विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा कुल आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजस्व संकलन गरेको छ ।
यो लक्ष्यको तुलनामा रु. चार अर्ब ९४ करोड ९३ लाख ५० हजार कमी हो । उक्त अवधिका लागि विराटनगर भन्सार कार्यालयलाई कुल रु. १३ अर्ब ९४ करोड ३१ लाख ५९ हजार राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो । गत वर्ष सोही अवधिमा रु. १० अर्ब पाँच करोड २९ लाख ९५ हजार राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रु. एक अर्ब ५७ करोड ५६ लाख ४० हजार राजस्व कम उठेको विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए ।
चालू आवमा संकलित राजस्वमा भन्सार महसुलतर्फ रु. तीन अर्ब ३५ करोड ९६ लाख ८९ हजार, मूल्यअभिवृद्धि करतर्फ रु. चार अर्ब ४२ करोड १४ लाख ६७ हजार र अन्तःशुल्कतर्फ रु. ६९ करोड ६२ लाख छन् । गएको वर्षमा सो अवधिमा भन्सार महसुल रु. चार अर्ब ४३ करोड ६० लाख तीन हजार, मूल्यअभिवृद्धि कर रु. पाँच अर्ब २२ करोड ३८ लाख ४८ हजार र अन्तःशुल्क रु ६९ करोड ३१ लाख ४५ हजार राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
भन्सार असुलीको प्रगति हेर्दा चालू आवको साउन महिनामा ६८ दशमलव १० प्रतिशत, भदौ महिनामा ६५ दशमलव ९९ प्रतिशत र असोज महिनामा ४९ दशमलव ७६ प्रतिशत भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया