पिताम्बर र हमालको जोडीलाई डबल्सको उपाधि

पिताम्बर र हमालको जोडीलाई डबल्सको उपाधि


अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको कर्पोरेट डबल्सको उपाधि राष्ट्रिय खेलकुद परिषद्का पीताम्बर तिम्सिना र पोखरा एचएमका जयराम हमालले जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न फाइनलमा पीताम्बर र हमालको जोडीले युनिभर्सल इलेक्ट्रोका हरिओम गुप्ता र बुटवल पावर कम्पनीका खगेन्द्र रेग्मीको जोडीलाई २१–१७, १५–२१, २१–१५ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

कर्पोरेट सिंगल्समा भने नारायणी मिल्कका अभिषेक बोसले बाजी मारे । उपाधि जित्ने क्रममा उनले स्टार इन्भेस्टमेन्टका दिनेश राईलाई २१–१३, २१–१२ ले पराजित गरे ।

यसैगरी एक्जेक्टिभ सिंगल्सको उपाधि कामना सेवा विकासका विशाल खड्काले जितेका छन् । उनले ज्योति विकास बैंकका विकास महर्जनलाई २१–१६, २१–१४ को सोझोमा पराजित गरे ।

प्रतियोगिताकै एक्जेक्टिभ डबल्समा कामना सेवाका विशाल खड्का र बीएनएम सप्लायर्सका विश्वास नेपालले उपाधि जिते । खड्का र नेपालले जेस्ट ब्याडमिन्टन एकेडेमीका सुजन थापा र रामकुमार बानियाँको जोडीलाई १८–२१, २१–१७, २१–१९ को सेटमा पराजित गर्दै उपाधि जिते ।

चार वटै स्पर्धाका विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो स्थान हात पार्नेले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडीलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पुरस्कार प्रदान गरे ।