अमेरिकाको सुख र स्वदेशको प्रेम

अमेरिकाको सुख र स्वदेशको प्रेम


  • वसन्तराज कुँवर

अमेरिकाको लसएन्जलस विमानस्थलमा हङकङ जाने हवाईजहाज कुर्दै गर्दा म यो लेख लेख्दै थिएँ र लेख्दालेख्दै एकक्षण म रोकिएँ । जतिबेला म प्रहरीमा थिएँ, माओवादी युद्धका समयमा मेरो घरमा बम विस्फोट गराइयो र एक मात्र छोराको सुरक्षाको लागि हामी १७ वर्षको उमेरमै उसलाई अमेरिका पठाउन विवश भयौँ । त्यही छोरासँग अमेरिकाको केन्टकी राज्यमा बिताएर सो दिन म फर्कंदै थिएँ । उसलाई टाढाको त्यो देशमा एक्लै छोडेर फर्किनुपर्दा म वास्तवमै दुःखी थिएँ ।

मैले सम्झना गरेँ कि १७ वर्षमा अमेरिका पुगेको अभयको जीवनमा कैयन दुःख आइपरेको अभिभावकको नाताले हामीले सुन्नुपरेको थियो । उसले आफ्नो पढाइको खर्च जुटाउन ओसनपार्क भन्ने स्थानतर्फ काममा जाँदा एउटै कोठामा १० जना सुत्ने गरेको र पल्टिने स्थान पाउन पनि कुन साथी कतिबेला राति काममा जान्छ र म सुतौँला भन्दै कुर्नुपरेको सत्यकथा उसले हाँसी ? हाँसी सुनाउँदा हामीलाई भने चरम पीडा हुने गर्दथ्यो । उसले पेट्रोलपम्पमा काम गर्दा अफ्रिकी मुलुकको मान्छेले पेस्तोल तेर्स्याई लुट्न खोजेको घटना सुनाउँदा हामी तर्सन्थ्यौँ । उसले रायोको सागका तरकारी खान चाहेको कुरा टेलिफोनमा भन्दा हामी मर्माहत हुन्थ्यौँ । अहिले मैले उसलाई त्यहाँ देख्दा उसको जीवन व्यवस्थित र सुखी नै पाएँ, तर मलाई चिसो कहाँ पर्‍यो भने अब उसले नेपालको घरलाई क्रमशः बिर्संदै आफूले जोडेको अमेरिकाको घरलाई नै आफ्नो घर ठान्न सुरु गरेको रहेछ । हामीले त्यहाँको घरलाई उसले आफ्नो घर मानोस् भन्ने चाहना राखेका थिएनौँ । के गर्ने सशस्त्र युद्धले यो परिस्थिति हाम्रो जीवनमा ल्याएको थियो । यही प्रसङ्ग लेख्ने क्रममा म एकछिन रोकिएको थिएँ ।

छोरासँग मैले त्यहाँ केही दिन बिताएँ । झन्डै तीन वर्षपछि हामीले यसरी केही दिन सँगै बिताएका थियौँ । अभयको जीवन अहिले राम्रोसँग चलेको रहेछ । उसको कमाइ पनि राम्रो रहेछ । उसले मलाई आफूले किनेको महङ्गो गाडी पनि चढायो । उसले गरेका व्यापारका विस्तार देखायो । साथीहरूलाई मेरो ड्याड भनेर चिनायो । जति ? जति ऊ आफ्ना प्रगतिका कुरा मलाई देखाउँथ्यो, सुनाउँथ्यो, त्यति ? त्यति उसको आँखामा एकप्रकारको चमक पैदा हुन्थ्यो । ऊ खुसी नै देखिन्थ्यो । घरमा मेरा लागि भनेर अनेकौँ खानेकुराहरू फ्रिजभित्र र बाहिर ल्याएर राखेको रहेछ । मलाई घुमाउन उसले योजनाहरू तयार गरेको रहेछ । ऊ मेरो त्यहाँको बसाइ रमाइलो बनाउन हरप्रकारले प्रयास गरिरहेको देखिन्थ्यो, तर म भने उसलाई नेपाल नै फर्काउने सोचमा मात्र रहिरहेको हुन्थेँ । वास्तवमा म मेरो एक्लो छोरो नेपाल फर्कियोस् र आफू, आफ्नो परिवार र समाजका लागि केही महत्त्वपूर्ण योगदान देओस् भन्ने चाहन्थेँ ।

