■ विनोद नेपाल
वर्षौँदेखि दोहोरिइरहेको दृश्य,
भोगिरहेको नियति
यसपटक पनि भोगेको छ यो राजधानीले ।
यसपटक पनि
सोहोरिएर आफ्नै ठाउँ फर्के
अवसर खोज्न आउनेहरू
यसैको छातीमाथि बुर्कुसी मारेर
आफ्नो भविष्य बनाउन खोज्नेहरू ।
कुनै दिन यही बाटो हुँदै बिदेसिएका
र, अहिले
विदेशबाट आफ्ना सम्झेर फर्कनेहरू झन् छोइसक्नु किन हुन्थे ?
किन अडिन्थे यहाँ ?
आफूलाई विदेश उडाउने यो राजाधानीप्रति कृतज्ञ होइन, कृतघ्न हुँदै,
ती पनि
हानिए चारभञ्ज्याङ कटेर हतार गर्दै ‘आफ्ना’ भेट्न
यसैले त,
अरूको के कुरा गर्नु ?
सधैझैँ
नयाँ सडक रहेन नयाँ सडकजस्तो
न दरबारमार्गकै रमझम रह्यो उस्तो,
सुनसान भए माइतीघर र त्रिपुरेश्वर
अनि, जमल र पुतलीसडक पनि
रहेन कलङ्कीको भिड
बसपार्कको रमझम रहेन,
कोटेश्वरमा पनि
जहाज उडान र अवतरणको हल्लाखोरभन्दा अरू सुनिन छाड्यो
अनि केही दिन,
केही आराम पायो सधैँ हतारमा दौडने, चक्रपथले पनि ।
तर
उस्तै रहे पशुपति र आर्यघाट,
बागमती र विष्णुमतिको गतिमा कुनै असर परेन
मान्छेको बाढी भञ्ज्याङ कटेर बाहिरिए पनि ।
समग्रमा
‘अवसरवादी’हरू कोही रहेनन्,
दुई छाकको जोहो गर्न आउनेदेखि
‘केन्द्रीकृत सत्ता’को विरोध गर्दै ‘सङ्घीयता’को कुरा गर्ने
राजधानी बसेर गाउँ–गाउँमै राजधानी पुऱ्याउन खोज्नेसम्मले छाडेर हिँडे राजधानी
र
राजधानीले फेरि एकपटक आफू नै सर्वेसर्वा भएको महसुस गर्न पाएको छ केही दिन ।
केही दिन
हतार देखिनेछैन मान्छेको कतै
उज्यालो नहुँदै पाइला चल्ने छैनन् कतै
यसरी
रित्तो भएको छ यो राजधानी यसपटक पनि
तर
यीबिना राजधानीको आकर्षण व्यर्थ हुने भएकाले
तिनै अवसरवादीहरूको प्रतीक्षामा,
तिनै निष्ठुरीहरूको सम्झनामा व्यग्र छ राजधानी,
तिनको पुनरागमनमा स्वागत गर्न आतुर छ यो राजधानी
जान्दाजान्दै पनि
माया गर्न होइन,
यी आफूलाई लुछ्न आउने,
आफ्नो क्षणिक स्वार्थ पूरा गर्न आउनेहरू हुन्
तैपनि,
ग्राहकको प्रतीक्षामा बसेकी ‘वेश्या’झैँ
तिनैको व्यग्र प्रतीक्षामा छ राजधानी,
तिनै ‘अवसरवादी’हरूको प्रतीक्षामा छ यो राजधानी ।
– पोखराथोक, पाल्पा, हाल : काठमाडौं
प्रतिक्रिया