एनआरएनको साझा अभियानलाई मूर्तरूप दिन चाहन्छु

एनआरएनको साझा अभियानलाई मूर्तरूप दिन चाहन्छु


-देवमान हिराचन (अध्यक्ष, गैरआवासीय नेपाली सङ्घ)
नेपाल र जापानबीच सम्बन्ध प्रगाढ बनाउन तथा सांस्कृतिक सद्भावना दूतको भूमिकामा आफ्नै प्रकारले सक्रिय रहँदै आउनुभएका देवमान हिराचनले ३८ वर्षदेखि जापानमा व्यापार-व्यवसाय गर्दै आउनुभएको छ । मुस्ताङ मार्फामा जन्मनुभएका हिराचन अध्ययनका लागि छात्रवृत्ति पाएर जापान पुग्नुभएको थियो । सामाजिक कार्यमा पनि उत्तिकै सक्रियता दर्शाउने उहाँले जापानी साथीहरूसँग मिलेर गोरखा, मुस्ताङ, पोखरा आदि स्थानमा डेढ दर्जन स्कुल निर्माण गरिसक्नुभएको छ भने सयौँ छात्रछात्रालाई निजी तवरबाट छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ । जन्मभूमिलाई स्वर्गका रूपमा तुलना गर्ने देवमान नेपालको विकासका लागि स्थायी शान्ति र पूर्ण राजनीतिक सहमति आवश्यक पर्ने धारणा अघिसार्नुहुन्छ । सन् २००३ मा एनआरएन अभियान सुरु भएदेखि नै त्यसमा सक्रिय उहाँ काठमाडौंमा आयोजित पहिलो विश्व सम्मेलनबाट कोषाध्यक्ष र दोस्रो सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । हाल गैरआवासीय नेपाली सङ्घको अध्यक्षका रूपमा कुशल नेतृत्व प्रदान गरिरहनुभएका हिराचनसँग घटना र विचारका लागि जयप्रकाश त्रिपाठीले गर्नुभएको कुराकानीको प्रमुख अंश प्रस्तुत गरिएको छ ।
० एनआरएन अध्यक्षका रूपमा तपाईंको दुई वर्षको कार्यकाल पूरा हुँदै छ, कस्तो रह्यो यो कार्यकाल ?
– गैरआवासीय नेपाली सङ्घ सामूहिक एवम् संस्थागत रूपमा अघि बढ्नुपर्छ भन्ने धारणा मैले सुरुदेखि नै राख्दै आएँ र त्यसका लागि आफ्नोतर्फबाट अथक प्रयत्न पनि गरेँ । फलस्वरूप एनआरएनएको संस्थागत सञ्चालनको पद्दतिनजिक सङ्घ पुगेको अनुभूति गरेको छु । ५६ राष्ट्रमा एनआरएनए सङ्गठन फैलिसकेको छ । ती देशका जनता, सरकार र एनजीओहरूसँग सम्पर्क तथा सम्बन्ध विस्तारका लागि यसले पुलको काम गरिरहेको छ । संसारभर नेटवर्क बनाई कुनाकुनामा रहेका गैरआवासीय नेपालीलाई चिनाउन सङ्घ सफल भएको छ । शान्त र समृद्ध नेपाल बनाउनका लागि एउटै विचार, भावना जगाउन संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको छ । अध्यक्षको जिम्मेवारी सम्हालेयता आफूले सुरु गरेको यो अभियानले मूर्तरूप पाउँदै गरेको अनुभूति मैले गरेको छु ।
० तपाईंको कार्यकालमा भएका मुख्य कार्य के-के हुन् ?