आखिर फर्कने दिन नजिक आयो । उसले एक दिन बिहान चिया दिँदै भन्यो, ‘बाबा हजुर र मामु दुवै अब यतै आइबक्सियोस्, सबै कुरा यहीँ छँदै छ ।’ म चुप लागेर हाँसिरहेँ । फेरि उसकी आमासँग पनि यस्तै आग्रह गर्‍यो । म फेरि हाँसिरहेँ । उसले फेरि भन्यो, ‘बाबा जुन देशमा हजुरले सधैं दुःख मात्र पाइरहिस्यो, जहाँ जागिर खाँदा देशका लागि जति ठूलो योगदान दिए पनि हजुरको कामको कदर कहिल्यै भएन, जहाँ हजुरहरूमाथि झुटा मुद्दा लगाइयो, जहाँ स्वच्छ खानेपानी, हावासमेत छैन, बिजुली छैन, इन्धन छैन, सुरक्षा छैन, बाँच्नकै लागि सङ्घर्ष गरिरहनुपर्छ, त्यहाँ हजुरहरू किन बसिरहिबक्सन्छ ? आइस्योस् यहाँ मलाई पनि आमाबुबाको आवश्यकता छ र म आफ्ना आमाबाबुलाई राम्रो सेवा र सत्कार दिन सक्छु ।’

छोरा अभयले मलाई यति भन्दा वास्तवमै उसको आँखामा नजानिँदा रूपले आँसु छचल्किरहेको थियो । उसले यो कुराहरू औपचारिकताका लागि नभई मनबाटै भनिरहेको थियो । मैले त्यतिबेला सोचेँ कि आजको दिनमा यतिसम्म भन्ने छोराहरू पाउन पनि गाह्रै हुन्छ । ऊ मबाट सकारात्मक जवाफ खोजिरहेको थियो । मैले उसको गालामा हात राखेर भने, ‘बाबु म त चाहन्छु तिमी पनि नेपाल आऊ, त्यो देशलाई पनि हाम्रो जरुरत छ । हो, त्यहाँ बिजुली छैन, सुरक्षा छैन तर पनि त्यो भूमिले हामीलाई जन्म दियो । सबैजना त्यो देशमा केही छैन भनेर भाग्ने हो भने फेरि त्यो मुलुकको अवस्था के हुने हो त ? ‘ मेरो कुरामा अभय केही आक्रोशित हुँदै भन्यो, ‘बाबा, देशको ठेक्का हजुरलाई दिइएको छ र ? भ्रष्ट र सपनाविहीन नेताहरूको चङ्गुलमा भएको त्यस्तो देशमा हजुर हुनु र नहुनुको के मतलब छ र ? ‘

देश गरिब र असुरक्षित भएमा परिवारका सदस्य स्वतन्त्रताका साथ साथ सँगै बस्ने कर्म पाउँदा रहेनछन् । यो कुरा देश चलाउनेहरूले नबुझ्लान् तर त्यो परिवारले भने राम्ररी बुझेको हुन्छ ।

लामो सास फेर्दै मैले भने, ‘बाबु त्यो ठीक हो तर पनि त्यहाँ धेरै मानिस छन्, जसलाई हामीले केही सहयोग गर्न सक्छौँ । हेर न म र तिम्रो मुमाले पनि ड्रग्सबाट केटाकेटीलाई बचाउन सानै भए पनि योगदान दिन सकेका छौँ । यदि हामी यहाँ तिमीसँग बसेको भए शायद त्यहाँका कति केटाकेटी ड्रग्सका कारणले मरिसकेका हुन्थे होला । हो, त्यो मुलुक अहिले सही व्यक्तिहरूको हातमा छैन तर सही व्यक्तिहरूको हातमा पुर्‍याउन पनि हामी नेपाल बस्न जरुरी छ । हामी आउँछौँ ? जान्छौँ तर छोरा मेरो विचारमा तिमी पनि नेपाल फर्कनुपर्छ । त्यहाँ तिमीले नयाँ ? नयाँ काम गरेर रोजगारी सिर्जना गर्नुपर्छ र नेपालीलाई खाडी मुलुकहरूमा शौचालय सफा गर्न जान र विदेश पलायन हुनुबाट रोक्नुपर्छ ।’

