सागका लागि विभिन्न समिति गठन

सागका लागि विभिन्न समिति गठन


नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि विभिन्न समितिहरू गठन गरिएको छ । १३औं साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सिंहदरबारमा असोज ९ गते बिहीबार बसेको छैठौं बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकमा संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललगायतको उपस्थिति रहेको थियो ।

समितिअन्तर्गत राष्ट्रिय टिम तयारीमा रिमबहादुर रानाभाट संयोजक र महेन्द्रकुमार राई सचिव, खेलस्थल व्यवस्थापनमा राखेपका पूर्व सदस्यसचिव केशवकुमार विष्ट संयोजक र लवभक्त श्रेष्ठ सचिव, प्राविधिकमा गंगाबहादुर थापा मगर संयोजक र अर्जुनबहादुर विक सचिव, श्रोत साधन परिचालनमा उमेशलाल श्रेष्ठ संयोजक, सुरक्षामा प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल संयोजक र फणिन्द्र पौडेल सचिव, आवास व्यवस्थापनमा टासी घले संयोजक र विनोद उप्रेती सचिव, यातायात व्यवस्थापनमा अर्जुनबहादुर केसी संयोजक र सरोजकुमार पोखरेल सचिव रहेका छन् ।

त्यस्तै, स्वास्थ्यमा डा. अजयशमशेर जबरा संयोजक र मधुसुदन बस्नेत सचिव, प्रचारप्रसार तथा प्रकाशनमा शिव कोइराला संयोजक र दुर्गाप्रसाद दुलाल सचिव, समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल संयोजक र कुलबहादुर थापा सचिव, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ संयोजक र प्रेम मल्ल सचिव, अनुगमन, निरीक्षण तथा मुल्यांकनमा अणप्रसाद न्यौपाने संयोजक र डेमबहादुर बस्नेत सचिव, अतिथि सत्कारमा अमरसिंह शाह संयोजक र अनन्तादेवी खनाल सचिव, खेल सामाग्री, उपकरण तथा पोशाक व्यवस्थापनमा पुरेन्द्रविक्रम लाखे संयोजक र वज्रबहादुर केसी सचिव तथा एन्टी डोपिङमा डा. सरोजकृष्ण श्रेष्ठ संयोजक र तिलक नेपालीलाई सचिव तोकिएको छ ।

बैठकले सागको अर्को आयोजनास्थल पोखराका लागि गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा ५ सदस्यीय स्थानिय व्यवस्था सहजीकरण समिति पनि गठन गरेको छ । समितिका सदस्यहरुमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी, राखेपका सदस्य राजेश गुरुङ र तेजबहादुर गुरुङ रहेका छन् । सचिवमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी छन् ।

उक्त समितिलाई सहजीकरणका लागि विभिन्न ११ उपसमितिहरु गठन गर्न अधिकार पनि दिइएको छ । त्यस्तै सागमा समावेश विभिन्न २७ खेल मध्ये कुस्ती जनकपुरमा गर्ने निर्णय भएको छ ।