दक्षिण एसियाली उसु जज सेमिनार सम्पन्न

दक्षिण एसियाली उसु जज सेमिनार सम्पन्न


नेपाल उसु महासंघ र दक्षिण एसियाली महासंघको आयोजनामा सञ्चालन भएको तेस्रो दक्षिण एसियाली उसु जज सेमिनार असोज ११ गते शनिबार सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको उक्त जज सेमिनारमा आयोजक नेपाल, बंगलादेश, श्रीलंका पाकिस्तान र माल्दिब्सको सहभागिता रहेको थियो ।

समापन समारोहका मुख्य अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उसु जज सेमिनार सफलताका साथ सम्पन्न गरेकोमा उसु महासंघलाई धन्यवाद दिएका थिए । साथै उनले सेमिनारलाई सफल बनाउन चीनबाट आएका प्रशिक्षण प्रशिक्षकद्वय बु नैबिन र काई हु लाई मायाको चिनो प्रदान गरेका थिए ।

कपनस्थित मुखम होटलमा सम्पन्न समारोहमा उसु महासंघका महासचिव ल्हाक्पा छिरिङले शेर्पाले उसु जज सेमिनार सफलताका साथ सम्पन्न भएको र सवै सहभागिताहरु उत्तीर्ण भएको जानकारी गराए । साथै नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा आफुले प्राप्त गरेको प्रशिक्षणको उत्कृष्ट प्रदर्शन गर्ने बताए । त्यस्तै, आउँदो १३औँ सागमा नेपालले उसु खेलमा १० वटा स्वर्ण पदक जित्ने दाबी पनि गरे ।

समापन कार्यक्रमका विशेष अतिथि नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सेमिनारमा उत्तीर्ण जजहरूलाई प्रमाणपत्र र लाइसेन्स प्रदान गरे । महासंघका अध्यक्ष बीरवहादुर तामाङले सम्पूर्ण सहभागिलाई बधाई दिँदै उसु खेलको विकासको लागि जज सेमिनार कोशेढुङ्गा सावित हुने बताए ।
सेमिनारमा नेपालका ३०, बंगलादेशका १०, पाकिस्तानका ७, श्रीलंका १२ र माल्दिब्सका ४ जना प्रतिनिधिले सहभागिता जनाएका छन् ।