भोजपुरमा १८ करोडभन्दा बढीको गाँजा नष्ट

भोजपुरमा १८ करोडभन्दा बढीको गाँजा नष्ट


जिल्ला प्रहरी कार्यालय भोजपुरले गाँजा फँडानीलाई तीव्रता दिएको छ । हालसम्म जिल्लामा २०२ रोपनीमा लगाइएकोे गाँजा नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्लाभर आफैँ उम्रेको तथा व्यावसायिक रूपमा खेती गरिएको गाँजा नष्ट गर्ने अभियान चलाएको हो । विशेष गरेर जिल्लाको दक्षिणी भेगमा रहेका हतुवागढी र आमचोक गाउँपालिकाअन्तर्गत पर्ने उदयपुर, खोटाङ र धनकुटाका सिमानामा पर्ने क्षेत्रमा गाँजा नष्ट गरेको छ ।

प्रहरीको गाँजा फँडानी अभियानअन्तर्गत हसनपुरको मुस्ताङ तथा दूधकोसी नदीको सिमानामा व्यावसायिक खेती गरिएको गाँजा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय वयाङ, प्रहरीचौकी हसनपुर, सशस्त्र प्रहरी वेसक्याम्प युँको टोलीले गाँजा फँडानी गरेको हो ।

इलाका प्रहरी कार्यालय घोडेटारका प्रमुख प्रहरी निरीक्षक जसबहादुर लिम्बूले भने, ‘हाम्रो क्षेत्रको विभिन्न ठाउँमा व्यावसायिक रूपमा लगाएको गाँजा नष्ट गरिरहेका छांँ, यो अभियान जारी छ, तर स्वामित्व भएको जग्गाभन्दा पनि पछिल्लो समय जंगल फँडानी गरेर खेती गरेको फेला परेका छौँ ।’

जंगलको भीरपाखामा गाँजाको बगान फेला परेको भए पनि कसले लगाएको हो भन्ने यकिन गर्न कठिन रहेको छ । घनाजंगलभित्र नै कतिपय ठाउँमा बाख्रापालन गरेर गाँजाको लागि मल तयार गर्ने गरेकोसमेत प्रहरीले फेला पारेको छ । प्रहरीको सक्रियता बढेसँगै यसको खेती गर्ने तरिका पनि फेरिएकाले अभियानलाई अझ प्रभावकारी बनाइने प्रहरीले जनाएको छ ।

अभियानअन्तर्गत अहिलेसम्म २०२ रोपनी क्षेत्रमा लगाएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर समालीमगरले बताए । प्रमुख मगरले भने, ‘यो अभियान भोजपुरमा मात्र नभएर देशभर नै चलिरहेको छ, हाम्रो जिल्लामा हालसम्म १८ करोडभन्दा बढीको गाँजा नष्ट गरेका छौँ, यो अभियान अझ पनि जारी छ ।’

‘कतिपय ठाउँमा फँडानी गर्न जाने क्रममा स्थानीयले अवरोध गर्ने कोसिस गरेको पनि मलाई विभिन्न प्रहरी चौकीबाट जानकारी आउने गरेको छ, त्यस्तो ठाउँमा जिल्लाबाट टोली लिएर म आफैँ जाने गरेको छु,’ प्रमुख मगरले बताए ।
rss