बाबुराम, प्रदीप र गगन -विधान श्रेष्ठ

बाबुराम, प्रदीप र गगन -विधान श्रेष्ठ


सन्त कवीरदासले बोलीको बारेमा भनेका छन्, ‘ज्रि्रोमा अमृत हुन्छ बोल्न जानून् यदि कोही, र्सप बिष ओकल्दछ हिलाउन् ज्रि्रो त्यसको कोही ।’
सुकरात भन्छन्, ‘जबसम्म बोली तिम्रो मुखबाट निक्लँदैन, तबसम्म त्यो बोली तिम्रो अधीनमा हुन्छ । जसै त्यो मुखबाट निस्कन्छ अनि तिमी त्यसको अधीनमा हुन्छौ ।’ संसारका विद्वत् राजनीतिज्ञहरूले सबैभन्दा विचार गर्नुपर्ने कुरा यही हो । मलाई डा. बाबुरामप्रति बडो विश्वास थियो उनी जे बोल्छन् त्यही गर्छन्, तर मेरो विश्वास त्यसबेला तुषारापात भयो जुनबेला उनी भन्दै थिए- म सहमतीय प्रधानमन्त्री बन्न तयार छु, तर बहुमतीय सरकारको प्रधानमन्त्री बन्दिनँ किनकि वर्तमान समस्याको समाधान बहुमतीय सरकारले गर्न सक्दैन । यसो भनेर भाषण गरेकै केही दिनमा पार्टीले सहमतीय र बहुमतीय सरकारका लागि बाबुरामलाई प्रस्ताव राख्यो । प्रचण्डले सहमतीय सरकार बन्दैन भनेर भविष्यवाणी गरे अनि चुपचाप बाबुराम प्रधानमन्त्री बन्नुभयो । अहिले भन्दै हुनुहुन्छ- यो सरकार सबैभन्दा कम आयुको हुन सक्छ, यो सरकार कुनै पनि बेला ढल्न सक्छ । उहाँको राहत कार्यक्रम पनि बकम्फुसेजस्तो देखियो । संयुक्त राष्ट्रसङ्घको पहिलो भ्रमण र मधेसवादी दलहरूको कचकचले दिनगन्ती सुरु भएको सङ्केत गरिसकेको छ ।
प्रदीप नेपालले ६० वर्ष नाघिसकेपछि पदमा बस्नुहुँदैन र भए पनि छोड्नुपर्छ भनेर भन्नुभएको छ । उहाँ पनि करिब ६० वर्षको हाराहारीमा हुनुहुन्छ । उहाँले भन्नु पनि भएको छ- यो मेरो एमाले केन्द्रीय समितिमा अन्तिम पद हो, अब आउने एमाले महाधिवेशनमा मेरो कुनै उम्मेदवारी हुँदैन र राजनीतिक पदबाट टाढा रही साहित्यिक कदमतर्फ मेरो सिर्जनशील मस्तिष्कलाई लगाउनेछु । मलाई आशा एवम् विश्वास छ- उहाँले बोलेको कुरा अवश्य वनि पूरा गर्नुहुनेछ र उदारणीय भएर आफ्नो जीवनलाई सत्मार्गमा लगाउनुहुनेछ ।
एउटा पत्रिकामा पढेँ- गगन थापाले अन्तरिम संविधानमा भएभन्दा बढ्ता अवधि संविधानसभाको म्याद बढ्यो भने संविधानसभा सदस्यबाट राजीनामा दिनेछु । अनि अन्तर्वार्तामा उहाँको मुखबाट सुने- बढेको म्यादको तलब लिने छैन, -उहाँले थपिएको म्यादको तलब लिनु पनि भएको छैन) ५० वर्षपछि राजनीतिमा रहँदिनँ । आफ्नो व्यक्तिगत जीवन बिताउनेछु । तर यो धेरै इमोसनल विचार हो । मेरो तर्क के छ भने राजनीति गर्ने उमेर ६५ वर्षको हुनुपर्छ र विशेष अवस्थामा यो ७० वर्षसम्म पनि जान सक्ने हुनुपर्छ । गगन अहिले करिब ३५ वर्षको हुनुहुन्छ, १५ वर्षमा उहाँ कहाँ पुग्नुहुन्छ ? यदि ५० वर्षमा प्रधानमन्त्री बन्नुभयो भने यो देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिलाई सही रोडम्याप दिएर समुन्नत नेपाल बनाउन एउटा राजनीतिज्ञलाई १५ वर्षसम्म लाग्न सक्छ । त्यसैले पनि गगनले आफ्नो बोली पूरा गर्न धेरै कठिन छ । त्यसैले बोल्दा धेरै होसियारी अपनाउनुपर्छ, हुन सक्छ वर्तमानमा जसरी पनि पूरा गर्छु भन्ने लागेको होला । समयले कोल्टे फेर्दै जाँदा बोली फेरियो भने ‘बोलीको लाज राख्न’ सकिएन भने जति प्रिय भए पनि त्यसको केही अर्थ हुँदैन । त्यसैले पनि मैले भनेको नपुगोस् भनेर मैले याचना गरेको छु ।
बाबुरामले बोली बिगारिसक्नुभएको छ । प्रदीप नेपालको एमालेको आउने महाधिवेशनमा थाहा हुन्छ । गगन थापाको उमेरको हदम्याद अझै १५ वर्ष बाँकी छ । क्षणिक लोकप्रियताले व्यक्तिलाई व्यक्तित्व उचाइमा पुग्न सहयोग गरे तापनि लोकप्रियता बचाइराख्न धेरै कठिन हुन्छ । त्यसमा पनि आशा एवम् विश्वास गरेका व्यक्तिहरूबाट धोका भयो भने त्यसले नैराश्यता ल्याउँछ, अन्तत: सामाजिक परिवर्तन समुन्नत देशको विकासका लागि बाधक हुन्छ । अन्त्यमा, बोल्नु बडो अनमोल हो, पहिला हृदयरूपी तराजुमा शब्दहरूलाई तौलिएर मात्र मुखबाट निकाल्नुपर्छ ।(लेखक नेपाली काङ्ग्रेस पाल्पाका नेता हुनुहुन्छ ।)