– सबभन्दा महत्त्वपूर्ण त ड्युअल सिटिजनसिपको मुद्दा नै हो । २७ वटा दलसँग हाम्रो कुरा भइसकेको र उनीहरू सकारात्मक पनि देखिएका छन् । सरकार पनि सकारात्मक रहेको छ । एनआरएन परिचयपत्र त हामीले पाइसकेका छौँ । खुला विश्वविद्यालयको कुरा पनि क्याबिनेटले पास गरिसकेको छ । अन्य थुप्रै काम सम्पन्न भएका छन् र कैयन काम चालू हालतमै छन् । एक लाइनमा भन्नुपर्दा सङ्गठित किसिमबाट यो संस्था अघिबढ्न थालेको छ ।
० दोहोरो नागरिकता प्राप्त हुँदा तपाईंहरूलाई के फाइदा र राज्यलाई के घाटा हुन्छ र सरकारले यसरी अप्ठ्यारो मानिरहेको छ –
– दोहोरो नागरिकता भन्ने शब्दलाई अलिक परिमारि्जत रूप दिँदै यतिबेला हामीले ‘एकचोटि पाएको नागरिकता नखोसियोस्’ या ‘एकपटकको नेपाली सधैंका लागि नेपाली’ भन्ने गरेका छौँ । हामीले नागरिकता नभएकोलाई नागरिकता देऊ भनेको नभई एकपटक दिएकोमा अब नखोसियोस् भन्न खोजेका मात्र हौँ । विदेशमा गएर नेपालीले रहरले भन्दा पनि बाध्यताले त्यहाँको नागरिकता लिएका हुन्छन् । यर्सथ यहाँको नागरिकता खारेज नगरियोस् भन्ने हाम्रो माग हो । फाइदा र घाटाको सवालमा भन्नुपर्दा राज्यलाई त फाइदा नै फाइदा छ यसबाट । जस्तो कि, पूर्वगोर्खा सैनिक बेलायत गइरहेका छन् । उनीहरूले बेलायती नागरिकता लिँदा आफ्ना सम्पूर्ण कुरा गुमाउनुपरिरहेको छ । घर-खेत सबै बेचेर उतै लैजाने भए, पेन्सनहरू पनि उहीँ प्रयोग गर्ने भए । यदि नेपाली नागरिकता पनि कायम हुन्थ्यो भने यता आउने-जाने बाटो रहिरहन्थ्यो, पैसा पनि आउँथ्यो, देशको माया गरिरहने अवस्था हुन्थ्यो । भोलि १५-२०-५० वर्षपछि पनि छोरा-नातिहरूले ‘म पनि नेपाली हुँ, आफ्नो अस्तित्व जोगाउनुपर्छ’ भन्ने सोच राखेर काम गर्ने भएकोले यसमा हामीले जोड दिएका हौँ ।
० भनेपछि एनआरएनलाई भन्दा पनि देशलाई पो फाइदा रहेछ त दोहोरो नागरिकता प्रदान गर्दा, होइन ?
– हो, धेरै फाइदा छ देशलाई । यही कुरा हामीले राज्यका सबै निकायलाई बुझाउने प्रयास गरेका हौँ, यस मुद्दाका सर्न्दर्भमा २७ वटा राजनीतिक दलका नेतृत्वसँग पनि हामीले भेट गरिसक्यौँ । उहाँहरूले सकारात्मक सङ्केत दिनुभएको छ ।
० गैरआवासीय नेपाली सङ्घको पाँचौँ विश्व सम्मेलन नजिक आउँदै छ, तपाईंले पुनः अध्यक्षमा उम्मेदवारी दिन लाग्नुभएको हो –
– हो, मैले अर्को एक कार्यकाल पुनः एनआरएनको नेतृत्व गर्ने दाबेदारी पेस गर्दै छु ।
० पुनः यसरी नेतृत्वको चाहना राख्नुको कारणचाहिँ के हो नि ?
