १५ गते भएको उपनिर्वाचनमा आफ्नो पार्टीका उमेद्वारलाई ‘जसरी पनि’ जिताउन हरदम प्रयासमात्र भएन, रास्वपा भन्ने पार्टीका केन्द्रीय तहका अधिकांश नेता इलामका गाउँ-गाउँ परिचालित भए । तर, नतीजा भने सोचेभन्दा ठ्याक्कै उल्टो आयो । अन्ततः इलाम क्षेत्र नम्बर २ मा रास्वपाले जमानतसमेत जोगाउन सकेन र, लज्जास्पद हार भयो ।

यस्तो परिणाम आउनुको मुख्य कारण हो- रास्वपाका सभापति रवि लामिछाने ! उनका पटक-पटकका अनेकथरि कर्तुतका कारण नेपाली जनताले अब रास्वपाप्रतिको धारणा परिवर्तन गर्न थालेको इलामको निर्वाचनबाट पुष्टि हुन्छ । दोहोरो राहदानी र नागरिकताको प्रकरण सेलाउन नपाउँदै सहकारी ठगी प्रकरणले अहिले चरम चर्चा पाइरहेको छ । उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले आफ्ना साझेदार जिबी राईको संरक्षण गरेको आरोप त छँदैछ, जनताले रगतपसिना बगाएर आर्जन गरी सहकारीमा जम्मा गरेको २ करोडबढी रकम उनले झ्वाम पारेको भन्दै उजुरीहरु परिरहेका छन् । तर, गृह प्रशासन, प्रहरी उनीमातहत नै रहेकोले अहिलेसम्म आफूले खाएको रकम तिर्न र कारवाहीको भागिदार हुनबाट बच्दै आएको सर्वविदित नै छ ।

साउने भेलको रुपमा स्थापना र उदय भएको रास्वपा भन्ने पार्टीको अधोगति इलाम क्षेत्र २ को निर्वाचनबाट सुरु भएको मान्न सकिन्छ । निर्वाचन जित्न अतिरञ्जना र भ्रम अनि अस्वाभाविक आत्मविश्वासका साथ होमिएको यो पार्टीले जमानत नै जोगाउन नसकेपछि अब यसको भविष्य सायद पूर्वमा खोज्न आवश्यक देखिन्न । अर्थात्, पूर्वमा रास्वपाले कुनै पनि निर्वाचन क्षेत्रमा निर्वाचन जित्ने अवस्था अहिलेको समयमा देखिन्न ।

पार्टी सभापति नै उपप्रधान तथा गृहमन्त्री हुनुको दम्भले तस्करहरुको संरक्षणमा लागेर हुण्डी, नक्कली नोटको कारोबार रोक्ने काविल प्रहरी अधिकृतहरूलाई छानी-छानी समय नपुग्दै सरुवा गरिरहेका छन् । तराईका ६ जिल्ला, सिन्धुली, काठमाडौं र अपराध अनुसन्धान कार्यालयका एसपीदेखि एसएसपीसम्मलाई एक वर्ष नपुग्दै सरुवा गरेर तस्करसित साँठगाँठ गरेको धेरै प्रहरीको बुझाइ छ । इलामको निर्वाचन परिणामका लागि यो पनि एक मुख्य कारण भएको देखिन्छ ।

१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको निर्वाचन क्षेत्रमा जम्मा ५ हजार ५० मत ल्याउनु भनेको रास्वपाको पतन नै भएको इलाममात्र होइन राजधानीमा बसेर राजनीतिलाई नजिकबाट हेरिरहेका जानकारहरुको बुझाइ छ । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेदेखि अन्य केही केन्द्रीय नेताहरुलाई अहिले रविका तिकडम र छलकपटको ढाकछोप गर्न समस्या भइरहेको छ । यस्तो अवस्थामा पार्टीले जनताको मन जित्नु भन्दा जनताबाट नाङ्गिँदै जाने प्रष्ट छ ।

तनहुँमा भएको उपनिर्वाचनमा स्वर्णिम वाग्लेले जित्दा हौसिएको रास्वपा अब मिसन २०८४ सम्म पुग्दा २/४ सिटमा सीमित नहोला भन्न सकिन्न । यसको सबै जिम्मा सभापति लामिछानेले लिनैपर्छ र, त्यसपछि भने उनी राजनीति बाई..बाई.. भन्दै पुनः टेलिभिजन प्रस्तोता भएर आउने सम्भावनालाई इन्कार गर्न सकिन्न ।