- श्रीविक्रम भण्डारी
१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन र समापन समारोहको आयोजना हुने अन्तर्राष्ट्रिय रङ्गशाला ‘दशरथ रङ्गशाला’को भिआईपी प्यारापिटले अहिलेसम्म पूर्णता पाउन सकेको छैन् । भिआईपी प्यारापिटले पूर्णता नपाएपछि त्यसलाई छिटोभन्दा छिटो पूर्णता प्रदान गर्न अहिले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) प्रत्येक दिन दशरथ रङ्गाशाला धाउन थालेका छन् । साथै निधारमा हात राख्दै पोलमा बसेर उनले सुस्केरा पनि हाल्न थालेका छन् ।
मन्त्री सुनारको यस्तो ब्यथित अवस्था देखेपछि अहिले उनीप्रति सहानुभूति प्रकट गर्ने व्यक्तिहरू भन्न थालेका छन्– ‘दुःख पाइस् मंगले आफ्नै ढंगले ।’
उनको यस्तै गैरजिम्मेवारी हर्कतले गर्दा आठौँ राष्ट्रियमा विश्वकर्माको मन्त्री पद दाउमा लागेको थियो । कसो तत्कालिन राखेपका सदस्यसचिव केसवकुमार विष्टले छोटो समयमा आठौँको सफल आयोजना गरेर विश्वकर्माको मन्त्री पद बचाइदिएका थिए । अहिले पनि उनको मन्त्री पद दाउमा लागेको छ, अव कसरी बचाउँछन् त्यो हेर्नलायक बनेको छ ।
मंसिर १५ गते उद्घाटन समारोहको आयोजना हुने दशरथ रंगशालाको भिआईपी प्यारापिटमा कार्तिक २० गते बुधबारसम्म बल्ल दुईवटा पोल खडा भएका छन् । भिआईपी प्यारापिटमा १९ वटा पोल खडा गर्नुपर्नेछ । दिन–रातगरी जम्मा दुईवटा पोल खडा भएको भिआईपी प्यारापिटमा अन्य पोल खडा गर्न अब कम्तीमा पनि एक साताभन्दा बढीे समय लाग्ने देखिन्छ ।
यतिबेला भिआईपी प्यारपिटको दक्षिणतर्फबाट पोल राख्ने कार्य आरम्भ भएको छ । सानो क्रेनबाट पोल राख्ने कार्य हुँदा उत्तर र दक्षिणका भागमा उक्त क्रेनबाट पोल राख्न सकिने भएपनि विच राख्न सकिँदैन । जुन ठाउँबाट अहिले क्रेनको प्रयोग गरिएको छ त्यहाँबाट क्रेनको लम्बाई कम भएकोले काम गर्न सक्तैन ।
ठेकेदारले अब चाँडै अर्को ठूलो क्रेनबाट काम गर्ने राखेपका निर्माण प्रमुख इन्जिनीयर अरुण उपाध्य बताउँछन् । उनले ठेकेदारहरूसँगको बैठकमा उनीहरुले ठूलो क्रेन ल्याएर दिनरात काम गर्ने सम्झौता भएको बताए ।
ठूलो क्रेनले पनि काम गरेन भने हेलिकोप्टरबाट पनि पोल राख्ने ठेकेदारले भनेको उपाध्ययले बताए । अबको १५ दिनमा भिआईपी प्यारापिटको सम्पूर्ण कार्य सकिने उनको दाबी थियो । १५ दिनसम्म पनि भिआईपी प्यारापिटको कार्य सकिएन भने के गर्नुहुन्छ त भन्दा उपाध्यायले त्यो आफ्नो जिम्मेवारीभित्र नपर्ने जवाफ दिए ।
भिआईपी प्यारापिटमा बल्ल पोल राख्न कार्यको शुरुवात भएको छ । त्यो कहिलेसम्म पूरा हुन्छ भन्न सकिने अवस्था छैन । सेन्टेथिक ट्रयाकले गर्दा पोल हाल्ने कार्यमा ढिलासुस्ती हुने पक्का छ । किनकि सेन्टेथिक ट्रयाकमा क्रेन राखेर काम गर्न सकिँदैन । अबको विकल्प भनेको ठूलो क्रेन वा हेलिकोप्टर नै भएकोले ठेकेदारहरुले कसलाई प्रयोगमा ल्याउँछन् त्यो प्रतीक्षाको विषय बनेको छ । यदि हेलिकोप्टरबाट पोल हालिन थालियो भने त्यो कति खर्चिलो हुनेछ र त्यो सोझै अड्कन काट्न सकिन्छ ।
अर्को कुरा आठ–नौ दिनमा भिआईपी प्यारापिटमा पोल ठडिए पनि त्यसमा छाउने छाना अहिलेसम्म नेपाल आइपुगिसेको छैन । चीनबाट छाना हिँडेको महिनौं भए पनि नेपाल भित्रिन भने सकेको छैन । यस्तो अवस्थामा भिआईपी प्यारापिटको सम्पूर्ण कार्य दुई सातामा कसरी सकिन्छ त्यो चर्चा र चासोको विषय बनेको छ ।
त्यस्तै छाना निर्माणपछि सिट राख्नुदेखि रंगरोगन गर्नुपर्नेसम्म सबै कार्य बाँकी छन् । सवैभन्दा महत्वपूर्ण कुरा भिआईपी प्यारापिटमा छाना हाल्ने काममा भएको ढिलाईका कारण अहिलेसम्म साउन्ड सिस्टम राख्न सकिएको छैन । चीनले साउन्ड सिस्टम ल्याएको चार महिना बितिसक्दा पनि छानाकै कारणले गर्दा ती साउन्डका उपकरण त्यसै थन्किएर बसेका छन् ।
आजसम्म रंगशालामा आठ हजार सिट फिट भैसक्ने जानकारी प्राप्त भएको थियो, तर अन्य सिटहरु नेपाल भित्रिए पनि काठमाडौं भित्रिनसकेको थाहा भएको छ । पूरै रंङ्गशालामा १५ हजार सिट फिट हुनेछन् । जसमा भिआईपी प्यारापीट र सामान्यतर्फ अलग–अलग सिट राखिने छ ।
प्रतिक्रिया