एनआरएनए अध्यक्षसँग सबै रुष्ट !

एनआरएनए अध्यक्षसँग सबै रुष्ट !


■ राजन घिमिरे, सिड्नी

सबैलाई समेट्दै, सबैसँग सहकार्य गर्दै र समझदारीका साथ संस्थालाई अगाडि बढाउने गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको तेजिला योजना गफमा नै सीमित रहेको जिकिर उनकै सहकर्मीले गर्न थालेका छन् ।

संघको पहिलो बैठकले नियुक्त र सिफारिस गरेका पदाधिकारीहरूप्रति असन्तुष्टि बढ्न थालेपछि पन्तलाई पहिलो गाँसमै ढुंगा भनेजस्तो भएको छ । ‘राम्राभन्दा पनि हाम्रालाई महत्व दिने अनि सिनियरको अवहेलना गर्दै अरूको अधिकारमाथि हस्तक्षेप गर्ने अध्यक्षको कृयाकलाप ज्यादै नराम्रो हो’, असन्तुष्ट पक्षको गुनासो छ ।

यसै साता मात्र अष्ट्रेलियाको ओसियाना रिजनल संयोजकलाई कमजोर बनाएर अरूको अधिकार प्रयोजनमा हात हालेको कुराले समग्र गैरआवासीय नेपाली संघ क्षुब्ध देखिएको छ । ‘अहिलेसम्म रिजनल कोर्डिनेटरले गरेको सिफारिसले मान्यता पाउँदै आएको थियो, तर यसपटक यो कुरालाई हावामा उडाइयो । सबै आफैले गर्ने हो भने किन अरू पद चाहियो र ?’, अग्रजहरूको टिप्पणी छ– ‘एउटा रिजनल कोअर्डिनेटरलाई गुमराहमा पार्न गरिमामय संस्थाको समय किन बर्बाद बनाएको ?’

‘विश्व कन्फ्रेन्समा गालीगलौजमा उत्रने, सामान्य मूल्य र मान्यतालाई पनि नमान्ने जस्ता संस्कार हुर्कंदै गएकोमा एनआरएनएहरूका अग्रजहरूले दुःख ब्यक्त गरेका छन् ।

यसैबीच उपाध्यक्ष मन केसी र महिला संयोजक भूमा लिम्बुले ‘नोट अफ डिसेन्ट’ लेखेपछि संस्थाभित्र सामूहिक नभएर एकल निर्णय हाबी भएको देखिएको चर्चा छ । ‘सबै रिजनलहरूलाई समेटेर अगाडि बढ्नुपर्नेमा किन रिजनल कोर्डिनेटरलाई पावरफूल बनाइएन ?’– उनीहरूको प्रश्न छ । कोर्डिनेटरको सिफारिसलाई पङ्गु बनाउनु र कुनै मान्यता नदिनुप्रति पनि अग्रजहरूले गुनासो गरेका छन् ।

उनीहरूको भनाई छ– ‘ओसियानामा नै भएका उपाध्यक्ष र महिला संयोजकले हामी मिलाउँछौँ भनेर आग्रह गर्दा पनि त्यो कुराको सुनुवाई किन भएन ? यो कुरा बुझ्न सकिरहेका छैनौँ । अब हेर्नु छ कि ओसियानाको कार्यक्रममा अध्यक्षले कसरी आफ्नो मुख देखाउनु हुन्छ होला !’ गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अग्रजहरूको चित्त दुखाई छ ।

‘एनसीसीका अध्यक्षहरूको सल्लाहमा तयार भएको नामलाई फ्याँकेर आफ्नो खल्तीबाट नाम निकालेर अध्यक्षले मनोमानी घोषणा गरे’ – उनीहरूको गुनासो छ ।