कम्युनिस्ट राजमा जनताको दशा-शोभाकर पराजुली

कम्युनिस्ट राजमा जनताको दशा-शोभाकर पराजुली


कम्युनिस्ट नराम्रो व्यवस्था हो, त्यहाँ अन्याय हुन्छ जसबाट जनता पीडित हुन्छन् । कम्युनिस्ट पार्टीका मूलधारका नेता र कार्यकर्ता मिलेर तानाशाही चलाउँछन्, अन्याय गरेका गर्छन् र फाइदा आफूहरूले लिएका हुन्छन् भन्ने तथ्य सावित गर्न पहिला गाह्रो थियो । कम्युनिस्टहरूको हातमा सत्ता, सञ्चारमाध्यमसमेत हुँदा त्यहाँका पीडा र सत्ताबाट भएका कैयन हत्याका घटनासमेत लुक्थे । व्यक्तिगत रूपमा मानिसलाई अन्याय त पर्थ्याे नै सामूहिक र क्षेत्रगत रूपमा पनि अन्याय हुन्थ्यो । त्यसको एउटा मात्र उदाहरण लिऊँ, शोभियत रुस टुक्रिनुअघि त्यहाँको कम्युनिस्ट व्यवस्थाले मस्कोमा मात्रै देशको सम्पूर्ण बजेटको करिब असी प्रतिशत खर्च गर्ने गर्दथ्यो । देशको एक प्रतिशत पनि जनता नभएको ठाउँमा बजेटको असी प्रतिशत खर्च गर्नु भनेको चानचुने अन्याय होइन । दूरदराजमा जनता पीडित हुन्थे । उनीहरूका लागि सुविधाहरू हुँदैनथ्यो । अन्यत्रबाट त्यहाँ पुग्नेहरूलाई ती ठाउँ देखाइँदैनथ्यो । देखाउनका लागि राम्रो गरिएका तथा छानिएका ठाउँहरू मात्र देखाइन्थ्यो र त्यसरी छानिएका स्थान हेरेर मानिसहरू कम्युनिस्टको राज स्वर्ग हो भन्थे । अहिले पनि कम्युनिस्टको सरकार होइन सत्ता भएको स्थानमा त्यस्तै छ । यसलाई नै न्याय र ठीक भन्ने सोच हामीले हटाउनुपर्छ । एक त तर्कको आधारमा पनि केही विश्लेषण गर्न सकिन्छ । दोस्रो कम्युनिस्ट व्यवस्था असफल भएका देशहरूबाट पनि सत्य के रहेछ भन्ने बुझ्न सकिन्छ ।
अहिले रुससमेत पूर्वकम्युनिस्ट राष्ट्रहरूबाट इतिहास थाहा भएको छ । कम्युनिस्ट नेताहरूले लाखौँ मानिस मारे भनेकोमा करोडौँ मानिस मारेका रहेछन् । अहिले अज्ञात सामूहिक चिहानबाट लाखौँ कङ्काल भेटिएका छन् । केही सम्पत्ति दिइएकोमा पनि पछि लुटिएका घटना सुनिएका छन् । अर्थात्, कम्युनिस्ट भनेको सत्तामा जानुअघि पनि अत्याचार गर्ने र सत्तामा पुगेपछि पनि त्यसलाई बढाउने जात हो भन्ने प्रस्टै भएको छ । नेपालमा त हामीहरूले थाहा पाएकै छौँ । माओवादीले के गरे र गरिरहेका छन् –