मेरो यस्तो कुराले अभय केही शान्त भयो । ऊ आफ्ना प्रगतिहरू देखाई मलार्इर्र्खुसी बनाउन चाहन्थ्यो, मलाई घुमाएर खुसी बनाउन चाहन्थ्यो तर म भने उसको अनुहार हेरिरहँदा नै खुसी हुन्थेँ । बारबार हामी आमाबाबुलाई उसले अमेरिकामा नै बस्नुपर्छ भनेपछि मैले भने, ‘बाबु तिमीले अब हामीसँग होइन, आफ्नो जीवनसंगिनी खोज्नुपर्छ र उनीसँग बाँच्नुपर्छ, दुःखसुख बाँडेर तिम्रो परिवार चलाउनुपर्छ, बालबच्चा जन्माएर हामीलाई खुसी मात्र दिने होइन हाम्रो वंशलाई अगाडि बढाउनुपर्छ । तर अमेरिकामा हुनेझैं डिभोर्स भने गर्नुहुन्न । सँगसँगै जीवनभर एक ? अर्कालाई साथ दिनुपर्छ ।’ हेर न तिम्रो हामी आमाबुबाहरू एक ? अर्कालाई कति माया गछौर्ं र साथ दिन्छौँ । तिमीले पनि आफ्नो जीवनसंगिनीलाई माया गर्नुपर्छ । मैले यति कुराभन्दा अभय हाँसिरहेको थियो र अन्तमा उसले भन्यो, ‘बाबा, म त यहाँ धेरै व्यस्त छु, बुहारी खोज्ने कामचाहिँ हजुरले गरिदिनुपर्छ ।’ मैले भने, ‘त्यो कामचाहिँ आफैं गरौँ ।’ त्यसपछि हामी दुवै निक्कैबेर हाँसिरह्यौँ ।

म अमेरिकामा भर्खरै दक्षिण एसियामा ड्रग्स रोक्न दिएको योगदानका कारण लसएन्जलसमा ठूलो समारोहबीच सम्मानित भएर सम्मानपत्रसाथ छोराकहाँ पुगेको थिएँ । मैले छोरालाई त्यो सम्मानपत्र देखाउँदै भने, ‘अभय संसारमा धेरै दुःखी, गरिब, रोगी छन् । तिनलाई मद्दत गर्न भगवान् आफैं आउँदैनन् वल्की कुनै मानिसलाई नै उसको मद्दत गर्न पठाउँछन् । तिमीहरूले आफूले कमाएको रकममध्ये केही बचाई अफ्रिका, दक्षिण एसियाजस्ता मुलुकमा पठाउनू र त्यहाँ दुःखमा परेका नागरिकहरूको मद्दत गर्नू, म र मामु पनि दक्षिण एसियामा ड्रग्सबाट बालबच्चा जोगाउन समर्पित छौँ । तिमी पनि कहाँ सक्छौ सहयोग गर ।’ उसले स्वीकृतिपूर्वक टाउको हल्लायो ।

