१३औँ साग ‘नहुनु मामाभन्दा… राम्रो’

१३औँ साग ‘नहुनु मामाभन्दा… राम्रो’


■ श्रीविक्रम भण्डारी

आज मङ्सिर १२ गते, अहिलेसम्म १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का भौतिक पूर्वाधार निर्माणाधीन अवस्थामै छन् । राष्ट्रिय रंगशाला दशरथ रंगशाला, पोखरा रंगशाला र हिटिङ पौडीपोखरीले पूर्णता पाएका छैनन् । तैपनि १३औँ साग निर्धारित समयमा हुने कुरामा अब आशङ्का रहेन । सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले निर्धारित समयअघि नै सम्पूर्ण पूर्वाधार तयार हुने दाबी गर्दै १३औँ भव्य रूपमा आयोजना हुने दाबी गरेका छन् । अहिले साम, दाम, दण्ड, भेद चारैै नीतिको उपयोग गर्दै जसरी भए पनि १३औँ साग गर्ने पक्षमा सम्बन्धित निकाय देखिएको छ । यस्तो हतारमा गरिएको कार्यमा लतारपतार हुने पक्का छ, यसमा कुनै शङ्का छैन । र पनि, यतिबेला राष्ट्रको प्रतिष्ठा दाउमा लागेको छ, ‘नहुनु मामाभन्दा… राम्रो’ भन्ने अवस्थाको सिर्जना भएको छ । जसलाई आत्मसात् गर्नु यतिबेला आमनेपालीको लागि बाध्यता र विवशता बनेको छ ।

अहिले राष्ट्रको प्रतिष्ठा १३औँ सागमा गाँसिएको छ, किनकि राष्ट्रले १३औँ सागको आयोजना गर्दै छ । राज्यले १३औँ सागको लागि अर्बौंको लगानी गरेको छ । तर, विडम्बना ! राज्यले अर्बौंको लगानी लगाउँदासमेत सागको जुन किसिमले आयोजना हुनुपर्ने हो त्यो भइरहेको छैन । यसमा दोषी को त भन्दा राज्यको नाम नै अग्रपङ्क्तिमा आउँछ । यदि राज्यले सही समयमा सही निर्णय गरेको भए अहिलेको जस्तो अवस्थाको सिर्जना कदापि हुने थिएन । समयले नेटो काट्नै लाग्दा अर्थात् ‘जब पऱ्यो राति अनि बूढी ताती’को भूमिका राज्यले निर्वाह गर्दा १३औँ सागको यस्तो हरिविजोग भएको हो । परिणाम, यतिबेला १३औँ सागको खुलेर समर्थन र विरोध गर्ने अवसर आमनेपालीलाई प्राप्त भएको छैन । विरोध गर्दा राष्ट्रको प्रतिष्ठामा आघात पर्ने, नगर्दा प्रत्यक्ष रूपमा आँखाअगाडि देखिएका निर्माणाधीन भौतिक पूर्वाधारको अवस्थाबारे के भन्ने ? तसर्थ १३औँ साग अहिले ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छो बाउको अनुहार’जस्तै बनेको छ । यथार्थमा भन्नुपर्दा १३औँ सागको वास्तविकता यही हो ।

१३औँ सागको आयोजना जसरी हुन गइरहे पनि नेपालले यो सागमा कति स्वर्ण पदक जित्ला कुतूहलको विषय बनेको छ । आफ्नै भूमिमा आयोजना भएको आठौँ सागमा नेपालले ३२ स्वर्ण पदक जितेर ऐतिहासिक कीर्तिमान बनाएको थियो । त्यतिबेला नेपालले चार खेल तेक्वान्दो, कराते, बक्सिङ र पौडीमा स्वर्ण पदक जितेको थियो । १३औँ साग नेपालमा आयोजना हुँदै छ, यो सागमा नेपालले २८ खेलमा प्रतिस्पर्धा गर्दै छ । नेपालले सहभागिता जनाएका २८ खेलमध्ये कति खेलमा स्वर्ण पदक जित्ला त्यो अहिले चासोको विषय बनेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ सागमा नेपालले ५० स्वर्ण पदक जित्ने सार्वजनिक घोषणा गरिसकेका छन । तर, सिलवालले कुन–कुन खेलमा नेपालले कति स्वर्ण पदक जित्ने खुलासा भने गरेका छैनन् । सङ्घका पदाधिकारीसँग गरेको छलफलपछि सिलवालले यस्तो धारणा सार्वजनिक रूपमा राखेका थिए । सिलवालले गरेको ५० स्वर्ण जित्ने घोषणा भविष्यमा कति सार्थक होला यो अहिले चर्चाको विषय बनेको छ ।

