ओलम्पिक टर्च पुग्यो पोखरा

ओलम्पिक टर्च पुग्यो पोखरा


१३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को पुर्वसन्ध्यामा ओलम्पिक टर्च पोखरा पुगेको छ । काठमाडौंको स्वयम्भुबाट शुरु भएको ओलम्पिक टर्च आज (१३ मंसिर, शुक्रबार) पोखरा ऱ्याइएको हो । टर्चलाई ओलम्पिनसहित खेलाडीहरुले पोखरा रंगशालाबाट नगर परिक्रमा गराएका थिए ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले टर्च प्रज्वलन गरी ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरी शुरु भएको ऱ्यालीले पोखराको विभिन्न भागको परिक्रमा गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च ऱ्याली आयोजना गरिएको हो । ओलम्पिक टर्च ६ जना ओलम्पियनले देशका प्रमुख सहरमा पुऱ्याउने क्रममा पोखरा आएका हुन् ।

मंसिर १५ गतेदेखि सुरु हुने सागको ओलम्पिक टर्च ऱ्यालीमा नेपालका चर्चित ओलम्पियन टिकाराम श्रेष्ठ, जितबहादुृर के.सी, मुकुन्दहरि श्रेष्ठ, ज्ञानबहादुर वोहरा, कान्छीमाया कोजु र राजकुमारी पाण्डे सहभागी भएका थिए ।

ऱ्यालीमा सागका डेपुटी सेभ द मिसन समेत रहेका नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, १३औं साग स्थानीय सहजिकरण समितिका सदस्य मोहन रेग्मी, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी लगायत खेल संघका पदाधिकारी, कर्मचारी एंव खेलाडीहरुको सहभागिता रहेको थियो ।