ज्ञानका स्रोतमा कीरा !-देवप्रकाश त्रिपाठी

ज्ञानका स्रोतमा कीरा !-देवप्रकाश त्रिपाठी


सूर्य, तारा र चन्द्रमाले बाह्य संसारलाई उज्यालो तुल्याउँछन् भने मानिसको भित्री संसारलाई उज्यालो बनाउने काम ज्ञानले गर्दछ भन्ने कुराको जानकारी हामीमध्ये धेरैलाई छ । उज्यालोका स्रोत सूर्य, तारा र चन्द्रमा बनेझैं ज्ञानका पनि अनेक स्रोत हुन्छन् । ज्ञानस्रोतका बहुरूपहरूलाई व्यवस्थित गर्दा मूलतः तीनवटा स्रोतहरूबाट मानिसलाई ज्ञान प्राप्त हुने निष्कर्ष निकाल्न सकिन्छ । अनुभव, सूचना र अध्ययन, त्यस्ता स्रोत हुन्, जसबाट मानिसले निरन्तर ज्ञान हासिल गरिरहन सक्दछ । अध्ययन, अनुभव र सूचनाबाट प्राप्त ज्ञानका आधारमा मानिस आफ्नो धारणा निर्माण गर्छन् र सोही ज्ञानकै आधारमा जीवन-गन्तव्य निर्धारण गर्ने तथा विचार निर्माण गरी अभिव्यक्ति दिने पनि गरिन्छ । मानिसलाई सबैभन्दा पहिले अनुभवद्वारा ज्ञान प्राप्त हुन्छ, त्यसपछि मात्र सूचना र अध्ययन ज्ञानका स्रोत बनेका हुन्छन् । आगोले पोल्छ भन्ने कुराको ज्ञान धेरै या सबै मानिसले कसैको सूचनाका आधारमा या अध्ययनबाट नभई आफैंले अनुभव गरेर प्राप्त गरेका हुन्छन् । जन्मिएपछि बालबालिकाले जे-जस्ता अनुभूति गर्दै जान्छन्, त्यही अनुभूतिले नै उनीहरूको ज्ञानको मात्रा पनि बढाउँदै लैजान्छ र यो क्रम जीवनभर चलिरहन्छ । पारिवारिक पृष्ठभूमि, सामाजिक परिवेश र आफ्नै जन्मजात क्षमता एवम् गुणहरूले मानिसको अनुभवमा विविधता पैदा गरिरहेको हुन्छ । एउटै विषय-सर्न्दर्भमा पनि मानिसपिच्छे फरक-फरक अनुभव-ज्ञान हुनुको कारण परिवेशको विभिन्नता र ज्ञान ग्रहण क्षमतामा हुने विविधता नै हो भन्न सकिन्छ । जीवनले परिपक्वता प्राप्त गर्दै जाँदा आइपर्ने आपत्, विपत् या सुखद् घटनाहरूले मानिसमा अनुभूति जागृत गराउँछ र ती अनुभूतिहरू ज्ञानका रूपमा जीवनपर्यन्त स्थीर रहन्छन् ।
जीवन अघि बढ्दै जाँदा विभिन्न मोडमा भेटिने मानिसका व्यवहार र विचारले मानिसलाई कुनै न कुनै रूपमा प्रभाव पारिरहेको हुन्छ । मानिसका व्यवहारबाट त्यसरी प्राप्त हुने अनुभूतिको शृङ्खला पनि मानिसमा ज्ञानकै रूपमा सङ्ग्रहित हुन पुग्छ । विशेष गरी समाजका अगुवाको व्यवहारबाट बाँकी मानिसले सिक्ने अर्थात् ज्ञान प्राप्त गर्ने गर्छन् । राजनीतिकर्मी, समाजसेवी, पत्रकार, चिकित्सक, कलाकर्मी, उद्यमी, व्यापारी, प्रशासक आदि जो जे भए पनि आ-आफ्ना क्षेत्रमा विशिष्टता हासिल गर्ने मानिसको व्यवहारलाई बाँकी मानिसले अनुशरण-अनुकरण गर्न सक्छन् । तर दुर्भाग्यवश नेपाल र यस्तै मुलुकका अधिकांश अगुवा ती राजनीति, व्यापार, प्रशासन या पत्रकारिता जहाँसुकै क्रियाशील भएका हुन्, उनीहरूको व्यवहार र विचार अनुशरणयोग्य हुन सकिरहेको छैन । ज्यादै न्यून सङ्ख्यामा त्यस्ता मानिस भेटिन्छन् जसलाई अनुशरण गर्न सकियोस् । सिगरेट सल्काएर पिउँदै धुम्रपानका असरबारे कक्षा लिइरहँदा त्यस्ता शिक्षकबाट विद्यार्थीले के सिक्लान् ? प्रचण्डका मुखबाट शान्ति र अहिंसाका प्रवचन अनि विजय