रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध गराइने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिनेछ ।

पहिलो चरणको मतदान गर्न करिब ६ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिनेछ ।

केसीका अनुसार निर्वाचित भएका सदस्यहरुबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ । केसीले यही असार ८ गते दिउँसो २ बजे मनोनयन प्रक्रिया सुरु गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको बताए । असार ८ गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते गरिने उहाँको भनाइ छ । पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुनेछ ।

तीन हजारको हाराहारी प्रतिनिधि हुने अनुमान रहेको उल्लेख गर्दै उनले प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाइने जानकारी दिए ।

विदेशका १७० जना प्रतिनिधिमध्ये आउन नसक्नेहरुले एपमार्फत मतदान गर्नेछन् । रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र १० जना सदस्य रहेका छन् । निर्वाचन आयोगका प्रमुख र सदस्यले उम्मेदवारी दिन नपाउने भएपनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

केन्द्रीय समितिको बैठक बस्दै

रास्वपाको केन्द्रीय समितिको बैठक आज (६ असार) बस्दैछ । भरतपुरस्थित सिएटी होटलमा दिउँसो १ः०० बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।

बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उनले बताउनुभयो । रास्वपाले भोलि आइतबारदेखि चितवनमा आफ्नो प्रथम महाधिवेशन आयोजना गर्दैछ । महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहने बताइएको छ ।

महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयनसँगै भावी राजनीतिक कार्यदिशा र सङ्गठन विस्तारसम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने गौतमले बताए ।

चितवनमा हुन लागेको महाधिवेशनलाई रास्वपाले आफ्नो सङ्गठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।