– ३० लाख नेपालीको नेतृत्व गर्ने अभियानका लागि दुई वर्ष भनेको एकदम छोटो समय हो । मेरो अनुभवले यही भन्छ । मेरै कुरा गर्नुपर्दा एक वर्ष त एनआरएनको विषयमा बुझ्दाबुझ्दै बित्यो भने अर्को एक वर्षचाहिँ कामहरू अघि बढाउँदाबढाउँदै गुज्रिएको छ । ३०-४० वटा महत्त्वपूर्ण कामहरू भएका छन् र कैयन् काम अधुरै छन् । ५६ राष्ट्रमा हाम्रो सङ्गठन छ तर जम्मा १८ वटामा मात्र म पुग्न भ्याएको छु । ३८ राष्ट्रको अवस्था त प्रत्यक्ष रूपमा बुझ्न बाँकी नै छ । यो ठूलो अभियान हो र यो समुद्ररूपी अभियानबाट पार पाउन डुङ्गामा चढिसकिएको छ । अब यात्रु बोकेर हिँडेको माझीले बीचैमा डुङ्गाबाट उत्रनु त कसैका लागि पनि हितकर हुँदैन नि ! पार त गरेरै छोड्नुपर्छ भन्ने मेरो अभीष्ट हो र यसमा साथीहरूले साथ-सहयोग प्रदान गर्नुभएको छ । मैले संस्थापक सदस्य र अहिले अध्यक्षका रूपमा अघि बढाएको अभियान पूरा गर्नकै लागि अर्को दुई वर्ष म नेतृत्वमा रहनुपर्छ भन्ने मेरो ठहर हो ।
० तपाईंको कार्यकालमा धेरै महत्त्वपूर्ण कामहरू भएको र हुँदै गरेको पनि बुझियो, तर एनआरएनको गति सुस्त भयो भनेर यसभित्रैबाट आवाज उठाइँदै छ नि, किन होला ?
– कसैले यसो भनिरहनुभएको छ भने यसलाई म विरोध गरेको मान्दिनँ, बरु सुझाव-सल्लाह प्रदान गरेको ठान्दछु । आ-आफ्नो सोचाइ र आ-आफ्नो प्रवृत्तिको कुरा हो । कोही छिट्टै प्रतिक्रिया दिन्छन् त कोही सोचसमझका साथ विचार गरेर बोल्छन् । कोही अर्काको कुरा गर्नमा आनन्द मान्छन् भने कोही त्यसो गर्नुलाई नराम्रो ठान्छन् । यो सबैलाई समेटेर लैजाने सङ्गठन हो र मेरो हरदम प्रयत्न पनि यही हो । विभिन्न देशमा रहेका नेपालीको सोचाइ, व्यवहार फरक-फरक हुन सक्छ, त्यसैलाई एकभावले समेटेर लैजानु नै एनआरएनको अभियान र उद्देश्य हो । सङ्गठन सुस्त भयो भन्ने साथीहरूलाई म यही भन्न चाहन्छु कि हामीले कसरी चल्नुपर्छ भन्ने सुझाव उहाँहरूबाट आउनुपर्छ, जसलाई हामी स्वागत गर्दछौँ र आफूबाट सङ्गठनका लागि के योगदान भयो भन्ने पनि उहाँहरूले आफैंलाई सोध्नु जरुरी छ जस्तो लाग्छ ।
० तपाईंजस्तो इमानदार र सरल व्यक्तिलाई पनि काम गर्दागर्दै खोट लगाएर विरोध गर्नुको तार्त्पर्य के हुन सक्छ – के फाइदा हुन्छ एनआरएनको अध्यक्ष बन्दा तपाईंलाई ?
– व्यक्तिगत फाइदा त केही छैन बरु बेफाइदा नै छ । आफ्नो समय, काम छोडेर संस्थाका लागि भागदौड गर्दा व्यक्तिगत फाइदा हुने त कुरै भएन उल्टै आफ्नो खर्च हुन्छ । अर्काले गरेको चित्तै नबुझ्ने, आफूले गर्न पनि नसक्ने अरूलाई पनि गर्न नदिने प्रवृत्ति हाम्रो नेपालमा धेरै नै छ भन्ने आरोप यसै कारणले लगाइएको होला । तर, यस्तो कुरामा नअल्झिई के गर्दा संस्था, गैरआवासीय नेपाली तथा समस्त देश र जनताको हित हुन्छ भन्नेतर्फ लाग्नुपर्छ भन्ने मलाई लाग्छ । सकारात्मक सोच सबैमा पलाओस् पनि भन्न चाहन्छु म यतिबेला ।
० स्वदेशी नेपालीले सोचेअनुसार गैरआवासीय नेपालीबाट मुलुकमा लगानी भित्रिन सकेन पनि भनिन्छ नि, यो सत्य हो ?