गच्छदारबाट भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता सुन्नुपर्दा ज्ञान प्राप्त हुन्छ कि पीडा ? हो यस्ता कैयन अस्वाभाविक सर्न्दर्भहरूबाट मानिसमा ज्ञान होइन पीडा, घृणा र आक्रोशको सङ्ग्रह हुनसक्छ । तथापि मानिस कस्तासम्म हुनसक्छन् भन्ने कुराको ज्ञान सन्देश भने सिगरेट पिउँदै कक्षा दिने शिक्षक, प्रचण्ड र गच्छदारहरूले पनि दिइरहेका हुन्छन् । आमप्रवृत्ति नकारात्मक भएकोले यदि विद्यमान अगुवाहरूलाई नै अनुशरण गर्ने हो भने एउटा किटानी जवाफ प्राप्त गर्न सकिन्छ- ‘यो मुलुक कहिल्यै पनि बन्दैन ।’ वर्तमान नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराई अनुकरणीय पात्र बन्ने प्रयासमा देखिनुभएको छ । उहाँको साधारण जीवनशैली र इमानदारीलाई धेरैले आफ्नो जीवनमा लागू गर्न खोजेका पनि हुन सक्छन् । उहाँ कतिसम्म अनुशरणीय एवम् अनुकरणीय बन्न सक्नुहुन्छ भन्ने कुराको परीक्षा सकिएको छैन । तर, बाबुरामले अवलम्बन गर्नुभएको सम्पूर्ण विचार र व्यवहारलाई सकारात्मक रूपमा आत्मसात् गर्न सकिँदैन । उहाँले साध्य प्राप्तिका निम्ति अपनाउनुभएको हिंसात्मक विचार र व्यवहारको भावी पुस्ताका सबैथरी आकाङ्क्षीले पनि अनुशरण गर्दै जाने हो भने मानिसको भविष्य कहिल्यै पनि सुरक्षित र सुन्दर हुन सक्दैन भन्ने निष्कर्ष निकाल्नुपर्ने हुन्छ । आत्मकेन्द्रित सोच, भ्रष्ट व्यवहार, सुविधाभोगी चरित्र, भिन्न विचारप्रतिको असहिष्णुता र उपेक्षा अनि साध्य प्राप्तिका लागि जस्तोसुकै साधन अपनाउन पनि नहिचकिचाउने प्रवृत्तिको प्रतिनिधित्व आमरूपमा विद्यमान अगुवाहरूबाट भइरहेको छ । यस किसिमको प्रवृत्ति हाम्रो मुलुकको मूल प्रवाह बनेको छ र यस्तै प्रवृत्तिले निरन्तरता पाइरहने हो भने यो देशको शान्ति र समृद्धिको ढोका खुल्ने आशा गर्न सकिँदैन ।
अगुवा जुनसुकै विधाका हुन् ती उदाहरणीय पात्र हुन् र तीबाट नयाँ पुस्ताले केही न केही सिकिरहेका हुन्छन् । माक्र्सलाई साम्यवादी विचारका प्रवर्तक मान्नेहरूले पनि बुझ्न के जरुरी छ भने धेरै अघिल्ला पुस्ताहरूबाट सापटी लिएको विचार परिमार्जन गरेर मँक्र्स, माक्र्स भएका हुन् । जिसस क्राइस्टका सूत्रहरूमा आधारित भएर साम्यवाद स्थापनाको परिकल्पना धेरै पहिले नै गरिएको हो, जसले निजीकरणलाई निरुत्साहित गर्न चाहेको थियो । पाँचौँ शताब्दीमा युरोपमा भएको मज्दाक आन्दोलनलाई साम्यवादमुखी आन्दोलन भनिन्थ्यो । सोह्रौँ शताब्दीका ब्रिटिस लेखक थोमस मोरेले पनि आफ्ना रचनामा सामाजिकीकरण र साम्यवादको परिकल्पना गरेका थिए । सम्पत्तिमा साझा स्वामित्वलाई उनले जोड दिएका थिए । सत्रौँ शताब्दीमा इंग्ल्यान्डमा प्युरिटन धार्मिक समूह (जसलाई डिगर्स नामले पनि चिनिथ्यो) ले पनि निजी सम्पत्ति राख्न पाइने मान्यताविरुद्ध अभियान चलाएको थियो । खासगरी जमिनमा निजी स्वामित्व हुनुहुँदैन भन्ने उनीहरूको धारणा थियो । हिगल र कान्टका विचारले पनि माक्र्सलाई आफ्नो ज्ञानको विकास गर्न सहयोग पुर्‍याएको हो । विश्व सभ्यताको