निर्धारित मितिमै ‘साग’ सम्पन्न हुने दाबी

निर्धारित मितिमै ‘साग’ सम्पन्न हुने दाबी


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागमा सहभागिताका लागि सदस्य राष्ट्रहरुलाई सरकारले पत्राचार गरिसकेकाले निर्धारित मितिमै सम्पन्न हुने बताएका छन् ।

प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद उपसमितिका संयोजकसमेत रहेका श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा आयोजना हुने खेल पूर्वाधारको बुधबार साँझ निरीक्षण गर्दै सरकारले सागमा सहभागिता जनाउने राष्ट्रलाई पत्राचार गरेको र सातवटै राष्ट्रबाट ‘कन्फरमेसन’ पत्रसमेत आइसकेको जानकारी दिए ।

खेलकूदका भौतिक पूर्वाधारको अभावमा साग नरोकिने स्पष्ट पार्दै उनले दुई/चार दिन यताउता पर्ला तर समयमै भौतिक संरचना निर्माण हुनेमा आफूहरु विश्वस्त रहेको बताए । राष्ट्रकै इज्जतको विषय भएकाले पनि साग भव्य र सभ्य रूपमा सम्पन्न गर्नु सबैको दायित्व रहेको उनको जिकीर छ ।

आगामी कात्तिक १५ गतेभित्र सबै संरचना निर्माण भइसक्ने र आयोजक राष्ट्र नेपाल भएकाले तयारी सम्बन्धमा कुनै कसर बाँकी नराखिने उनले स्पष्ट पारे।

जीवनरामसहितको टोलीले पोखरा रङ्गशालाको फुटबल स्टेडियम, क्रिकेट मैदान, आर्चरी, कभर्डहललगायतको अनुगमन गर्नुका साथै खेलसम्बद्ध पदाधिकारीसँग छलफल गरेको थियो । टोलीले सागका लागि पोखरामा तयारी गरिरहेका पुरुष–महिला ह्याण्डबल टोलीसँग तयारीबारे जानकारी लियो । टोलीले यसअघि पोखरा–२५ हेमजास्थित निर्माणाधीन फुटबल मैदान, पोखरा–१९ को गोष्तेघाट, सराङकोटलगायतका स्थानमा निर्माण भइरहेको पूर्वाधारको अनुगमन गरेको थियो ।