महिला भलिबलमा नेपालको विजयी सुरुआत

महिला भलिबलमा नेपालको विजयी सुरुआत


१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा नेपालले बंगलादेशलाई २५–९, २५–९ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।

नेपालभन्दा निकै कमजोर देखिएको बंगलादेश सुरुका दुई सेटमा निरह देखिए पनि तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । तेस्रो सेटमा ९ स्कोरसम्म नेपालसंग बराबरी खेलेको बंगलादेश त्यसपछि पुनः कमजोर प्रदर्शन गर्दै २५–११ मै खुम्चिएको थियो ।

समूह ‘बी’ मा माल्दिभ्स र पाकिस्तानबीच हुने पर्ने महिलाकै अर्को लिगमा पाकिस्तान नआएपछि माल्दिभ्सले वाक ओभर पाएको छ ।

पुरुष भलिबलमा भने बंगलादेशले नेपाललाई ३–२ सेटले पराजित गऱ्यो । समूह ‘ए’ को लिग खेलमा बंगलादेशले नेपाललाई २१–२५, २५–२३, १९–२५, २६–२४ र १५–१२ ले पन्छायो ।

पाँच सेटसम्म चलेको निकै प्रतिस्पर्धात्मक खेलमा सुरुको सेट नेपाले जिते पनि दोश्रो सेट बंगलादेशले जितेको थियो । त्यस्तै तेश्रो सेट जितेर नेपालले अग्रता लिएपनि चौथौ र पाँचौ सेट बंगलादेशले जितेको थियो ।

प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले रेफ्री संयोजक गौतम लासिवालाई बल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए । सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएपनि भलिबल मंसिर ११ गतेदेखि नै सुरु भएको हो ।