विकासले स्वर्ग र साम्यवादलाई सुन्दर परिकल्पना मानेको छ, तर धर्तीमै उन्नतिका निम्तिचाहिँ स्वतन्त्र संसार र उदार अर्थतन्त्र अनिवार्य रहेको व्यवहारतः सिद्ध भइसकेको छ । लेनिन, चे, किमइल सुङ, माओ र होची मिन्हदेखि फिडेल क्यास्त्रो, अदिद र गोञ्जालोसम्मले लडेका युद्धहरू विश्व समृद्धि र शान्त समाजका निम्ति नाजायज एवम् अनुपयुक्त थिए भन्न अब कुनै राता किताबको सहारा लिइरहनुपर्ने ठानिएको छैन । उदारनीतिपश्चात्को रसिया, चाइना र भियतनामले प्राप्त गर्दै गरेको समृद्धिले नै लेनिन र माओत्सेतुङहरू गलत थिए भन्ने सन्देश दिइरहेको छ । अमेरिकामा बन खाने आगोले नेपालमा चाहिँ पानीको काम गर्न सक्दैन । संसारका दर्जनौँ मुलुकमा असफल सिद्धान्त, नीति, विचार र दर्शनले नेपाललाई मात्र सफल तुल्याउने कल्पना गर्नु भनेको अमेरिकाको आगोले नेपालमा पानीको काम गर्छ भनेर सोच्नु जस्तै हो । गलत विचारबाहकहरू नेपाली राजनीतिमा अगुवा भूमिका निर्वाह गर्दै छन्, यिनीहरूबाट भावी पुस्ताले कस्तो ज्ञान प्राप्त गर्लान् ? प्रश्नको जवाफ जटिल छ ।
राजनीति मात्र होइन, प्रशासनिक तथा अन्य क्षेत्रमा क्रियाशील अगुवाको भूमिका पनि सकारात्मक सन्देशमूलक मान्न सकिने अवस्था छैन । राम्रो गरेर देखाउने प्रतिस्पर्धाबाट उत्पन्न हुने सकारात्मक सन्देश प्रवाह गर्न दलहरूजस्तै हाम्रो प्रशासनिक क्षेत्र पनि असफल भएको छ । ‘जसरी हुन्छ पैसा बनाउ’को नारा राजनीति र प्रशासनिक क्षेत्रका अगुवाहरूले व्यवहारतः लगाइरहँदा आपराधिक जगत् र राजनीतिक एवम् प्रशासनिक क्षेत्रको भिन्नता छुट्टनि मुस्किल पर्दै छ । माओवादीको हिंसात्मक आन्दोलनले ‘सफलता’ प्राप्त गरेर एक कालखण्डमा खलनायक मानिएकाहरू रातारात महानायकमा रूपान्तरित भएपछि देशमा पचासौँ हिंसात्मक समूहहरूको सृष्टि भयो । यसो हुनुको एक मात्र कारण साध्य प्राप्त गर्न जस्तोसुकै साधन अपनाए पनि हुन्छ भन्ने सन्देश प्रवाहित हुनु हो । प्रशासनिक क्षेत्रका अधिकांश अगुवाको व्यवहारले चाहिँ जसरी भए पनि नगद सङ्ग्रह गर भन्ने सन्देश प्रवाह गरिरहेको छ ।
निष्पक्ष र बिनापूर्वाग्रह दर्शन र इतिहासको अध्ययन गरी स्वतन्त्र एवम् विवेकपूर्ण धारणा बनाउने मानिसको सङ्ख्या अति न्यूनतम रहेको महसुस हामीमध्ये धेरैले गरेका छौँ । शिक्षित र साक्षर मानिसमध्ये धेरैले पत्रपत्रिका र अन्य सञ्चारमाध्यमलाई आफ्नो ज्ञानको स्रोत बनाइरहेका छन् । दुःखका साथ भन्नुपर्छ- नेपालका सञ्चारमाध्यमहरूको प्रस्तुति तथा सर्न्दर्भ-सामग्रीहरू न्यून ज्ञानबर्द्धक, ज्यादा नकारात्मक र सतही हुने गरेको छ । सञ्चारमाध्यमहरू सूचना प्रवाह गर्दा त्यसको असर र प्रभावप्रति निरपेक्ष रहने गरेका छन्, कतिपय अर्थमा यो स्वाभाविक र उपयुक्तजस्तो देखिए पनि कैयन अर्थमा नकारात्मक एवम् अनुपयुक्त सिद्ध हुन पुगेको छ । पन्ध्र वर्षअघि मेलम्ची आयोजनामा स्थानीय बासिन्दाले विभिन्न माग राखी अवरोध पुर्‍याएको समाचारलाई उच्च महत्त्वका साथ सकारात्मक रूपमा प्रचार गर्दा देशका धेरै