पायक स्थानमा भेटघाट गरिन्छ- अभिनेत्री सौजन्य सुब्बा

पायक स्थानमा भेटघाट गरिन्छ- अभिनेत्री सौजन्य सुब्बा


टेलिचलचित्रमार्फत अभिनय यात्रामा निस्किएकी अभिनेत्री सौजन्य सुब्बा यतिबेला व्यस्त नायिकको रूपमा चिनिन्छन् । राम्री त उनी छँदै छिन्, त्यसमाथि अभिनय पनि राम्रो गर्ने कारणले गर्दा एकपछि अर्को सिनेमामा व्यस्त सौजन्यले अभिनय गरेको पछिल्लो चलचित्र म छु नि तिम्रो प्रदर्शनको तयारीमा छ भने यो चलचित्रमा एकल नायिकाको रूपमा छिन् उनी ।
० सौजन्यसँगैका समकालीन नायिकाहरू घरमै दिन काट्न बाध्य छन् तर सौजन्य एकपछि अर्को सिनेमामा व्यस्त हुनुको कारण ?
– त्यस्तो कुनै उल्लेख्य कारण नै छैन । काम पाइरहेकी छु, म त्यसमा नै व्यस्त छु ।
० सिनेमा क्षेत्रमा नआएको भए ?
– त्यस्तो सोच्ने समयभन्दा पहिला नै कलाकारिता क्षेत्रमा आइयो । यता आएपछि अरू केही सोचिएन ।
० सुरुमा त गाह्रो भयो होला नि काम पाउन ?
– म त्यो कुरामा आफूलाई भाग्यमानी नै ठान्छु कि त्यस्तो सङ्घर्ष गर्नुपरेन । मेरो बुबा आफैं पनि सिनेमाको व्यवस्थापन हेर्नुहुन्थ्यो र त्यसकारण पनि कलाकारितामा टिक्क मलाई सहज भयो । पहिलोपटक नै शम्भु प्रधानजस्ता हिट निर्देशकको टेलिचलचित्र पुरुषमा काम गर्ने अवसर पाउनु पनि मेरा लागि ‘गोल्डेन चान्स’ नै थियो नि ।
० व्यस्त भएअनुसार दाम पनि राम्रै कमाइएको होला नि ?
– त्यस्तो गजबकै त छैन । खान-लाउन पुगेको छ ।
० बाहिर हिँड्दा पर्समा कति पैसा बोक्नुहुन्छ ?
– यति नै भन्ने छैन । परिस्थितिअनुसार बोकिन्छ ।
० कुन बैंकमा खाता छ ?
– मसँग पैसा नै छैन कसरी बैंकमा खाता खोल्नु नि ।
० मोबाइलमा प्राय: कति खर्च हुन्छ महिनाको ?
– पाँच सयदेखि हजारसम्म ।
० प्राय: कसलाई फोन गरिन्छ धेरैजसो ?
– यसैलाई भन्ने छैन । काम परे मात्र गरिन्छ नत्र म कसैलाई पनि फोन गरि्दनँ ।
० सपिङ जाने समय नि ?
– सपिङ नै भनेर गइँदैन । बजार गएको समयमा साथमा दाम छ भने किनिन्छ । सपिङ गर्ने भनेर छुट्याउने पैसा छैन ।
० प्राय: कसैलाई भेट्नुपर्‍यो भने कहाँ बोलाउनुहुन्छ ?
– कुनै सिनेमाको बारेमा कुराकानी गर्नुपर्‍यो भने दुवैलाई पायक पर्ने ठाउँमा । यही ठाउँ भन्ने निश्चित छैन ।
० तपा ईँले प्राय: गुनगुनाइरहने गीत -?
– … म छु नि तिम्रो ।