झन्डै ३ वर्षपछि करिब पाँच दिन मैले छोरासँग नजिक भएर समय बिताएँ । हामी सँगै घुम्यौँ, कुरा गर्‍यौँ, खायौँ, सोच्यौँ । वास्तवमै छोराको प्रगति र व्यवहारले मलाई निक्कै सन्तुष्ट बनायो तर उसले अमेरिकाको घरलाई नै आफ्नो घर ठान्न थालेको कुराले भने मलाई ज्यादै चिन्तित तुल्यायो । यदि नसक्नेहरू खाडी मुलुक र मलेसिया जाने तथा सक्नेहरू युरोप, अमेरि का पुगी उतै मेरो घर हो भन्ने सोच राखेर त्यतै बसिदिने हो भने नेपालको भविष्य के होला ? यहाँ त ढुङ्गा हान्ने र लुटपाट गर्ने मात्र त बाँकी रहने होइनन् ? यस्ता कुराले पनि मलाई चिन्ता दिइरहेको थियो । दिन छिट्टै बित्यो । मलाई अब केन्टकी राज्यबाट लसएन्जलस हुँदै हङकङ जानु थियो । हङकङका नेपालीलाई ड्रग्सबाट जोगाउन मैले विशेष जनचेतना कार्यक्रम सञ्चालन गर्नु थियो । जतिबेला छोरासँग छुटि्टने दिन आयो म भित्रभित्रै दुःखी थिएँ । म फर्कने दिन आयो । अभय मलाई बारबार अमेरिका बस्न अनुरोध गरिरहेको थियो म भने अब उसले विवाह गर्नुपर्ने कुरामै जोड दिइरहेको थिएँ । मैले भने, ‘छोरा, किन ? किन दुःख, जाल, झेल, षड्यन्त्र, अभाव भए पनि हामीलाई नेपाल नै मनपर्छ । हामी त्यहीँ मर्न चाहन्छौँ ।’ मेरो उत्तरमा ऊ ठुस्स पर्थ्यो ।

विमानस्थलमा छुटि्टने समयमा अभयले मेरो आँखामा टिलपिल टिलपिल आँसु पार्दै फेरि भन्यो, ‘बाबा यतै आएर बस्नुपर्छ है ।’ मैले आँखामा आँसु अनि ओठमा मुस्कान राखी हाँसी मात्र रहेँ । मैले भने, ‘पख न तिम्रा बुबाआमाले नेपालमा अरू केही काम गर्ने बाँकी छ ।’ मैले चाहिँदैन भन्दाभन्दै पनि उसले केही डलर मेरो बगलीमा हालिदियो र भन्यो, ‘नेपालमा ड्रग्सबाट बच्चाहरूलाई जोगाउन यसलाई खर्च गरिस्योस् ।’ म हाँसे र त्यो रकम स्वीकार गरेँ । हामीहरू एकछिन् अंगालोमा बाँधिएर दुवैले आँखाभरि आँसु निकाल्दै छुटि्टयौँ ।

यद्यपि मेरो छोरा नेपालमा भन्दा त्यहाँ सुखी, सम्पन्न देखिन्थ्यो तर पनि हामी त उसलाई आफ्नै देशमा, आफ्नैअगाडि हेर्न चाहन्थ्यौं । तर, सशस्त्र युद्धका कारण यो परिस्थिति मेरो घरमा हुन सकेन । आज नेपालमा कति परिवार सँगै बस्न पाएका छैनन् । युद्ध, गरिबी, पिछडापन, असुरक्षाका कारणले कति छोराछोरी कति आमाबाबु नेपाल छोडी विदेश बस्न बाध्य भएका छन् । यद्यपि त्यो मुलुकमा हामीबाट छुटि्टएर गएका परिवारका सदस्यहरू सुखपूर्ण जीवन बिताउँदै होलान् तर पनि अभय साथमा नहुँदा मलाई र मेरी पत्नी पूजालाई उसको अभाव खड्किएझैं अरू थुप्रै परिवारलाई पनि हाम्रोजस्तै अभाव खड्किएको होला भन्ने हामीलाई लाग्ने गर्छ । देश गरिब र असुरक्षित भएमा परिवारका सदस्य स्वतन्त्रताका साथ साथ सँगै बस्ने कर्म पाउँदा रहेनछन् । यो कुरा देश चलाउनेहरूले नबुझ्लान् तर त्यो परिवारले भने राम्ररी बुझेको हुन्छ । जे होस्, परिवारको विछोड पीडादायी नै हुँदोरहेछ !