बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार डाक्टर बुबा र नर्स छोरीको मृत्यु

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार डाक्टर बुबा र नर्स छोरीको मृत्यु


मोरङमा सोमबार बिहान भएको सवारी दुर्घटनामा बाबु–छोरीको मृत्यु भएको छ । कोसी राजमार्गअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका– १ स्थित शान्तिचोकमा भएको सो सवारी दुर्घटनामा परेर डाक्टर र नर्स रहेका बाबु–छोरीको मृत्यु भएको हो ।

दुर्घटनामा परी बुढीगंगा गाउँपालिका– ५ घर भएका ५२ वर्षीय डा. शुवालाल माझी र २६ वर्षीया अञ्जली माझीको मृत्यु भएको हो ।

मृतक शुवालाल विराटनगरको गोल्छा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ हुन् भने अञ्जली न्युरो अस्पतालकी स्टाफ नर्स हुन् ।

को.२७ प १०२२ नम्बरको मोटरसाइकलमा विराटनगर आउँदै गरेका उनीहरूलाई विराटनगरबाट सुनसरीको खनारमा रहेको कल फेसन्स सोलुसन नामक कपडा उद्योगका कामदार लिएर जाँदै गरेको को.१ख ७२३२ नम्बरको बसले ठक्कर दिएको थियो । मोटरसाइकल शुवालालले चलाएका थिए भने अञ्जली मोटरसाइकलमा पछाडि बसेकी थिइन् ।

दुर्घटनामा परेर घाइते भएका दुवैलाई उपचारका क्रममा विराट टिचिङ अस्पतालमा लैजाँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

लाइन मिचेर बस अघि बढ्ने क्रममा विपरीत दिसाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । बस र बसका चालक ३४ वर्षीय सञ्जीव खत्रीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।