केन्द्रीय बचत तथा ऋण सहकारी सङ्घको वार्षिक साधारणसभा निकट हुँदै जाँदा त्यसको नेतृत्व हात पार्न गलत ठानिएका व्यक्तिसमेत प्रतिस्पर्धामा उत्रिएका छन् । पुस ४ र ५ गते हुने सङ्घको वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने हुनाले सहकारीकर्मीहरूले निकै चासोका साथ हेरेका छन् ।
प्राप्त जानकारीअनुसार हालका अध्यक्ष डीबी बस्नेत अर्को एक कार्यकाल दोहोरिन चाहन्छन् र उनलाई कार्यसमितिका अधिकांश सञ्चालक तथा कर्मचारीहरूले सकारात्मक रूपमा लिएका पनि छन् । त्यस्तै, दामोदर अधिकारीप्रति पनि अधिकांश सहकारीकर्मीहरूको सद्भाव र समर्थन रहेको पाइएको छ । तर, हाल उपाध्यक्ष रहेका परितोष पौडेलप्रति नेकपामा महासचिव विष्णु पौडेलको विशेष ममता र आशीर्वाद भएकोले सहकारीकर्मीले रुचाएकाभन्दा नेताले चाहेका व्यक्ति नै सङ्घको अध्यक्ष बन्ने हो कि भन्ने चिन्ता बढेको पाइएको छ ।
यस्तो चिन्ता गर्नेहरूले अहिले सङ्घभित्र उचित वातावरण बन्ने कि नबन्ने भन्ने कुराको निर्धारण राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, सहकारी नेता मीनराज कँडेल, केशव बडाल र पशुपति चौलागाईंको निर्णयले गर्ने ठानेका छन् । यी चार व्यक्तिले विवेक पुऱ्याएको अवस्थामा सहकारीमा सही नेतृत्व आउने विश्वास गरिएको छ ।
कुनै बेला परितोष पौडेलले विष्णु पौडेललाई आफ्नो घरमा डेरा दिएको हुनाले परितोष विष्णुको ‘भिटो’ लगाएर भए पनि सङ्घको अध्यक्ष पद हत्याउन चाहन्छन् । सहकारीलाई सबै सदस्यको हितभन्दा पनि आफ्नै हितमा दुरुपयोग गर्ने व्यक्तिका रूपमा परितोषको नाम लिइन्छ ।
कतिपय सहकारीकर्मीले डीबी बस्नेतकै निरन्तरता चाहेका भए पनि अधिकांशले दामोदर अधिकारी अध्यक्ष, चन्द्र ढकाल उपाध्यक्ष, दीपक पनेरू महासचिव तथा केशव पोखरेल कोषाध्यक्ष रहेको टिमको हातमा सङ्घको नेतृत्व हुँदा उपयुक्त हुने ठानेका छन् ।
जिल्ला कृषि सङ्घ काठमाडौंको महासचिव रहँदा आर्थिक हिनामिना गरेकोे आरोप लागेका, दश वर्षदेखि आफ्नै प्रारम्भिक संस्थामा अध्यक्ष रहेर पनि संस्थालाई नाफामा लैजान नसकेका परितोष पौडेललाई महासचिव विष्णु पौडेलले सङ्घको अध्यक्ष बनाइदिए भने सहकारीकर्मीको मानमर्दन हुने मात्र नभई सङ्घका नाममा धन्दा शुरु भई सहकारीकै बदनाम हुनेसमेत सहकर्मीहरूको भनाइ छ ।
प्रतिक्रिया