यसको पछाडि अर्को कारणले पनि काम गरेको छ, त्यो हो- समाजमा सामन्यतः दुई पक्ष हुने गर्छन् । एउटाको विरोध अर्कोबाट हुन्छ र विकल्पका कुराहरू पनि आउँछन् । यस अवस्थामा दुई पक्षलाई समेट्न र सरकारमा वा राजनीतिक पदमा रहन पनि एउटा दलले मात्र हुँदैन, पुग्दैन । तर, नेपालमा लोकतान्त्रिक विकल्प नै हुन सकेको छैन । काङ्ग्रेसले राम्रो गर्दछ । यति हुँदाहुँदै पनि यसका नेता र कार्यकर्ताका मानवीय कमजोरी हुन्छन् । दुईवटा इमानदार छनोटमा पनि एउटाको छनोटमा अर्को पक्ष बिमति राख्छ । त्यस अवस्थामा अर्को पक्षमा लाग्नु स्वाभाविक हुन्छ । अन्य पनि विविध कारणले मानिस एउटा मात्र दलमा समेटिने सम्भावना हुँदैन । नेपालमा काङ्ग्रेसबाहेक अर्को लोकतान्त्रिक दल नभएकोले काङ्ग्रेसको विकल्प जहिले पनि कम्युनिस्ट भयो । अर्को सशक्त लोकतान्त्रिक विकल्प हुन सकेन । एमालेको व्यवहार लोकतन्त्र, बहुलवाद, जनताको अधिकारको रक्षाजस्ता भए पनि सिद्धान्तमा अहिले पनि त्यो दल सर्वसत्तावादी हो । त्यो दलमा केही भने पनि नेता र कार्यकर्ता जनताले नचाहे हट्ने होइन, तानाशाही लाद्ने हो भने जे पनि गर्न सकिन्छ भन्ने भ्रममा वा लोभमा रहनेहरू छन् । यदि एमाले सैद्धान्तिक रूपमा पनि लोकतन्त्रवादी बन्न सकेको भए अर्थात् लोकतान्त्रिक समाजवादी भएको भए नेपालमा माओवादी आन्दोलन बढ्न सक्ने थिएन भन्ने पनि केही आधार छन् ।
पहिलो त काङ्ग्रेसले गल्ती गरेमा काङ्ग्रेसहरूले पनि अर्को समाजवादी शक्तिलाई सजिलै आत्मसात् गर्ने थिए । त्यो फाइदा अहिलेको एमालेलाई हुने थियो । एमाले समाजवादी दल भएको भए काङ्ग्रेससँग असहमतहरू त्यो दलमा लाग्ने थिए । एमालेबाट बाहिरिनेहरूको क्षतिपूर्ति त्यसबाट हुने थियो । दुईवटा समाजवादी दल हुनासाथ एमालेलाई नराम्रो गरे पनि कम्युनिस्ट नाम भएकोले मत दिने प्रवृत्ति र काङ्ग्रेसलाई समाजवादी भएकोले मत दिने अवस्थाको अन्त्य हुने थियो । जागरुक मतदाता र कार्यकर्तासमेत सजिलैसँग फ्लोरक्रस गर्ने थिए । यही डरले नेता र कार्यकर्ता सजग हुने थिए र कम भ्रष्ट हुने थिए । अहिले पनि यो अवस्था कायम छ । कम्युनिस्टमा लोकतन्त्र चाहनेहरू एमालेमा छन् र यो समाजवाद नै हो भन्न सकिरहेका छैनन् । लोकतान्त्रिक समाजवादीहरू काङ्ग्रेसमा छन् । नेताको गल्ती सुधार्न नसकेपछि विचार नै बदल्नुपर्ने अवस्था छ ।
भारतको अवस्था पनि त्यस्तै हुने थियो । काङ्ग्रेसको गल्तीको कारणले क्षेत्रीय दलहरू र कम्युनिस्टहरू बढिरहेका थिए । क्षेत्रीय दलहरूलाई पनि कम्युनिस्टहरूले विस्थापित गर्दै थिए । बंगाल, त्रिपुरा, केरलाजस्ता प्रान्तमा कम्युनिस्टहरूको बर्चस्व भइसकेको थियो । बिहार, अहिलेको झारखण्ड, पञ्जावमा समेत कम्युनिस्टहरू बढिरहेका थिए । तर, परिस्थिति दुःखद् भए