उद्योगधन्दा र विकास आयोजनाहरूले स्थानीयवासीका नाममा अनपेक्षित ढङ्गले अड्चन प्रदान गर्ने स्थिति बन्यो, अझै बन्दै छ । यदि आयोजनामा अड्चन पैदा गर्नुलाई नाजायज ठान्ने प्रकारको प्रस्तुति सञ्चारमाध्यमहरूको भइदिएको भए त्यसबाट एउटा बेग्लै ज्ञान प्राप्त हुने स्थिति बन्न सक्थ्यो । त्यसो नभई अवरोध पुर्‍याउनुलाई जायज र आवश्यक भन्ने शैलीमा समाचार सम्पे्रषण हुँदा देशभर विभिन्न आयोजनाहरूसँग अनेक माग तेर्स्याउने र पूरा नभए अवरोध पुर्‍याउनुपर्छ भन्ने ‘ज्ञान-सन्देश’ फैलियो, जसको मार देशले आज भोगिरहनुपरेको छ । यो एउटा दृष्टान्त मात्र हो, यस्ता हजारौँ घटना-सर्न्दर्भ छन् जसका कारण मुलुकमा नकारात्मक ज्ञान प्रवाह हुन पुगेको छ । यर्सथ ज्ञानको एउटा प्रभावकारी मानिने सूचना स्रोत पनि कुनै न कुनै रूपमा मैलिएको छ, जहाँबाट नेपालीले स्वच्छ ज्ञान प्राप्त गर्न सकिरहेका छैनन् ।
धेरै नेपाली अध्ययनमा रुचि राख्दैनन् । मानिस जब जीवन निर्वाहमा केन्द्रित हुन थाल्छ उसका अन्य कुराहरू छुट्छन् र अध्ययन पनि उसको प्राथमिकतामा पर्ने गर्दैन । जो मानिस अध्ययनका माध्यमबाट ज्ञान प्राप्त गर्न चाहन्छन् उनीहरूमध्ये धेरैले ज्ञान प्राप्तिका लागि कस्तो पुस्तक पढ्नुपर्ने हुन्छ भन्ने कुराको हेक्का राख्दैनन् । कतिपय नेपाली त युधीर थापा र प्रकाश कोविदका उपन्यासमा अल्झिनुलाई पनि अध्ययन गरिरहेको ठान्छन् । स्वेट मार्डेनकै पुस्तक त्यस्ता मानिसको हातमा पर्‍यो भने त उसले विश्व विजयी बन्ने ज्ञान नै प्राप्त गरेको ठान्न सक्छ । ज्ञानका विधा सहश्र छन्, सबै विधामा एउटै मानिसले दखल राख्न असम्भव छ । इञ्जिनियरिङ, चिकित्सकीय, व्यवस्थापकीय, राजनीति, कला, संस्कृति, धर्म र पत्रकारिता या प्रशासनिक जुनसुकै विधाको ज्ञान आर्जन गरे पनि जीवन र सृष्टिबारेको ज्ञान शून्य छ भने त्यस्तो मानिस एउटा यन्त्रभन्दा बढी केही सायदै देखिएला । जो मानिस इतिहासको अध्ययनबाट पाठ सिक्न सक्दैन त्यस्तो मानिसको भूमिका वर्तमानमा पनि उपयुक्त र जायज हुन्छ भन्न सकिँदैन । मेकियाबेली पढेर पनि ज्ञान आर्जन गर्न सकिन्छ र प्लेटोलाई पढेर पनि । विष्मार्कलाई पढ्दा पनि ज्ञान प्राप्त हुन्छ र सिकन्दरलाई पढ्दा पनि । तर फरक-फरक व्यक्तिलाई पढ्दा प्राप्त हुने ज्ञानको कोटि पनि फरक नै हुन्छ । पृथ्वीनारायण शाहको सालिक ढालेर सुरु भएको लोकतन्त्रले नेपालीमा कस्तो प्रकारको देशभक्तिको ज्ञान प्रवाह गरेको छ हामी महसुस गर्दै छौँ । हिंसा र छलकपटको बलमा विजयी बन्नेहरूबाट देशवासीले कस्तो ज्ञान प्राप्त गर्दै छन् त्यो पनि हामी देखिरहेका छौँ । ज्ञानको स्रोतमै कीरा परेपछि कसरी शुद्ध ज्ञान प्राप्त होला र अशुद्ध ज्ञानले हामीलाई कहाँसम्म पुर्‍याउला ? खानेकुरामा कीरा पर्दा त शारीरिक स्वास्थ्यमा प्रतिकूल असर गर्छ र मानिसले अकाल मृत्युवरणसमेत गर्न सक्दछ, ज्ञानको स्रोतमा परेको कीराले मानव सभ्यताको विकासमा कतिसम्म क्षति पुर्‍याउन सक्दोरहेछ । वश, दुःखद् प्रतीक्षा यसैको हुँदै छ ।