कर्पोरेट ब्याडमिन्टन सिंगलको फाइनलमा अभिषेक र दिनेश

कर्पोरेट ब्याडमिन्टन सिंगलको फाइनलमा अभिषेक र दिनेश


नारायणी मिल्कका अभिषेक बोस र स्टार इनभेष्टमेन्टमा दिनेश राई अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत कर्पोरेट सिंगल स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनल खेलमा अभिषेकले बी एन्ड बी का बालमुकुन्द ढुङ्गानालाई २१–१७, २१–१२ र दिनेशले टियुका खेमराज भट्टलाई २१–१८, २१–१४ को सेटमा पाखा लगाए । यसअघि भएको क्वार्टरफाइनल खेलमा अभिषेकले अमुदी फुड्सका अच्युत बस्नेतलाई २१–११, २१–१३ र दिनेशले एलडी ग्रुपका हेमन्त अग्रवाललाई २१–१५, २१–१८ को सोझो पराजित गरेका थिए ।

ज्योती विकास बैंकका विकाश मर्हजन र कामना सेवाका विशाल खड्का अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको एक्जुकेटिभ सिंगलतर्फ फाइनलमा प्रवेश गरेका छन् । अर्को सेमिफाइनल खेलमा विशालले जेष्टकै सुजन थापा पराजित गरे ।

त्यस्तै राष्ट्रि«य खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र पोखरा एचएमका जयराम हमाल कर्पोरेट डबल्स स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् । यसअघि क्वार्टरफाइनलमा उक्त जोडीले केजीएमका राजन शाक्य र ज्यापु कोम्पाका बल्लभ मर्हजनको जोडीलाई २१–१५, १७–२१, २१–१४ को सेटमा हराएको थियो ।

सोही स्पर्धामा युनिभर्सल इलेक्ट्रोका हरिओम गुप्ता र बुटवल पावरका खगेन्द्र रेग्मीले पनि फाइनलमा स्थान बनाएका छन् । सेमिफाइनलमा उक्त जोडीले त्रीभ ब्रोकरेजका अनुजराज पौडेल र प्रशान्त ताम्राकारको जोडीलाई २१–१७, २१–१४ को सेटमा हराउन सफल भयो । यसअघि क्वार्टरफाइनलमा हरिओम र खगेन्द्रको जोडीले पन्चकन्या ग्रुपका ध्रुबकुमार श्रेष्ठ र रुपन्देही सीसीआईका युमेशबहादुर कार्कीको जोडीलाई २१–९, २१–९ को सोझो सेटमा पाखा लगाएका थिए ।

जेष्ट ग्रुपका सुजन थापा र रामकुमार वानियाको जोडी अन्नपूर्ण पोस्ट कर्पोरेट ब्याडमिन्टन अन्तर्गत एक्जुकेटिभ डबल्स स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् । यसअघि क्वार्टरफाइनलमा सुजन र रामकुमारको जोडीले महालक्ष्मीका पेन्टका रविप मर्हजन भुवन श्रेष्ठको जोडीलाई पाखा लगाएको थियो ।

यसैगरी सोही स्पर्धामा कामना सेवाका विशाल खड्का र बएएनएम सप्लायर्सका विश्वाश नेपालको जोडीले पनि फाइनलमा स्थान बनाएको छ । यसअघि भएको क्वार्टरफाइनल खेलमा विशाल र विश्वासको जोडीले महालक्ष्मी पेन्टका शान्त डंगोल र दिपेश शाक्यको जोडीलाई सोझो सेटमा पराजित गरेको थियो ।