काङ्ग्रेसमा फेरि रडाको

काङ्ग्रेसमा फेरि रडाको


सत्ता-राजनीतिको खेलबाट तत्कालका लागि फुर्सदिलो बन्न पुगेको नेपाली काङ्ग्रेस आन्तरिक विवादको परम्परागत बिमारीबाट थलिँदै छ । लामो समयदेखि बैठकसमेत बस्न नसकेको, क्रियाशीलता नदेखिएको वा अकर्मण्य संस्था राख्नुको औचित्य नरहेको तर्क दिएर काङ्ग्रेस संस्थापन पक्षले तरुण दल, महिला सङ्घजस्ता भ्रातृ सङ्गठनहरू विघटनको तयारी गरेपछि पछिल्लो चरणमा तुलनात्मक रूपमा कम विवादित पार्टीका रूपमा देखिएको नेपाली काङ्ग्रेस विवादको भूमरीमा फस्न पुगेको छ । केही समययता सुशुप्तावस्थामा रहेको भ्रातृ सङ्गठन-विवादसम्बन्धी मुद्दा ब्युँतिएपछि पक्ष, विपक्ष र मझधार पक्षसमेत गरी तीन खेमामा विभक्त बन्न पुगेको काङ्ग्रेस-नेतृत्वको तल्लो पुस्ता यतिबेला केन्द्रीय नेतृत्वको समर्थन र विरोधमा विभक्त हुँदै अनशन बस्ने अवस्थासम्म आइपुगेका छन् । संस्थापन पक्षलाई टक्कर दिन मौका ढुकेर बसेको नेतृत्वपङ्क्तिको असन्तुष्ट खेमा आफ्नो वर्चश्वमा रहेका भ्रातृ सङ्गठनहरू विघटन गरेर आफूहरूलाई पाखा लगाउन खोजिएको भन्दै प्रतिकारमा उत्रिने तयारीमा देखिन्छन् ।
बितेको सात-दश दिनको अन्तरमा बीपीको ९८औँ जन्मजयन्ती र गणेशमान सिंहको १४ स्मृति दिवस मनाउने औपचारिकता त फिक्का तवरमै भए पनि नेपाली काङ्ग्रेसले पूरा गरेको छ । तर, पार्टीभित्र चरि्कएको भ्रातृ-संगठन विघटनलगायतका मुद्दाको विवादले पार्टीका महत्त्वपूर्ण कार्यक्रमहरू प्रभावित बन्न पुगेका छन् । र, लामो समयदेखि संविधानसभा, सत्ता या सरकारजस्ता मुद्दामा दलहरूको तमासा हेर्दै आएका नेपाली जनताले यसरी अर्को राजनीतिक चटक हेरेर स्वाद फेर्ने अवसर प्राप्त गरेका छन् ।
त्यसो त, सत्तासीन रहँदा आरोप-प्रत्यारोपको उत्कर्षमा रहेको एमाले पार्टीभित्रको झगडा भुसको आगो’को अवस्थामा छ भने एकीकृत नेकपा माओवादीभित्रको खिचलो करिब-करिब पार्टीविखण्डनको सङ्घारमै पुगिसकेको महसुस गरिन्छ । यस्तो परिवेशमा नेपाली काङ्ग्रेस भने पछिल्लो चरणमा तुलनात्मक रूपमा कम विवादित रहँदै आएको अनुभूति गरिएको थियो । अन्तर्दलीय असन्तुष्टिका पुराना मुद्दाहरूमा समेत सहमतिको जलप लाग्दै आएबाट काङ्ग्रेस पार्टीले रूपान्तरण र मेलमिलापको नयाँ इतिहास रचिरहेको ठान्दै यसका कार्यकर्ता, शुभेच्छुक र प्रजातन्त्रप्रेमी आमजनता मख्ख थिए । कम्युनिस्ट दलहरूको पहल या प्रयासमा मुलुकले शान्ति र समृद्धिको फड्को मार्न नसक्ने विश्वास बोक्नेहरूका लागि नेपाली काङ्ग्रेस नै आशाको केन्द्र रहँदै आएको भनाइ अतिशयोक्तिपूर्ण पनि ठहरिँदैन । तर, प्रजातन्त्रप्रेमी ठूलो तप्काको यस्तो आशा र विश्वासमाथि जान-अन्जानमा काङ्ग्रेसले कुठाराघात गर्दै आएको तीतो यथार्थ भने छुपाएर छुप्दैन ।
एक वर्षअघि निर्वाचित काङ्ग्रेस नेतृत्वले अहिलेसम्म पार्टीविभागहरू गठन गर्न सकेको छैन । ६ महिनाअघि भङ्ग गरिएको नेविसङ्घको वैकल्पिक व्यवस्थापन पनि अहिलेसम्म केन्द्रीय तहबाट हुन सकेको छैन । यसले भ्रातृसंस्था भङ्ग गर्नुको औचित्य सिद्ध गर्न काङ्ग्रेस नेतृत्वले नसकिरहेको र अन्तरपार्टी सन्तुलन मिलाउन पनि सभापतिलाई निकै कसरत परिरहेको सन्देश स्पष्टतः प्रवाहित भएको छ । यस्तो परिवेशमा भ्रातृसंस्थाहरू भङ्ग गर्ने तयारीले विवाद निम्त्याउनु अस्वाभाविक छैन । सभापति कोइराला महामन्त्री रहँदा नै २१ वटा जिल्लाका कार्यसमिति भङ्ग गरेर समाधान निकाल्न नसकेको सर्न्दर्भसमेत उप्काउँदै संस्थापनविरोधी पक्षले भ्रातृसंस्था विघटनको विपक्षमा आवाज उठाउँदै आएको छ । तर, यसरी भ्रातृसंस्था विघटनको विपक्षमा उभिनेहरूले पनि संस्थालाई क्रियाशील र चलायमान तुल्याउन नसकिरहेको, सङ्गठनलाई चुस्तदुरुस्त तुल्याएर समयसापेक्ष नेतृत्व प्रदान गर्न नसकेको र अर्को पक्षप्रति पूर्वाग्रहपूर्ण कटाक्ष गरिरहेको यथार्थले उक्त पक्ष पनि पदलोलुपहरूको जमात मात्रै हो कि भनी सवाल उठाउन सकिने प्रशस्त आधार भने दिएकै छ । तथापि, यतिबेला काङ्ग्रेसमा देखिएको यो किचलो जबर्जस्ती निम्त्याइएको बेमौसमी अलापबाहेक केही होइन भन्न सकिन्छ ।
काङ्ग्रेसका भ्रातृसंस्थाहरू किन चलायमान बन्न सकेनन्, देशको वर्तमान परिवेशमा सङ्गठनलाई मजबुत तथा विस्तार गर्दै जनतालाई लोकतन्त्रको पक्षमा एकत्रित तुल्याउन अवसर छोप्नुपर्ने जिम्मेवारी बोकेका काङ्ग्रेसजन किन यस्ता मुद्दामा अल्झिन पुगेका छन्, कसरी यी समस्या पैदा भए भन्ने सवालको जवाफ खोज्न ढिलो गर्नुहुँदैन । समस्याको कारक पहिचान नभएसम्म विवाद-अन्त्यको आशा र्व्यर्थ हुन जान्छ । काङ्ग्रेसनेतृत्व पूर्वाग्रहरहित ढङ्गले विवादको अन्त्यका लागि तत्काल अग्रसर हुनु वान्छनीय छ ।