पनि त्यसले राजनीतिक परिणाम सकारात्मक नै दियो । राम जन्मभूमि र बाबरी मस्जिदको विवादले गर्दा हिन्दू र भारतीय संस्कृतिप्रति बढी झुकाव राख्ने मतदाता भारतीय जनता दलमा समाहित भए । प्रकारान्तरमा यो देशको ठूलो दल भयो । यसले कम्युनिस्ट र क्षेत्रीय दलहरूको मतलाई आफ्नो पक्षमा लिन सक्यो । परिस्थितिले कम्युनिस्टहरूको साख घट्दै गएपछि केही अपवादमा क्षेत्रीय दलहरूले पनि साख बढाए । यो अवस्था ल्याउन नेपालमा त ढिलो भएको छ तर एमालेले चाहेमा अहिले पनि आउन सक्दछ । धेरै साना र मध्यम दलहरू तथा स्वतन्त्र व्यक्तिहरूल्ााई समेट्न सक्दछ । यो लोकतन्त्र र समाजवादका लागि ठूलो उपलब्धि हुनेछ ।
गल्ती नै गल्ती र नराम्रो गरेर पनि कम्युनिस्टले अधिकार जमाएको छ नेपालमा । यो देखिएको सत्य हो । जनतालाई झुटा कुरा बताउने र गुमराहमा पार्ने, सत्ता कब्जा नगर्दासम्म जनतालाई भ्रम बाँड्ने, एकदलीय तानाशाही आएपछि भने जनतालाई दास बनाउने कम्युनिस्ट नीति नै रहेको विश्वले देखाएकोमा माओवादी पनि त्यही बाटोमा छ । जनताको हैसियत कम्युनिस्टहरूका लागि दसैंमा बलि दिने बोकाको जस्तो हुने गरेको हामीले भोगिआएकै हौँ । कम्युनिस्टको चल्ती आएपछि जनतालाई डर, त्रास, मृत्युको धम्की वा मृत्यु नै देखाएर आफ्नो पछि नलागे मार्ने कार्य भएकै हो । यो भएर राजनीतिक रूपमा जनतालाई मारेकोजस्तो नै देखिएको छ, जनताको मनोबल गिरेको छ ।
कम्युनिस्टहरूले मानिस मारेको र सम्पत्तिको तहसनहस गरेको, विस्थापित गरेको, जनतालाई दुःख दिएको सामान्य भयो । तर, कम्युनिस्टहरूले बलिदान वा हिंसाको अनुपातमा प्रतिफल नकारात्मक नै दिने गरेका छन् । २००७ सात सालमा काङ्ग्रेसको नेतृत्वमा राणाविरोधी आन्दोलन भएकोमा त्यसका लागि भनेर चारजना सहिद तथा केही आन्दोलनको क्रममा सहिद भए । २०१७ सालदेखि २०४६ सम्म देशमा माओवादी हिंसामा जस्तो धेरै मानिस मर्ने वातावरण काङ्ग्रेसले आउन नदिएकै हो । जनतालाई मारेर र मर्न लगाएर लोकतन्त्रको स्थापना होइन सचेत गरेर गर्नुपर्छ भन्नेमा काङ्ग्रेस प्रस्ट थियो र छ । जनताको जीव्ान सहिद हुनुभन्दा धेरै महत्त्वपूर्ण र सहिद त हामी बाँच्नेहरूका लागि अति महान् हुन् । नमरेको भए ती सहिदले देश र समाजलाई अझ बढी दिन सक्ने थिए । अहिले पनि माओवादीले सत्र हजार मानिस मर्न बाध्य पारेको हामीलाई थाहा छ । लाखौँ मानिस मारिसकेको विस्थापित, बेपत्ता भएका छन् तथा धनसम्पत्तिको नोक्सानको त कुनै लेखाजोखा छैन ।