कसरी खानुपर्छ, कसरी लगाउनुपर्छ, कसरी बोल्नुपर्छ र कसरी हिँड्नुपर्छ ? माध्यमिक तहसम्मकै पाठ्यक्रममा हरेक विद्यार्थीले यस्ता प्रश्नको जवाफ पाउनुपर्ने हो, तर नेपालमा सिक्नैपर्ने यस्ता धेरै कुरा सिकाइँदैनन् । त्यसैले जेब्राक्रस नजिक आइपुगेपछि चालकहरू आफ्नो सवारीसाधनको गति बढाउँछन्, पैदलयात्री इच्छा लागेको ठाउँबाट मोबाइलमा गफिँदै फुर्सदले बाटो काट्छन्, नाक कोट्याउँदै हिँड्छन् र जहाँतही खकार्छन् । अरूले बोल्दाबोल्दै बीचमै कुरा काट्छन् र खाँदा या पिउँदा आवाज निकाल्छन्, यसो गरिरहँदा आफूबाट गल्ती भएको हेक्का पनि राख्दैनन्, नेपालीको पहिचान यसरी पनि बन्न थालेको छ ।
राज्यको उच्च ओहोदामा रहेकाहरूदेखि साधारण नागरिकसम्म आफ्नो अधिकार बुझ्छन्, तर कर्तव्य ठ्याम्मै बुझ्दैनन् । तसर्थ हामी विश्वमा सभ्य हुन बाँकी मानिसको कोटिमा परेका छौँ । यस्तै संस्कार, शैली र प्रवृत्तिबाट आजित त धेरै मानिस भएका छन्, तर सबैले मानिसको आचरण सुधार्ने उद्देश्य लिएर पुस्तक लेख्न सकेका छैनन् । शेखर ढुङ्गेल अपवादमा पर्नुभयो, उहाँले नेपाली समाजलाई सुसंस्कृत र सभ्य बनाउने मुख्य उद्देश्य राखेर १९९ पृष्ठको पुस्तक लेखी हालै सार्वजनिक गर्नुभएको छ ।
‘परिवर्तनका लागि विवेकशीलता’ नाम दिएर ढुङ्गेलले नेपाली जनतामाझ प्रस्तुत गर्नुभएको पुस्तकमा नागरिक आचारसंहिता किन, सञ्चारमाध्यमको जिम्मेवारी, भिड र न्याय सम्पादन, अनिष्टको जड, क्षमाशीलता, सकारात्मक सोच, स्खलित बौद्धिकता, उच्च विवेक भएको नागरिक र राज्य, नागरिकको खुसी, परिवर्तनको आधार, पुरस्कार, सम्मान र अभिनन्दनमा बेथितिलगायत विभिन्न ३८ विषयमा निकै घतलाग्दो प्रस्तुति दिनुभएको छ । ‘परिवर्तनका लागि विवेकशीलता’ पढिसकेपछि कुनै पनि मानिस आफ्नाबारेमा अनेकौँपटक समीक्षा गर्न तयार हुन्छ । रु. २५० मूल्य निर्धारण गरिएको उक्त पुस्तक युवा र विद्यार्थीका निम्ति निकै उपयोगी हुन सक्ने देखिन्छ ।
भक्तपुरको कटुन्जेमा २०१८ सालमा जन्मिएर राजनीतिशास्त्रमा स्नातक शेखर ढुङ्गेलले जापानबाट विशेष सुरक्षा तालिम पनि प्राप्त गर्नुभएको छ । शेखरका सय कविता, कहाँ छ मेरो देश (यात्रा संस्मरण), क्षितिजपारिका सपनाहरू (कथासङ्ग्रह) र माटोको सुगन्धलगायत पनि एक दर्जन कृतिका सर्जक ढुङ्गेल ‘मातृभूमिका लागि नेपालीको’को उत्तर अमेरिकाका संयोजक पनि हुनुहुन्छ ।
सभ्यता र समृद्धिका पक्षमा दृढतापूर्वक उभिनुभएका शेखर ढुङ्गेलको अध्यात्मिक प्रतिबद्धता पनि पुस्तकमा छचल्किएका छन् । एक ठाउँमा उहाँले लेख्नुभएको छ, ‘मन्दिरको भिडमा हेऱ्यौं भने थाहा हुन्छ, त्यहाँ गरिबभन्दा धनी र सम्पन्न व्यक्ति धेरै हुन्छन्, तर उनीहरू ईश्वरसित सुख, सन्तोषको कामना गर्दछन् ।’
सम्पन्नताले शान्ति र सन्तोष दिएको हुँदैन भन्न उहाँले पुस्तकमा अनेक कोणबाट दृष्टान्तहरू प्रस्तुत गर्नुभएको छ । पुस्तकले हरेक मानिसलाई देशभक्त, राष्ट्रप्रेमी, विनयशील, अनुशासित, धर्म–संस्कृतिप्रेमी र सुसंस्कृत एवम् सभ्य बन्न सिकाउँछ । एउटा उपयोगी पुस्तक दिएर शेखर ढुङ्गेल हामी सबैका निम्ति बधाई र धन्यवादका पात्र बन्नुभएको छ ।
प्रतिक्रिया