१३औँ सागको लागि चुनौती बन्दै ‘समय’

१३औँ सागको लागि चुनौती बन्दै ‘समय’


■ श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले ‘बेहुला’विनाको विवाह हुन नसक्ने बताएका छन् । नेपालमा मंसिर १५ गतेदेखि आयोजना हुन गैरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सन्दर्भमा सिलवालले यस्तो धारणा प्रकट गरेका हुन् ।

‘१३औँ सागको मेरुडण्ड भनेको दशरथ रङ्गशाला हो, यदि तोकिएको समयमा दशरथ रङ्गशालाले पूर्णता पाएन भने साग हुँदैन’, सिलवालले भने । रङ्गशाला तयार नभए अन्य तयारीको काम छैन्, किनकि ती गौण हुन् । तसर्थ विवाहचाहिँ गर्ने भन्ने बेहुला–बेहुली नभए कसरी गर्ने ? यो प्रश्न अहिले दशरथ रङ्गशालाले उठाइरहेको सिलवालको स्पष्टता थियो ।

बजेटको कुनै चिन्ता छैन, तर समय कम छ । यतिबेला समय नै १३औँ सागको प्रमुख चुनौती बनेको छ । हामीले दशरथ रङ्गशालाको निर्माण कार्य कार्तिक १५ गतेसम्म सक्ने योजना बनाएका छौँ । त्यसको लागि युद्धस्तरमा कार्य भैरहेको छ । यदि कार्तिक १५ गतेको डेटलाइनमा दशरथ रङ्गशालाले पूर्णता पाएन भने मंसिर १ गते बाटो म्याद हो । यसको अर्थ मंसिर १ गते जसरी भए पनि रङ्गशाला तयार हुनुपर्छ । यो भन्दा माथिको समय हामीसंग छैन । यदि निर्माणको कार्य यो समयभन्दा पनि माथि लम्बियो भने १३औँ गर्न सकिँदैन– सिलवालले खुलस्त बताए ।

डेटलाइनको समय अब मात्र ३७ दिन बाँकी छ । यतिबेला दशरथ रङ्गशालाको निर्माणको कार्य द्रुतगतिमा भैरहे पनि पूर्णता पाउन सकेको छैन । पश्चिमतर्फको भिआईपी प्यारापीट निर्माण सोचेजस्तै गरी अगाडि बढ्न सकेको छैन । झ्वाट्ट हेर्दा हिजो जस्तो थियो अहिले पनि त्यस्तै छ । फलामको पोल नेपाल भित्रिए पनि प्राविधिक कारणले ठडिन सकेका छैनन् । त्यसमाथि छाउनुपर्ने छानो अहिलेसम्म नेपाल भित्रिएको छैन । त्यस्तै, रङ्गशालामा बिच्छाउनुपर्ने सिट पनि नेपाल आइपुगेको छैन । सदस्यसचिव सिलवालले चीन भ्रमण गरेको तीन साता बितिसकेको छ, तर चीनवाट नेपाल आउनुपर्ने ती सामग्री कहिले आउने हुन् त्यसको टुङ्गो छैन । यता मुलुकलाई ठूला चाडपर्वले छपक्कै छोपेको बेलामा ती सामग्री आए पनि सोचेबमोजिम कार्य होला भन्न सकिँदैन ।

यस्तो विषम परिस्थितिमा पनि सदस्यसचिव सिलवालले दशरथ रङ्गशाला समयमै तयार हुने बताएका छन् ।

‘चिन्ता लिनु पर्दैन, हिजो पोखराका र सातादोवाटोका भौतिक पूर्वाद्धारको वारेमा पनि प्रश्न उठाइएको थियो । तर अहिले ति पूर्वाद्धारको निर्माणमा भएको सुधारले सबैको मुख बन्द भएको छ । ती सबै पूर्वाधार कार्तिक १५ गतेभित्र तयार हुन्छन् र दशरथ रङ्गशालामा पनि यसरी नै तयार हुन्छ ढुक्क हुनुहोस्’, सिलवालले भने ।

‘अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दा कम्तीमा पनि ६ महिनाअघि पूर्वाधारको निर्माण सम्पन्न हुनुपर्छ । विभिन्न आन्तरिक र प्राविधिक कारणले नेपाल यो नियममा खरो उत्रिन सकेन, यो सत्य हो । तर हामी प्रयासरत छौं, त्यसमा सफलता मिल्ने कुरामा म विश्वस्त छु’, सिलवालले दावी गरे ।

यतिबेला सबै कुरा मिलेर आएको छ, तयारीमा कुनै कमी–कमजोरी छैन, तर समय मात्र हामीसँग थोरै छ । यो समयलाई कसरी सदुपयोग गर्ने र लक्ष्य साँध्ने त्यो नै मेरो चुनौती बनेको छ । म हिजो राखेपको सदस्यसचिव भएर आउँदा खेलकुदको स्थिति कस्तो थियो र आज कस्तो छ, त्यो सबैका अघिल्तिर छर्लङ्ग छ । म काममा विश्वास गर्ने मान्छे, काम गरेर देखाउन चाहन्छु त्यो पनि मौनता साँधेर । १३औँ सागको आयोजनाको बारेमा सकारात्मक भन्दा नकारात्मक चर्चा छ यतिबेला । खेलकुदका कर्मचारीदेखि पदाधिकारीहरु १३औँ सागको बारेमा ढुक्क हुनसकेका छैनन् । यसको कारण हो– ‘दशरथ रङ्गशाला ।’ तर यसकै कारणचाहिँ म कत्ति विचलित भएको छैन, उल्टै चुनौती र अवसरको रुपमा लिएको छु । प्रतीक्षा गर्नुहोस्, १३औँ सागको उद्घाटन निर्धारित मितिमै दशरथ रंगशालामा हुन्छ, म ठोकुवा गर्छु– सिलवालले भने ।