टोकियोको टनेलभित्र भयानक दुर्घटना

टोकियोको टनेलभित्र भयानक दुर्घटना


■ विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानको राजधानी टोकियोमा मंगलबार मध्यरात करिव एक दर्जन गाडी एकआपसमा जुधेर भएको भयानक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य २० जना घाइते भएका र घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

टोकियोको टनेलभित्रको हाईवेमा भएको उक्त दुर्घटनामा घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जापानी समाचार संस्था क्योदोका अनुसार गुडिरहेको एक ट्रकमा आगलागी भएपछि उक्त ट्रकले आफ्नो लेन छोड्न पुगेको थियो । हाईवेमा तीव्र गतिमा गुडेका अन्य सवारी साधन उक्त ट्रकसँग जुध्न पुग्दा १० वटा सवारीका साधन एकसाथ जुधेर दुर्घटनामा परेका थिए ।

खानागावा प्रिफेक्चरतर्फ खावासाकी महानगर एक्सप्रेसवेको जमिनमुनिको भित्री सुरुङ मार्गमा सो दुर्घटना भएको हो । टनेलभित्र ट्रकमा आगो बल्दा अन्य सवारीहरुले सडकको उज्यालो देख्न नसकेका कारण ठक्कर खान पुगेको बताइएको छ ।

एकसाथ १० वटा सवारीका साधन ठोक्किन पुग्दा ५० वर्षीय एउटा बसका चालकको मृत्यु भएको छ ।

भयानक दुर्घटनाको संज्ञा दिइएको उक्त दुर्घटनास्थल जमिनको बाहिरीसतहभन्दा निकै भित्री भागमा रहेको छ । जसका कारण ६ लेनको सडक भए पनि उद्दारमा केही समय लाग्दा घण्टौंसम्म सवारीका साधन जाम हुन पुगेको थियो ।