यसै कुरालाई मध्यनजर गर्दै १३औँ सागमा सम्भावित स्वर्ण पदक जित्ने खेलबारे विश्लेषण गर्दा उचित हुनेछ । १३औँ सागमा नेपालले अत्यधिक स्वर्ण पदक जित्ने खेलहरूमा तेक्वान्दो, कराते र उसुको नाम अग्रपङ्क्तिमा देखिएको छ । यी तीन खेलमा नेपालले कम्तीमा पनि २५ देखि ३५ स्वर्ण पदक जित्ने अनुमान गरिएको छ । यीबाहेक अन्य २५ खेलको विश्लेषण गर्दा स्वर्ण पदक जित्न सक्ने कुरामा नाक खुम्च्याउने अवस्था छ । जहाँसम्म फुटबलको कुरा छ, जे पनि हुन सक्छ, ठोकुवा गरेर स्वर्ण पदक जित्छ भनेर भन्न सक्ने अवस्था छैन । त्यस्तै बक्सिङ, जुडो, सुटिङ, टेबुलटेनिस, भारोत्तोलन, पौडीमा नेपालले विगतमा स्वर्ण पदक जिते पनि अहिलेको अवस्थामा स्वर्ण पदकको दाबी गर्ने अवस्था छैन । माथि उल्लेखित यी खेलमध्ये जुडो र बक्सिङमा एउटा स्वर्ण जिते त्यो नेपालको लागि ठूलो उपलब्धि हुनेछ । एथलेटिक्सतर्फ म्याराथनतर्फ आस गर्न सकिने भए पनि अन्य ट्र्याक एन्ड फिल्डमा नेपाली खेलाडीले त्यस्तो कुनै चमत्कार देखाउने कुरामा विश्वास गर्न सकिँदैन ।

१३औँ सागमा फेन्सिङ, ट्राइयाथलन, भलिबल, कुस्ती, टेनिस, ब्याडमिन्टन, क्रिकेट र पौडीका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने सक्ने अड्कल काट्न सकिन्छ । यी खेलमा नेपालले रजतपदकसम्म जित्ने सम्भावना देखिए पनि स्वर्ण पदकको ग्यारेन्टी गर्न सकिने अवस्था छैन । जसमा महिला भलिबल र पौडीमा रजत पदकको आस गर्न सकिन्छ । हालै बंगलादेशमा महिला भलिबल खेलाडीले गरेको प्रदर्शन र १२औँ सागमा पौडीतर्फ गरिमा राणाले जितेको रजत पदकका कारण यस्तो अपेक्षा गर्न सकिन्छ । तर, क्रिकेटमा नेपालको जस्तोसुकै चर्चा चले पनि कांस्य पदक जिते पनि नेपालको लागि ठूलै उपलब्धि मानिनेछ । किनकि भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका सामु नेपालको प्रदर्शन रहला त्यो सोझै अड्कल काट्न सकिन्छ ।

अन्य खेलहरूमा आर्चरी, सुटिङ, भारोत्तोलन, कुस्ती, बास्केटबल, कबड्डी, ह्यान्डबल, बिचभलिबल, स्क्वास, गल्फ र साइक्लिङमा नेपाली खेलाडीको सामान्य प्रदर्शन रहने अनुमान गर्न सकिन्छ । यी खेलमा नेपालले कुनैमा कांस्य पदक जित्ने देखिन्छ त कुनैमा पदकविहीन पनि हुन सक्छ । यस्तो स्थितिमा नेपालले १३औँ सागमा सहभागी खेलहरूमध्ये पाँचवटा खेलमा मात्र स्वर्ण पदक जित्न सक्ने सम्भावना देखिन्छ । ती खेलहरूमा पनि नेपालले कुन खेलमा सबैभन्दा बढी स्वर्ण पदक जित्छ ठोकुवा गर्ने अवस्था छैन । प्राप्त जानकारीअनुसार यसपटक तेक्वान्दो १६ देखि १९ स्वर्ण जित्ने रणनीतिमा लागेको बुझिएको छ । १२औँ सागमा पहिलोपटक स्वर्ण पदकविहीन बनेको तेक्वान्दोले यसपटक त्यसको सुदसहित बदला लिने सोच बनाएको छ । त्यस्तै, करातेले पनि आठौँ साफमा जितेको १४ स्वर्ण पदकभन्दा बढी स्वर्ण जित्ने लक्ष्य बनाएको छ भने उसुले १० स्वर्ण जित्ने भनेर घोषणा नै गरिसकेको छ । अब तेक्वान्दो, कराते र उसुले १३औँ सागमा कति स्वर्ण पदक जित्छन् त्यो भविष्यले अवश्य बताउनेछ ।

सदस्यसचिव सिलवालले १३औँ सागमा नेपालले ५० वटा स्वर्ण जित्ने दाबी गरेका छन् । यो आँकडा अब यी सम्भावित स्वर्ण पदक जित्ने सूचीमा राखिएका खेलले पूरा गर्न सक्लान्– त्यो अहिले चर्चाको विषय बनेको छ । आठौँ साफमा मात्रै ३१ स्वर्ण पदक जितेको नेपालले अन्य राष्ट्रमा आयोजना भएका साग गेममा सोचेको जस्तो प्रदर्शन गर्न सकेको छैन । १३औँ साग नेपालमा हुँदै छ, त्यसमाथि तेक्वान्दो र करातेमा सबैभन्दा बलियो राष्ट्र भारतले सहभागिता जनाएको छैन । यस्तो अवस्थामा नेपालले यी खेलमा सर्वाधिक स्वर्ण पदक जित्ने अवसर छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा के यी तीन खेलमा मात्र स्वर्ण पदक जित्दा नेपालको सफलता मान्न सकिन्छ ? प्रश्न उठ्नु स्वाभाविकै हो ।