– पैसाको लगानीलाई मात्र लगानी मान्ने गरिन्छ हामीकहाँ, तर हामीले बाहिर गएर सिकेका, देखेका, अनुभव गरेका कुरालाई यहाँ आएर सिकाउने-बुझाउने र केही गर्ने प्रयत्न गरेका छौँ भने यसलाई पनि महत्त्वपूर्ण लगानी मान्नुपर्ने हुन्छ । अर्को कुरा लगानी आउन यहाँको वातावरण पनि उपयुक्त हुनुपर्छ । हेर्नुहोस् त मुलुकको अवस्था कस्तो छ ?! शान्तिसुरक्षाको स्थिति राम्रो हुनुपर्‍यो, राजनीतिक विवादको अन्त्य हुनुपर्‍यो, स्थिर सरकार हुनुपर्‍यो, नयाँ संविधान बन्नुपर्‍यो । यति भयो भने यहाँ लगानीको मात्रा निकै बढ्ने छ । हाम्रा थुप्रै विदेशी साथी पनि नेपालमा लगानी गर्न इच्छुक छन् । विद्युत् आदिको समस्या, लगानी सुरक्षित होला-नहोला भन्ने अनेक त्रास छ अहिले त ! राज्यले यसको ग्यारेन्टी गरेको दिन लगानी कसरी भित्रिन्छ देख्न सक्नुहुन्छ । जो-कसैले पनि लगानी त फाइदाकै लागि गर्ने हो नि, होइन र ? एनआरएनले मात्र लगानी गरेर हुँदैन, देशभित्रका नेपालीले पनि हातमा हात दिनुपर्छ, तब मात्र देश समृद्धितर्फ अघि बढ्छ भन्ने मलाई लाग्छ । एनआरएनहरू पैसा ल्याऊ र यहाँ छोेडेर जाऊ भन्ने भावना नराखी हामीले ल्याएको लगानीलाई देशहितमा लागू गराउन सहयोग पुर्‍याउनुपर्छ । हामीले मात्र चाहेर या गरेर देश बन्ने होइन, सबै मिलेर लाग्नुपर्छ ।
० एनआरएनको भावी चुनौती के देख्नुभएको छ तपाईंले ?
– सङ्गठनभित्र केही राजनीतिक रंग पोतिन लागेजस्तो सङ्केत देखिएको छ । गैरराजनीतिक सङ्गठनमा राजनीतिले प्रवेश गर्‍यो भने निश्चय पनि संसारभरका नेपालीको यो साझा अभियानमा ठेस पुग्न सक्छ । यो कुनै राजनीतिक पार्टीको अभियान होइन, समस्त नेपालीको साझा अभियान भएकोले स्वच्छभावले लागिपर्नुपर्छ । धेरै एनआरएन साथी नेपालमा केही गरौँ, लगानी गरौँ भनी तम्सिरहेको अवस्था छ । म स्वयम्ले पनि ग्लोबल इन्भेस्टमेन्ट नामक कम्पनीमार्फत केही मौलिक काम गर्न खोजिरहेको छु । २-३ वटा प्रोजेक्ट लन्च गर्दै छु । यसका लागि नेपाल सरकारले वातावरण बनाइदिने, सबै मिलेर छिटो संविधान बनाउने र ‘म’ भन्न छोडेर ‘हामी’ भन्नुपर्छ । यसो हुन नसक्नु नै एउटा कठोर चुनौती हो भन्छु म त ।
० गैरआवासीय नेपाली सङ्घको अबको नेतृत्व पनि देवमान हिराचनकै अगुवाइमा हुनु आवश्यक छ भन्ने पुष्टि गर्न छोटोमा भन्नुपर्दा के भन्नुहुन्छ ?
– विश्वभर छरिएर रहेका समस्त नेपालीको साझा सङ्गठन र साझा अभियान हो यो, देश बनाउन सबै एक भएर लाग्नैपर्छ, बाहिर रहे पनि अगाध माया र श्रद्धा छ, यही माया र श्रद्धालाई व्यवहारमा उतारेर देखाउन हामी तम्सिएका हौँ । हो, प्रत्येक एनआरएनको हृदयमा छचल्किएको यही सद्भावलाई कार्यरूपमा उतार्नका लागि मसँग आफ्नै अनुभव र क्षमताले सिरि्जएको निश्चित रोडम्याप छ, त्यो रोडम्यापमा हिँडेर लक्ष्यसिद्धि गर्न र अधुरा योजनालाई पूर्णता दिन मेरो नेतृत्व एकपटक फेरि पनि आवश्यक छ ।