भरतपुरलाई स्मार्ट नगरपालिका बनाउन मेयर-उपमेयर युरोप डुल्दै !

भरतपुरलाई स्मार्ट नगरपालिका बनाउन मेयर-उपमेयर युरोप डुल्दै !


■ डिल्ली अम्माई, बेल्जियम

नेपालका मन्त्री, सांसददेखि मेयर उपमेयर सम्मका जनप्रतिनिधि/पदाधिकारीहरु केही सिक्ने भन्दै विदेश भ्रमणमा निस्कने लहर नै चलेको छ। यसैक्रममा युरोप भ्रमणको नौ दिने तालिका मिलाएर बेल्जियम आएकी चितवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहलाई चितवन सहायता कोष बेल्जियमले आइतबार (१५ डिसेम्बर) एक कार्यक्रममार्फत सम्मान गरेको छ ।

उक्त सहायता कोषका अध्यक्ष रामचन्द्र सुवेदी (भुवन)को सभापतित्वमा भएको सम्मान कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदुत लोकबहादुर थापा थिए भने विशिष्ट अतिथिको आसनमा मेयर र उपमेयरलाई राखिएको थियो ।

एक सल्लाहकार र प्राविधिकसहित आएका भरतपुर महानगरको प्रमुख र उपप्रमुखले आफुहरु नगरपालिकाको फोहर ब्यवस्थापनबारे युरोपियन तरिका, ट्राफिक सहजीकरण प्रणाली र नगर विकासका अन्य तौरतरिकाको जानकारी लिन आएको जनाउँदै भ्रमणका क्रममा केही सिकेको बताए । मेयर उपमेयरद्वयले बेल्जियमको राष्ट्रवादी पार्टी एनभीआका नेता तथा बेल्जियमको फ्लांदर क्षेत्रका मुख्यमन्त्री (Minister-president van Vlaanderen),ECR (Europe commercial Refrigeration) समुहका उपाध्यक्ष लगायात केही मेयरहरुसँग पनि भेटघाट भएको जानकारी दिए ।

मन्तव्यको क्रममा नगरप्रमुख रेनु दाहालले उपस्थित जनमासलाई इंगित गर्दै आफूहरुको भ्रमणको ब्यवस्था गैँडाकोटको अक्सफोर्ड कलेजले मिलाएको र यस सन्दर्भलाई अन्यथा नबुझ्नको लागि आग्रह गरेकी थिइन्।

उनले भारतपुर नगरपालिकामा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्शालालाई प्रवासबाट पनि सहयोग गर्न आग्रह गर्दै नगर विकासका धेरै कार्यहरु आशालाग्दो तवरबाट भैरहेको दाबी गरिन् ।

त्यस्तै, उपप्रमुख शाहले पनि हामीहरु जुनसुकै पार्टीबाट निर्वाचित भएपनि नगर विकासको लागि मिलेर काम गरिरहेको बताइन् । उनले चितवन नेपालको पर्यटन विकासको दृष्टिले हालसम्म तेश्रो गन्तब्य रहेको र अब चितवनलाई नेपालकै दोश्रो गन्तब्य बनाउन चितवनवासीको संकल्प आवश्यक रहेको तर्क गरिन् ।

राजदुत थापाले स्थानीय विकासको युरोपियन मोडेल उत्तम रहेको र यहाँबाट धेरै कुरा सिक्न र लागु गर्न सकिने भएकोले त्यसतर्फ ध्यान दिन महानगर नेतृत्वलाई सुझाव दिए । नेपालको विकासमा पर्यटन महत्वपुर्ण रहेकोले सबैले नेपालको पर्यटन क्षेत्रको ब्यापक प्रचारप्रसार गर्नुपर्ने विचार उनले राखे।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुवेदी, गैरआवासीय नेपाली संघ केन्द्रिय सहकोषाध्यक्ष लोक दाहाल, आईसिसी सदस्य सुभास जोशी, क्याट जर्मनीका अध्यक्ष यज्ञराज सुवेदी लगायतको उपस्थितिमा भएको सम्मान कार्यक्रममा क्याट बेल्जियमकी संस्थापक अध्यक्ष सीता सापकोटा, निवर्तमान अध्यक्ष पार्वती अधीकारीले समेत क्याटले चितवनमा आजसम्म गरेका परोपकारी एवम् शैक्षिक सहयोगबारे आफ्ना धारणा राखेका थिए।

क्याट बेल्जियमका उपाध्यक्ष राजु घिमिरेद्वारा स्वागत गरिएको कार्यक्रमको सञ्चालन महासचिव इश्वरीप्रसाद कँडेलले गरेका थिए ।