नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा मूल्य वृद्धि गरेको छ । आज (१ पुस) राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एकले वृद्धि गरी मूल्य समायोजन गरिएको निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका हुन् ।
पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको गोइतको भनाई छ । निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको बताइएको छ ।
गोइतका अनुसार मूल्य समायोजन गरेपश्चात् नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य रु २०.४१ प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य रु १७.१६ प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको छ ।
ज्ञातव्य छ, निगमले यसअघि गत मङ्सिर १६ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो ।
प्रतिक्रिया