भाइटीकाबारे भ्रम फैल्याइएपछि…

भाइटीकाबारे भ्रम फैल्याइएपछि…


नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्ने गरी विभिन्न माध्यमबाट भइरहेको प्रचारप्रसारका पछि नलाग्न आह्वान गरेको छ । समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गरी यही कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक शुरु हुने जनाएको छ ।

केही व्यक्तिले कात्तिक १३ गते भाइटीका गर्ने भनी प्रचारप्रसार गरेको पाएपछि त्यो शास्त्रसम्मत नहुने भन्दै समितिले प्रष्ट धारणा सार्वजनिक गरेको हो ।

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार कात्तिक ८ गतेदेखि यमदीपदान शुरु हुन्छ । कात्तिक ९ गते शनिबार कागतिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म (म्ह) पूजा गर्ने दिन हो ।

यसैगरी कात्तिक १२ गते मङ्गलबार गोवद्र्धनपूजा, यमद्वितीया, भाईटीका, किजापूजा र नेपालसंवत् मनाउनुपर्ने समितिको निर्णय छ । समितिले ज्योतिष, धर्मशास्त्रलगायत विभिन्न विषयका विद्वानसँगको राय सुझावपछि निर्णय गरेको जनाइएको छ ।

समितिले २०७७ सालको असोज महीनामा अधिकमास (मलमास) पर्ने जानकारी समेत गराएको छ । विभिन्न धार्मिक कृत्यका लागि एक वर्ष अघि नै मलमासको जानकारी आममानिसलाई दिनुपर्ने भएकाले सार्वजनिक गरिएको प्रष्ट्याइएको छ ।