आन्तरिक राजस्व कार्यालय कैलालीले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा रु. एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार राजश्व संकलन गरेको छ । कार्यालय दिएको जानकारीअनुसार चालू आवको चार महिनामा अन्तःशुल्कबाट रु. ४२ करोड ३३ लाख ५७ हजार संकलन गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ रु. एक अर्ब १० करोड ३० लाख एक हजार गरेको छ ।
त्यस्तै, घरभाडा करअन्तर्गत रु. दुई करोड ६८ लाख ८२ हजार, स्वास्थ्य करमा रु. दुई करोड पाँच लाख ५७ हजार र शिक्षा सेवाअन्तर्गत रु. एक लाख ५० गरी रु. एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार राजश्व संकलन गरेको कार्यालयप्रमुख चन्द्रकुमार श्रेष्ठले बताए ।
चालू आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा ३० प्रतिशत राजस्व संकलन भएको प्रमुख श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार चालू आवको पहिलो वर्ष चार महिनाको अवधिमा रु. एक अर्ब ६१ करोड दुई लाख ९७ हजार राजश्व संकलन लक्ष्य तोकिएको थियो । तर, चालू आर्थिक वर्षको पहिलो चार महिनामा तोकिएको लक्ष्य भने भेटाउन नसकिएको उनको भनाइ छ ।
चालू आर्थिक वर्षको चार महिनाको अवधिमा राजस्व संकलन लक्ष्य पूरा नभए पनि आर्थिक वर्षको अन्त्यसम्ममा तोकिएको लक्ष्यअनुरूप नै संकलन हुने श्रेष्ठको जिकिर छ । आन्तरिक राजस्व कार्यालयका अनुसार विगतका वर्षहरूमा अन्तःशुल्क बढी उठ्ने गरेको भए पनि चालू आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर बढी संकलन भइरहेको छ ।
आन्तरिक राजस्व कार्यालय कैलालीलाई गत आर्थिक वर्षको तुलनामा चालू आव ०७६–७७ मा दोब्बरभन्दा बढी लक्ष्य तोकिएको छ । सो कार्यालयका अनुसार चालू आर्थिक वर्षमा रु. पाँच अर्ब १५ करोड राजस्व संकलनको लक्ष्य दिइएको छ । कार्यालयले गत आव ०७५–७६ मा रु. दुई अर्ब ४२ करोड राजस्व संकलनको लक्ष्य पाएकामा रु. तीन अर्ब ७२ करोड (१५४ प्रतिशत) राजश्व संकलन गरेको थियो ।
rss
प्रतिक्रिया