दक्षिण एसियाली उसु जज सेमिनार काठमाडौंमा सुरु

दक्षिण एसियाली उसु जज सेमिनार काठमाडौंमा सुरु


नेपाल उसु महासंघ र दक्षिण एसियाली उसु महासंघको आयोजनामा तेस्रो दक्षिण एसियाली उसु जज सेमिनार असोज ८ गते काठमाडौंमा शुरु भएको छ । कपनस्थित मुखम होटलमा आयोजित उक्त सेमिनार पाँच दिनसम्म चल्ने आयोजक उसुसंघका महासचिव ल्हाक्पा छिरिङ शेर्पाले बताए ।

नेपाल उसु महासंघ र दक्षिण एसियाली उसु महासंघका अध्यक्ष बीरबहादुर तामाङको अध्यक्षतामा संचालन भएको सेमिनारको विशेष अतिथि राष्ट्रिय खेलकुद परिषदकी सदस्य इन्दिरा निरौलाले सेमिनारको उदघाटन गरेकी थिइन् ।

दक्षिण एसियाली उसु सेमिनारमा दक्षिण एसियाली मुलुकका पाँच राष्ट्र नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिब्सले सहभागिता जनाएका छन् । सेमिनारमा नेपालका ३०, बंगलादेशका १०, पाकिस्तानका ७, श्रीलंका १२ र माल्दिब्सका ४ जना प्रतिनिधिले सहभागिता जनाएका छन् ।

उक्त सेमिनारमा एसियाली उसु महासंघका चिनियाँ एक्स्पर्ट तथा विदेशी प्रशिक्षक बु नैबिन र काई हु प्रशिक्षण दिन नेपाल आएका छन् । त्यस्तै श्रीलंका साउथ एसियन टेक्निकल डाइरेक्टर रुचिरा बुदीनागडाको पनि सेमिनारमा उपस्थिति रहेको छ ।

नेपालमा आउँदो मंसिर १५ गतेदेखि संचालन हुन गैरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा दक्ष प्राविधिक उत्पादन गर्नको लागि जज सेमिनारको आयोजना गरिएको महासचिव लामाले बताए ।

त्यस्तै महासंघका उपाध्यक्ष दीपक लामाले लामो समय अर्थात १० वर्षपछि संचालन भएको उसु जज सेमिनारले उसु खेलको विकास र विस्तारमा नयाँ आयाम थप्ने बताए । सेमिनार शुरु भएको छ, अब सेमिनारको औचित्य पुष्टि गर्न जजमाथि विशेष जिम्मेवारी थपिएको लामाले कार्यक्रममा जानकारी गराए ।

कार्यक्रमकी विशेष अतिथि इन्दिरा निरौलाले सेमिनारको सफलताको कामना गर्दै शुभेच्छा प्रकट गरिन् । त्यस्तै, यस्ता स्तरवृद्धिका कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्नुपर्ने धारणा व्यक्त गरिन् । सेमिनारको संचालन महासंघका कोषाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सञ्चालन गरेका थिए । सो अवसरमा उसु महासंघका केन्द्रीय पदाधिकारी र खेलाडीहरुको उपस्थिति रहेको थियो ।