ज्येष्ठ नागरिकलाई श्री एयरलाइन्सको ५० प्रतिशत छुट

ज्येष्ठ नागरिकलाई श्री एयरलाइन्सको ५० प्रतिशत छुट


निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दशैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा छुट दिने घोषणा गरेको हो ।

घटस्थापनादेखि लागू हुनेगरी कम्पनीले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय गरिएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । सो छुट रकम इन्धन र ट्याक्सबाहेकको हो । त्यस्तै ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले रु. ५०० मात्रै तिरेर श्री एयरलाइन्सको जहाज चड्न पाउने कम्पनीले जनाएको छ ।

छुटको टिकट लिनका लागि ज्येष्ठ नागरिकले नागरिकता वा उमेर खुल्ने परिचयपत्र पेस गर्नुपर्नेछ । बिक्री काउन्टर वा एयरलाइन्सको एप वा वेबसाइटबाट टिकट लिएकाले यो सुविधा पाउने जनाइएको छ । एउटा उडानमा अधिकतम दुईजनाले मात्रै सो सुविधा पाउने कम्पनीले स्पष्ट पारेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो वर्ष दिनको कार्ययोजनामा ७० वर्षभन्दा माथिका नागरिकलाई ५० प्रतिशत छुटको घोषणा गरेका थिए । त्यसको कार्यान्वयनका रूपमा पहिलोपटक राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले केही दिनअघि विज्ञप्ति निकालेर ५० प्रतिशत छुटको घोषणा गरेको थियो ।

निजी क्षेत्रकोतर्फबाट श्री एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि छुटको अफर ल्याएको हो । श्री एयरलाइन्ससँग चारवटा सीआरजे २०० र दुई सीआरजे ७०० जहाज छन् । आन्तरिक उडानमा चार (दुई सीचारजे २०० र दुई सीआरजे ७००) जहाजले छ गन्तव्य चन्द्रगढी, विराटनगर, राजविराज, भैरहवा, नेपालगञ्ज र धनगढी उडान भर्दै आएको छ ।

रासस