नेकपाभित्र ‘सभामुख सङ्घर्ष’

नेकपाभित्र ‘सभामुख सङ्घर्ष’


नेपाल कम्युनिस्ट पार्टीभित्र सभामुख चयनको विषयलाई लिएर गम्भीर विवाद र तनाव उत्पन्न हुने स्थिति देखापरेको छ । नेकपाभित्रको ‘एमाले’ कित्ता सभामुखमा आफ्नै पक्षको मानिस चयन गर्न कटिबद्ध रहेको छ भने ‘माओवादी’ पनि सभामुख लिएरै छोड्ने योजनामा रहेको छ । कृष्णबहादुर महरा पदमुक्त भएपछि रिक्त सभामुख पदमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई चयन गर्ने तयारी ‘एमाले’ ले गरेको छ । उता ‘माओवादी’ले चाहिँ सिन्धुपाल्चोकबाट विजयी सांसद अग्नि सापकोटाको नाम अगाडि सारेको छ । मङ्सिर २९ गते शुरु भएको नेकपा स्थायी समितिको बैठकमा नेतृ पम्फा भुसाल कड्किएको देखेपछि एमाले कित्ताले प्रचण्डबाट अग्निको नाम अघि सारिएको भए पनि सभामुख बनाउन खोजिएकोचाहिँ भुसाललाई नै रहेछ कि भन्ने अनुमान गरेको छ ।

कृष्णबहादुर महरा माओवादी कित्ताको भएकोले अब पनि ‘माओवादी’ले नै सभामुख पाउनुपर्ने अड्डी प्रचण्ड पक्षले कसेको छ । कदाचित ‘एमाले’लाई नै सभामुख छोड्नुपरे पनि सुवास नेम्वाङलाई स्वीकार्ने मानसिकतामा ‘माओवादी’ देखिँदैन । शीतलनिवास, सिंहदरबार र संसद् भवन तीनवटैको प्रमुख ‘एमाले’लाई बन्न नदिने, तीनमध्ये एउटा आफूहरूले पाउनुपर्छ भन्ने भनाइ माओवादीको हो । सभामुख, प्रधानमन्त्री र राष्ट्रपति ‘एमाले’ पक्षको हुँदा आफ्ना निम्ति कुनै पनि बेला असहज र प्रतिकूल अवस्था पैदा हुन सक्ने त्रास प्रचण्डमा पैदा भएको छ भने त्यो अस्वाभाविक होइन ।

अहिले राष्ट्रपति बदलिने कुनै सम्भावना छैन, त्यसैले सभामुख र प्रधानमन्त्रीमध्ये एउटा लिने योजनामा ‘माओवादी’ रहेको स्वतः बुझ्न सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली पदत्याग गर्ने मनस्थिति र परिस्थितिमा हुनुहुन्न । ठीक यतिबेला प्रचण्डसँग तनाव र विवाद बढाउन सक्ने अवस्थामा पनि उहाँ हुनुहुन्न । मिर्गौला प्रत्यारोपण गरेर पूर्ण स्वास्थ्यलाभ नगरिन्जेलसम्म कसैसँग विवाद र झमेला बढाउने पक्षमा ओली नरहनुभएको बताइन्छ । र, केपी ओलीको वर्तमान अप्ठ्यारो र उहाँको मानसिकताबारे प्रचण्ड राम्रो जानकार हुनुहुन्छ ।

यतिबेलै दबाब पैदा गर्न सके मात्र ओलीबाट केही ‘झार्न’ सकिने, अन्यथा मुस्किल पर्ने भएकोले पनि ओलीमाथि तीव्र दबाब पैदा गरेर प्रचण्ड सभामुख पद हत्याउने प्रयास गर्दै हुनुहुन्छ ।

यतिबेलै दबाब पैदा गर्न सके मात्र ओलीबाट केही ‘झार्न’ सकिने, अन्यथा मुस्किल पर्ने भएकोले पनि ओलीमाथि तीव्र दबाब पैदा गरेर प्रचण्ड सभामुख पद हत्याउने प्रयास गर्दै हुनुहुन्छ । तत्काल नेम्वाङको विकल्पमा अग्नि सापकोटाको नाम अघि सार्ने र त्यसपछि सहमतिको उम्मेदवारका रूपमा देव गुरुङ र पम्फा भुसालमध्ये एकलाई सभामुख बनाउने रणनीति प्रचण्डले बनाउनुभएको छ । गुरुङ र भुसालमध्ये पनि प्रचण्ड भुसालको पक्षमा रहनुभएको बुझिन्छ ।

सभामुख चयनको विषय सोचिएभन्दा ज्यादै नै जटिल बन्न सक्ने दृश्य नेकपाभित्र देखिएको छ । केपी ओली प्रधानमन्त्री पदसँग सभामुख साट्ने पक्षमा कदापि हुनुहुन्न र, उता प्रधानमन्त्री पद आफूलाई मिलेको अवस्थामा मात्र एमालेलाई सभामुख दिने दृढ अठोटमा प्रचण्ड हुनुहुन्छ । आफ्नो पक्षमा परिस्थिति निर्माण गर्न प्रचण्डले एमालेलाई एकजुट हुन नदिने खेल शुरु गर्नुभएको छ । वामदेवलाई प्रधानमन्त्री बनाइदिने सपना देखाएर आफूतिर मिलाउनुभएका प्रचण्डले झलनाथ खनाल, सुरेन्द्र पाण्डे र भीम रावलदेखि विष्णु पौडेलसम्मलाई आफ्नोअनुकूल भूमिकामा सीमित गर्ने योजनामा प्रचण्ड धेरै हदसम्म सफल हुनुभएको छ । माधवकुमार नेपाल र झलनाथ खनालबीच वरीयताक्रमलाई लिएर उत्पन्न विवाद र वैमनुष्यलाई समेत ‘क्यास’ गर्ने काम प्रचण्डबाट भएको छ ।

पार्टी एकीकरण भएको डेढ वर्षपछि प्रचण्डले पहिलोपटक पार्टी स्थायी समिति बैठकको अध्यक्षता गर्न पाउनुभएको छ । केपी ओलीले ‘उदारतापूर्वक’ अध्यक्षता गर्न दिएपछि पार्टीभित्र ओली गल्दै गएको तथा ओली गलेका कारण एकताको वातावरण बनेको र प्रचण्डका निम्ति अनुकूल स्थिति सिर्जना भएजस्तो बाहिरबाट हेर्दा देखिएको छ । तर, बाहिरबाट देखिएजस्तो सहज स्थिति उक्त पार्टीभित्र छैन । सुवास नेम्वाङलाई सभामुख बन्नबाट रोक्न प्रचण्ड सफल या असफल जे भए पनि यही विषयले पार्टीभित्रको अन्तरविरोध थप गहिरो बनाउने सम्भावना प्रबल छ ।