इश्वरी विवाहबन्धनमा
थुप्रै सिनेमामा सफलताका साथ बाल कलाकारको भूमिका निभाइन इश्वरी प्रधानले । एक समय बाल कलाकारको एकछत्र राज गर्न सफल इश्वरी प्रधान अब बाल कलाकार मात्र रहिनन् । अहिलेसम्म बाल कलाकारकै रूपमा चिनिए तापनि अब समयको परिवर्तनसँगै इश्वरीको जीवनमा पनि परिवर्तन आएको छ । उनी अब कसैकी श्रीमती अनि बुहारी बनिसकेकी छिन् । आफ्नी छोरीको कन्यादान गरेर चलचित्र निर्देशक शम्भु प्रधान र चलचित्र लेखिका नूतन प्रधान अमेरिकाबाट नेपाल फर्किएका छन् । ‘हो ! हामीले अमेरिकामा भए तापनि हिन्दू परम्पराअनुसार नै छोरीको विवाह गर्‍यौँ,’ शम्भु प्रधानले भने ।
करिब १० वर्षअगाडिदेखि अमेरिकामा आफ्नो परिवारका साथ बस्दै आएका गौरव श्रेष्ठसँगर् इश्वरी प्रधानको विवाह भएको हो । एक समय एकै स्कुलमा अध्ययन गर्ने गौरव इश्वरीबीच करिब १८ वर्षपछि फेसबुकबाट पुन: चिनजान भएको कुरा निर्देशक शम्भु प्रधानले बताए । अमेरिकाको कोलोराडोमा बस्दै आएको श्रेष्ठ परिवार त्यहाँ ग्यास स्टेसन सञ्चालन गर्ने गर्दछन् । हालर् इश्वरी अमेरिकामा नै छिन् भने उतै भए तापनि पढाइलाई निरन्तरता दिनेछिन् उनले ।
पढाइमा एमबीए सकाएकी इश्वरी अब नेपाल कहिले फर्किन्छिन् ? यसै भन्ने अवस्था छैन र वैवाहिक जीवनपछि उनको अभिनय-यात्रा टुङ्गिने निश्चित भएको छ ।

सिनेमा खेले पनि मोडलिङ नै प्यारो
पुराना कलाकारले नयाँ सिनेमा थेग्न नसकिरहेको अवस्थामा अब दर्शकले पनि नयाँ अनुहार खोजिरहेका छन् । यसै क्रममा नेपाली सिनेमाका दर्शकलाई नयाँ स्वाद र प्रस्तुति प्रस्तुत गर्ने उद्देश्यका साथ आएका छन् ध्रुव न्यौपाने ।
हेटौंडाका स्थायी बासिन्दा ध्रुव बितेको डेढ वर्षदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय छन्, तर, त्यसबीचमा उनलाई लक्की नै मानिन्छ, किनकि यो छोटो अवधिमा उनले चारवटा चलचित्रमा आफ्नो कौशलता प्रस्तुत गरिसकेका छन् भने १७ वटा त उनले म्युजिक भिडियोमा नै मोडलिङ गरिसकेका छन् ।
अब नेपाली चलचित्रमा जमेर नै लाग्ने सोच बनाएका ध्रुव शोभित बस्नेतको नयाँ चलचित्र ‘प्लान’बाट बढी नै आशावादी छन् । ‘म यो कुरामा आफूलाई भाग्यमानी नै ठान्छु कि छोटो समयमा नै राम्रो अवसर पाएको छु । अब यी चलचित्र प्रदर्शनमा आएपछि मेरो मूल्याङ्कन राम्रै हुन्छ भन्ने आशा गरेको छु,’ ध्रुवले भने ।
द क्राइम, सन्त्रास, को हुँ म र प्लान गरेर चारवटा चलचित्रमा काम गरेका ध्रुवले केकी अधिकारीसँग जोडी भएर म्युजिक भिडियोमा काम गरेका हुन् भने गायक स्वरूपराज आचार्यको तीनवटा र शिव परियारको एउटालगायत १७ वटा गीतमा मोडलिङ गरिसकेका छन् ।
सिनेमामा नायक भए तापनि म्युजिक भिडियोको मोडलिङलाई नछाड्ने कुरा उनी बताउँछन् । ‘दुवै विधा मेरा लागि उत्तिकै प्यारा छन् । त्यसैले एकसाथ दुवैलाई अगाडि बढाउनेछु,’ उनको योजना छ ।- राजन घिमिरे