‘ढुक्क हुनुहोस्, १३औँ ‘साग’ ९९.९ प्रतिसत हुन्छ’ : सिलवाल

‘ढुक्क हुनुहोस्, १३औँ ‘साग’ ९९.९ प्रतिसत हुन्छ’ : सिलवाल


घटना असोज ११ गते शनिबारको हो । कपनस्थित मुखम होटलमा उसु जज सेमिनारको समापन कार्यक्रम थियो । उक्त समारोहको मुख्य अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल थिए । कार्यक्रमको आरम्भअघि चियापानको कार्यक्रममा सदस्यसचिव सिलवालको जम्काभेट दक्षिण एसियाली उसु महासंघका महासचिव मनेल धर्मकीर्तिसँग भयो । दुवैले आफ्नो परिचय दिन भिजिटिङ कार्ड आदानप्रदान गरे । त्यसपछि एकआपसमा वार्ता प्रारम्भ भयो । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उसु महासंघका पदाधिकारीको उपस्थिति थियो ।

सदस्यसचिवको भिजिटिङ कार्ड अध्ययन गरेपछि महासचिव धर्मकीर्तिले कौतुहलतापूर्वक सिलवाललाई सोधे– ‘मैले अहिलेसम्म बुझ्न नसकेको छैन, आखिर ‘मेम्बर सेक्रेटरी’ भनेको के हो ? अन्य देशमा त ‘जनरल सेक्रेटरी’ हुन्छ ।’ धर्मकीर्तिको उत्सकुताप्रति सिलवालले तुरुन्तै जवाफ फर्काए– ‘तपाईंले अहिलेसम्म डिस्नरी हेर्नुभएको रहेनछ, डिस्नरी हेरेपछि थाहा भैहाल्छ ।’

सदस्यसचिव सिलवालबाट यस्तो जवाफ पाएपछि केही हच्किँदै धर्मकीर्तिले यो कस्तो पद हो र यसको नियुक्ति प्रक्रिया के हो ? भनेर सोधे । त्यसपछि सदस्यसचिव, सदस्य र राष्ट्रिय खेलकुद परिषदको बोर्डको गठनको बारेमा सिलवालले विस्तारमा जानकारी गराएपछि धर्मकीर्तिले चित्त बुझाए ।

यो प्रसङ्ग सकिनासाथ धर्मकीर्तिले सदस्यसचिव विष्टसमक्ष निकै गम्भीर प्रश्न गरे । उनको प्रश्न थियो– ‘नेपालमा १३औँ साग हुन्छ कि हुँदैन ? प्रश्न जति गम्भीर थियो, सिलवालको जवाफ पनि त्यति नै गम्भीर थियो । सिलवालले भने– ‘तपाईं ढुक्क हुनुहोस्, १३औँ साग ९९.९ प्रतिसत हुन्छ, त्यो पनि निर्धारित समयमै ।’

सिलवालको जवाफ सुनेर पनि ढुक्क हुन नसकेका धर्मकीर्तिले पुनः प्रश्न गरे– ‘किन ९९.९ प्रतिसत ? सत प्रतिसत किन नभएको ?’ त्यसपछि सिलवालको जवाफ थियो – ‘म साइन्सको विद्यार्थी, मैले सय प्रतिसत भन्न मिल्दैन ।’ त्यसपछि धर्मकीर्तिले मुस्कुराउँदै टाउको हल्लाएर सहमति प्रकट गरे ।

कार्यक्रम शुरु भयो, पुनः धर्मकीर्तिले भाषणमा भने– ‘म धेरै खुशी छु, किनकि श्रीलंकाको चर्चित थर भएको ब्यक्ति राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव ‘सिल्वाल’ हुनुहुन्छ, श्रीलंकामा यो थर भएका व्यक्तिसँग म राम्रोसँग परिचित छु । श्रीलंकन क्रिकेटलाई विश्वस्तरमा परिचित गराउन र विश्वकप दिलाउनमा अरविन्द्र डि सिल्वाको ठूलो हात छ ।’

उनको कथनको तात्पर्य थियो, सिल्वा र सिलवाल एउटै हुन् । त्यसपछि सिलवालले पनि धर्मकीर्ति नामको बारेमा व्याख्या गर्दै श्रीलंका र नेपालको गहिरो सम्बन्ध हुनुमा धर्म र कीर्तिको अन्योन्याश्रित सम्बन्ध रहनु हो भन्ने तर्क गरे ।

यसरी एकअर्काको नाम–थरको प्रशंसा गर्दै खेलकुद क्षेत्रका दुई ‘हस्ती’ले गरेको ठट्यौली सम्वादको चर्चा यतिबेला सम्बद्ध क्षेत्रमा चलिरहेको छ ।