थोमस कुक टाट पल्टिँदा २१ हजार कर्मचारी बेरोजगार

थोमस कुक टाट पल्टिँदा २१ हजार कर्मचारी बेरोजगार


बेलायतको पुरानो टुर कम्पनी थोमस कुकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ । कम्पनीले विश्वभर गरेका ६ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ । बेलायत सरकारले हाल विदेशमा यात्रारत एक लाख ५० हजार बेलायती नागरिकलाई कम्पनीको निर्णयले असर पर्ने बताएको छ ।

बेलायती नागरिक उड्डयन प्राधिकरणले थोमस कुकले आफ्नो व्यवसाय रोकेको जनाएको छ । यस कम्पनीका चारवटा विमान ग्राउन्डेड गरिएका छन् । विश्वका १६ वटा मुलुकमा रहेका २१ हजार कर्मचारीको जागिर पनि समाप्त भएको छ जसमा नौ हजार बेलायती नागरिक छन् ।

ब्रेक्जिटको अन्योलसँगै कम्पनीले केही महिनाअघि नै बुकिङमा कमी आएको बताउँदै आएको थियो । कम्पनीमाथि ऋणको बोझ निरन्तर थपिँदै गएपछि कम्पनी नै धराशायी भएको हो ।

बेलायतको यो १७८ वर्ष पुरानो कम्पनीले आफ्नो साख जोगाउन २५ करोड अमेरिकी डलर ऋण खोजिरहेको थियो । कम्पनीले आफ्ना सेयरहोल्डर र लगानीकर्तासँग पनि यसबारेमा परामर्श गरेको थियो । थोमस कुकका विश्वभर ६ सयको हाराहारीमा ट्राभल स्टोर रहेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी पिटर फ्यान्काउजरले कम्पनीको इतिहासमा यो निकै उदास र दुःखद क्षण रहेको बताउँदै यस कम्पनीले बेलायतीसमेतका लाखौँ व्यक्तिको यात्रालाई सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले जारी गरेको विज्ञप्तिमा कम्पनीलाई विश्वास गर्ने लाखौँ उपभोक्ता र हजारौँ कर्मचारीसँग आफूले व्यक्तिगत रूपमा क्षमा माग्न चाहेको उल्लेख गरेका छन् ।

कम्पनीको सेवा लिएका तर विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि बेलायती नागरिक उड्डयन प्राधिकरणले विशेष व्यवस्था गर्न लागेको जनाएको छ । बेलायती यातायातमन्त्री ग्रान्ट श्याम्प्सले आफ्ना नागरिकको सहज उद्धारका लागि दर्जनौँ चार्टर विमानको व्यवस्था गरिएको जानकारी दिए । यी चार्टर विमानले मलेसियासम्म पुगेर अलपत्र बेलायतीलाई निःशुल्क बेलायत ल्याउने उनको भनाइ छ ।

थोमस कुकका कर्मचारीसँग सम्बन्धित युनियनले बेलायत सरकारसमक्ष थोमस कुकका कारण बेरोजगार भएका व्यक्तिबारे सोच्न र उपयुक्त निकास निकाल्न अनुरोध गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कम्पनी जोगाउने नाममा सरकारले लगानी गर्न नसक्ने बताउँदै यस प्रवृत्तिले टाट पल्टिन लागेका कम्पनी सरकारमाथि बढी आश्रित हुने खतरा हुने बताए ।

rss